प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएपछि सुनसरी जिल्ला प्रशासन कार्यालयले आज बिहान ७ः०० बजेदेखि विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । कार्यालयले चार किल्ला तोकी उक्त सीमानाभित्र कसैले पनि आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । उक्त आदेश उल्लङ्घन भएमा रु एक हजार जरिवाना वा एक महिनासम्म कैद हुनसक्ने प्रशासनले जनाएको छ । कार्यालयले इलाका क अन्तर्गत भण्टाबारी बजार क्षेत्रमा पूर्वतर्फ जुनिया टोल, पश्चिमतर्फ पश्चिम घुस्की धार, उत्तरतर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिणतर्फ वसन्तपुर मोडसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
साथै इलाका ख घुस्की बजार क्षेत्रमा पूर्वतर्फ मोरङ्गा धार खोला, पश्चिमतर्फ इङ्गिलस फिल्ड, उत्तरतर्फ सुनसरी खोला र दक्षिणतर्फ हरिनगर गाउँपालिका कार्यालय तथा इलाका ग कप्तानगञ्ज बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ यादव टोल, पश्चिमतर्फ पाँचौँ रिसाल मावि, उत्तरतर्फ कृष्ण मावि र दक्षिणतर्फ नेपाल–भारत सीमा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कार्यालयका अनुसार इलाका घ बस्ती बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ कासिमिया मदरसा, पश्चिमतर्फ प्रहरी चौकी घुस्की, उत्तरतर्फ इशा हार्डवेयर, दक्षिणतर्फ दिलशाद पब्लिक स्कुल तथा इलाका ङ देवानगञ्ज बजार क्षेत्रअन्तर्गत पूर्वतर्फ विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिमतर्फ मोरिया खोला, उत्तरतर्फ बिड्रा मिल र दक्षिणततर्फ गापा कार्यालयसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
सुनसरी जिल्ला सुरक्षा समितिको आजको बैठकले जिल्लाका विभिन्न स्थानमा निषेध आदेश जारी गरेको छ । कार्यालयले हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा उक्त आदेश जारी गरेको हो ।सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीचको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । घटनमा प्रदर्शनकारी र प्रहरीतर्फ १६ जना घाइते भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


आर्थिक वर्ष २०८२÷८३ मा गण्डकी प्रदेशका ११ हजार २३२ किसानले रु पाँच…





