?????????????????????????????????????????????????????????
पोखरा, साउन १३
पर्यटकलाई हैरानी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो तरिकाले हिंडिरहेका पर्यटकलाई अनावश्यक रुपमा दुःख दिने तथा हैरानी गर्ने ८ जनालाई कास्की प्रहरीले पोखराको विरौटा र हल्लनचोकबाट पक्राउ गरेको हो ।
आन्तरिक तथा बाह्य पर्यटक तथा यात्रुहरुलाई आफूले भनेको होटल जानैपर्ने भन्दै अनावश्यक रुपमा हैरान पारेकाले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक (डिएसपी) बिरेन्द्रकुमार पासवानले जानकारी दिए । उनका अनुसार विरौटाबाट ५ जना र हल्लनचोकबाट ३ जनालाई पक्राउ गरिएको छ । उनीहरुलाई विरौटा र हल्लनचोकबाट गएको सिआरभी टोलीले मंगलबार गएराती २२ः४५ बजे पक्राउ गरेको थियो । ‘आकर्षक र सस्तो होटल मिलाईदिने भन्दै गाडी रोक्ने, बार्गेनिङ गर्ने, पीछा गर्नेजस्ता कार्य गरि पर्यटक तथा यात्रुहरुलाई अनावश्यक रुपमा हैरानी दिएकाले पक्राउ गरिएको हो’–उनले भने ।
यसअघि पनि यीलगायतका ठाउँहरुमा पर्यटकलाई हैरान पारिदै आएको थियो । खासगरेर लेकसाईडका केहि ठूला होटलहरुबाट कमिसन खाएर उनीहरुले पृथ्वी राजमार्गबाट पोखरा भित्रिने नाका गगनगौंडा, पृथ्वीचोक तथा सिद्धार्थ राजमार्गबाट पोखरा भित्रिने नाका छोरेपाटन, विरौटालगायतका ठाउँहरुमा बसेर पर्यटक चढेको गाडीलाई अनावश्यक रुपमा स्कर्टिङ गर्ने, गाडीबाट झर्न नदिने, गाडी आफूले भनेकोबाहेक अन्य होटलतर्फ जान नदिनेलगायतका कार्य गर्दै आएको आरोप लाग्दै आएको थियो । यो कार्य अझै पनि नरोकिएको स्थानिय व्यवसायी बताउँछन् । यस्तो कार्यको होटल संघ पोखरा र पृथ्वी होटल व्यवसायी समितिले विरोध गर्दै आएको छ ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी पर्यटकलाई अनावश्यक रुपमा हैरान गर्नेलाई कारवाही गर्नुपर्ने बताउँछन् । जुनसुकै बहानामा पर्यटकलाई दुःख दिने, हैरानी गर्नेलाई कारवाही हुनुपर्छ,उनले भने,‘केहि गलत व्यक्तिका कारण पर्यटनको राजधानी पोखराको बेईजत गर्न पाईंदैन । त्यस्तालाई तत्काल नियन्त्रणमा लिएर कारवाही गरि पर्यटकलाई स्वतन्त्र रुपमा हिंडडुल गर्न र सुरक्षित रुपमा बस्ने, खाने वातावरण बनाउनुपर्छ ।’
पृथ्वी होटल व्यवसायी समिति कास्कीका पूर्व अध्यक्ष तथा होटल व्यवसायी महासंघ नेपालका गण्डकी प्रदेश सचिव बालकृष्ण निउरेले पनि पर्यटकलाई हैरानी गर्नेलाई पक्राउ गरेकोप्रति खुशी व्यक्त गरे । उनले भने,‘हामीले पहिलेदेखि नै भन्दै आएका थियौं, यस्ता व्यक्तिलाई तत्काल पक्राउ गरि कारवाही गरिनुपर्छ र पर्यटकलाई पोखरा सुरक्षित रहेको महशुष गराउनुपर्छ ।’ उनले अहिले पनि पृथ्वीचोक, गगनगौंडा क्षेत्रमा पर्यटकलाई छेक्ने, स्कर्टिङ गर्ने कार्य नरोकिएको बताए । पर्यटकलाई जबरजस्ती तान्ने, स्कर्टिङ गरेर लैजाने कार्य गलत हो,उनले थपे,‘पर्यटकलाई स्तरिय सेवा, सुविधा दिएर आकर्षित गर्ने हो, यस विपरित गर्ने जोकसैलाई कारवाही हुनुपर्छ भन्नेमा हामी छौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गुरु पुर्णिमाको अवसरमा पोखरामा शिक्षा प्रदान गर्ने गुरुहरु सम्मानित भएका छन् ।…





