सप्तरीको राजविराजमा कर्फ्यु आदेश जारी, सिरहाको अवस्था सामान्य बन्दै


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०८३ मा प्रकाशित




सुनसरीको कप्तानगञ्जमा भएको घटनालाई लिएर प्रदर्शन हुन थालेपछि सप्तरीको राजविराज क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा आज बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । कार्यालयले आज सूचना जारी गर्दै जिल्लामा शान्तिसुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कफ्र्यु आदेश जारी गरिएको जनाएको छ ।घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ ।प्रदर्शनकारीले चोकमा टायर बालेका छन् । प्रदर्शनका क्रममा बजार पसल बन्द छ । यातायात सेवा पनि अवरुद्ध भएको छ ।महोत्तरीको सदरमुकाम जलेश्वर तथा गौशाला बजार शुक्रबार बन्द गरिएको छ । प्रदर्शनकारीहरूले जलेश्वरका विभिन्न चोकमा टायर बालेर विरोध प्रदर्शन गर्दै बजार, व्यवसाय तथा यातायात पूर्ण रूपमा बन्द गराएका छन् ।

गौशाला बजारमा पनि हिन्दुवादी संघ–संगठनका अगुवाहरूले विरोध प्रदर्शन गर्दै बजार व्यवसाय बन्द गराएका छन् । यता सर्लाहीमा भारतबाट नेपाल भित्रिँदा अनिवार्य परिचयपत्र देखाउनु पर्ने निर्णय गरेको छ । शान्तिसुरक्षालाई दृष्टिगत गर्दै छिमेकी भारतबाट सीमा नाका भइ नेपाल भित्रने सम्पूर्ण यात्रुलाई अनिवार्य रूपमा आफ्नो आधिकारिक परिचय खुल्ने परिचयपत्र देखाएर मात्र प्रवेश गर्न दिने निर्णय गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए ।यता सिरहाको गोलबजार क्षेत्रको अवस्था सामान्य बन्दै आएको छ। यद्यपि, गोलबजार–लहान क्षेत्रमा जारी गरिएको कफ्र्यु भने अर्को सूचना नभएसम्म यथावत् रहने प्रशासनले जनाएको छ ।अवस्था सामान्य बन्दै आएपनि पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन र सर्वसाधारणको चहलपहल न्यून देखिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पुरानो चौक चोहर्वादेखि गोलबजारको गागन खोलासम्म सुरक्षाकर्मी परिचालन गरिएको छ। त्यहाँ पनि ठाउँ–ठाउँमा प्रर्दशन भइरहेको प्रहरीले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।