कास्कीको रुपा गाउँपालिकाले गाईभैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या बढेको छ ।
गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दूध उत्पादन परियोजना सुरु गरेर किसानलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो । यसबाट पालिकामा दूध उत्पादन वद्धि भएको छ भने किसानको आम्दानीसमेत बढेको छ । पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन् । रुपा ७ ठूलीबेँसीका किसान शङ्करलाल श्रेष्ठको गोठमा अहिले तीन वटा जर्सी गाई छन् । गाउँपालिकाले प्रतिगाई रु ४० हजार अनुदान उपलब्ध गराएपछि उनले गाई किनेर व्यावसायिक पशुपालन सुरु गरेका हुन् । श्रेष्ठले दैनिक २० लिटर दूध बजारमा बिक्री गर्छन् ।
श्रेष्ठका अनुसार विगतमा उनका बुबाले पनि पशुपालन गर्थे । त्यसबेला दूध बिक्री गर्न चार घण्टासम्म पैदल हिँडेर बेगनासताल पुग्नुपर्ने बाध्यता थियो । बजार अभावले उनले बुबाको पेसा छाडे । अहिले भने दूध सङ्कलनका लागि गाडी गाउँसम्म आउने भएकाले बजार र सङ्कलनको समस्या हटेको श्रेष्ठले बताए । “गाउँपालिकाले अनुदानपछि मसँगै यहाँका २० जना किसानले जर्सी गाई किनेर व्यावसायिक पशुपालन सुरु गरेका छौँ । दूध बिक्री गर्न पनि सहज छ । पालिकाको सहयोग पाएपछि व्यावसायिक पशुपालनमा लाग्न उत्साह बढेको छ”, श्रेष्ठले भने । उनका अनुसार दूध सङ्कलन र बिक्री गर्न किसानले देउराली कृषक समूह गठन गरेका छन् । पहिले ११ सदस्य रहेको समूह अहिले २० सदस्यीय बनेको छ । किसानका गोठमा गाईको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै श्रेष्ठले समूहलाई सहकारीमा रूपान्तरण गरी डेरी व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत गाउँपालिकाले सञ्चालन गरेको गरिबी निवारणका लागि दूध उत्पादन परियोजनाले रुपाको ठूलीबेँसीमा मात्र होइन अन्य वडामासमेत व्यावसायिक पशुपालनले गति लिएको छ । गाउँपालिकाका पशु चिकित्सक सुशील अर्यालका अनुसार यस कार्यक्रममार्फत हालसम्म गाउँपालिकामा २०० वटा गाई भित्रिएका छन् । पालिकाका विभिन्न ११ गाउँका किसानले गाईभैँसी खरिद र दुग्धजन्य उपकरण सहायताका लागि रु दुई करोड ३५ लाख अनुदान प्राप्त गरेका उनले जानकारी दिए । परियोजना सुरु भएपछि दैनिक दुई हजार ६६२ लिटर दूध उत्पादन थपिएको छ । अर्यालका अनुसार पालिकाले कृषकलाई गाई किन्नका लागि रु ४० हजार र भैँसीका लागि रु ५० हजारका दरले अनुदान उपलब्ध गराएको हो ।
“किसानलाई गाईभैँसी खरिदमा अनुदान उपलब्ध गराएपछि यसको सकारात्मक प्रभाव देखिएको छ, उत्पादन बढेको छ । नगद अनुदानसँगै उपकरण सहयोगले दूध सङ्कलनमा सहयोग पुग्नुका साथै किसानको आम्दानीमा वृद्धि भएको छ । युवाका लागि स्थानीयस्तरमा रोजगारीका अवसर पनि सिर्जना भएका छन् । प्रत्यक्ष रूपमा ३०० किसान यस कार्यक्रममा आबद्ध छन्”, अर्यालले भने । उनका अनुसार हाल रुपा गाउँपालिकाबाट दैनिक करिब पाँच हजार लिटर दूध पोखराका बजारमा बिक्रीका लागि पठाउने गरिएको छ । गाउँपालिकाका अध्यक्ष नवराज ओझाले किसानको श्रमलाई सम्मान गर्दै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने लक्ष्यसहित कृषि क्षेत्रमा लगानी बढाइएको बताए । उनले विगतका वर्षमा पूर्वाधारमा पालिकाले लगानी गरेकामा यस वर्षदेखि उत्पादन र आयआर्जन वृद्धिका कार्यक्रमलाई बढी प्राथमिकता दिइएको बताए ।
“किसानको मेहनतले मात्रै गाउँ समृद्ध हुन्छ भन्ने हाम्रो विश्वास हो । त्यसैले प्रत्येक घरपरिवारलाई आयआर्जनसँग जोड्ने उद्देश्यले कृषि र पशुपालनमा केन्द्रित कार्यक्रम सञ्चालन गरेका छौँ । विगतमा पूर्वाधारमा केन्द्रित बजेटलाई यस वर्ष उत्पादन, कृषि र रोजगारी सिर्जनामा प्राथमिकता दिएका छौँ”, अध्यक्ष ओझाले भने । उनले गरिबी निवारणका लागि सञ्चालन गरिएको दूध उत्पादन परियोजना गाउँपालिकाका ११ स्थानमा विस्तार गरिएको जानकारी दिँदै यसको प्रत्यक्ष प्रभाव किसानको आय र जीवनस्तरमा देखिन थालेको उल्लेख गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तराज न्यौपानेले अब उत्पादन बढाउने मात्र नभई त्यसको दिगो बजारीकरणमा गाउँपालिका केन्द्रित हुने बताए । “डेरीका आवश्यक पूर्वाधार गाउँसम्म पुगेका छन् । अब किसानले उत्पादन बढाउने र गाउँपालिकाले बजारीकरण तथा व्यवस्थापनमा आवश्यक सहजीकरण गर्नेछ । उत्पादन खेर जान नदिने हाम्रो प्रतिबद्धता छ”, उनले भने ।
रुपा गाउँपालिकाले दूध उत्पादन परियोजनाअन्तर्गत गाईभैँसी खरिदमा नगद अनुदानका साथै दुग्ध सहकारी र कृषक समूहलाई आवश्यक डेरी उपकरणसमेत उपलब्ध गराउँदै आएको छ । कार्यक्रममार्फत दूध बोक्ने भाँडा, दूध चिस्याउने ट्याङ्की, दूधको गुणस्तर वा चिल्लोपन मापन गर्ने यन्त्र, भोल्टेज नियन्त्रक , दूध जमाउने फ्रिज, पनिर बनाउने उपकरण, दूधबाट तर छुट्ट्याउने उपकरण ९मलाई काढ्ने यन्त्र, जेनेरेटरलगायत सामग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा १९ तल्लाकोटस्थित विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा आनन्दराज अधिकारी चयन भएका छन्…






