निम्स दाइको निधनमा विश्वभरबाट श्रद्धाञ्जली, म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सोमबार शोक बिदा


     एभरेस्ट आवाज    
     श्रावण १७ गते २०८३ मा प्रकाशित




पाकिस्तानको ब्रोड पिक हिमालमा ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधनले देश मात्र होईन विदेश पनि शोकमा डुबेको छ ।

शुक्रबार गएको हिमपहिरोमा परि ६ जना नेपालीसहित १० जनाको ज्यान गएको थियो । जसमा विश्व पर्वतारोहण इतिहासमा असम्भवलाई सम्भव बनाउने साहसी आरोही निम्स दाइसहित पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्याल्जेन शेर्पाको निधन भएको थियो । उनीहरुको निधनले नेपालमात्र नभई अन्तरराष्ट्रिय क्षेत्रका समर्थकलाई शोकाकुल बनाएको छ ।प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस,नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीसहितका राजनितिक दल,पर्यटन क्षेत्रका अगुवा, पर्वतारोही, विदेशी शुभेच्छुक तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले श्रद्धाञ्जली अर्पण गर्दै, नेपाललाई विश्वमाझ चिनाउन खेलेको भुमिकाको उच्च प्रशंसा गरेका छन् ।

पुर्जासहितका पर्वतारोहीको निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले शोक बिदाको घोषणा गरेको छ । पुर्जा अन्नपूर्ण गाउँपालिका २ दाना निवासी हुन् ।आइतबार आज एक विज्ञप्ति जारी गर्दै अन्नपूर्ण गाउँपालिकाले यस घटनामा दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाले सम्पूर्ण नागरिकलाई दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न तथा शोकको यस घडीमा एकताबद्ध हुन आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।