पोखरामा असोज ३ गते ‘राइट टु प्रोटिन रन’को पाचौं श्रृंखला हुने


     एभरेस्ट आवाज    
     भाद्र ४ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ ५

हाफ म्याराथनको रुपमा आयोजना हुँदै आएको ‘राईट टु प्रोटिन रन’ यस पटक पोखरामा हुने भएको छ । चौथो श्रृंखलासम्म काठमाडौंमा भएको यस प्रतियोगिताको पाचौं श्रृंखला यहि असोज ३ गते पोखरामा हुने आयोजक नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन –एनएफआईए)ले विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यू.एस. सोयाबिन एक्सपोर्ट काउन्सिल (यूएसएसईसी) को मुख्य प्रायोजन तथा नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ४ हजार खेलाडी दौडिने आयोजकको दाबी छ ।

प्रोटिन सचेतना, पोषण, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीलाई एकसाथ जोड्दै खेलकुदमार्फत स्वास्थ्य, पर्यटन र कृषिको विकास र बिस्तार गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता संयोजक समेजराज भण्डारीले जानकारी दिए । ‘प्रोटिन सचेतनासहित पोषणमा जोड दिने र पोखराको पर्यटनको विकास र प्रवद्र्धनमा सघाउने हाम्रो उद्धेश्य हो’–उनले भने ।

‘राइट टु प्रोटिन रन–२०२६’ अन्तर्गत आठ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जस अन्तर्गत २१ किलोमिटरको हाफ म्याराथन पुरुष तथा महिला, १० किलोमिटर खुला पुरुष दौड, ५ किलोमिटर खुला महिला दौड, कक्षा १२ सम्मका विद्यार्थीका लागि ५ किलोमिटर छात्र दौड, कक्षा १२ सम्मकै विद्यार्थीका लागि ३ किलोमिटर महिला दौड तथा ३ किलोमिटर ह्विलचेयर पुरुष र महिला दौडमा प्रतिष्पर्धा हुने संयोजक भण्डारीले जानकारी दिए ।

प्रतियोगिताको पुरस्कार मात्रै कुल १६ लाख रहेको आयोजकले जनाएको छ । जसअन्तर्गत हाफ म्याराथन पुरुष तथा महिला दुबैतर्फको बिजेतालाई १ लाख ५० हजार, उपबिजेतालाई १ लाख, तृतीय हुनेलाई ७५ हजार, चौथो हुनेलाई ५० हजार र पाचौं हुनेलाई २५ हजार प्रदान गरिने प्रतियोगिताका सदस्य सचिव साजन सुवेदीले जानकारी दिए । त्यस्तै, खुल्ला १० किलोमिटर दौड पुरुषतर्फ र ५ किलोमिटर दौड महिलाको बिजेतालाई ५० हजार, उपबिजेतालार्य ३० हजार, तृतीय हुनेलाई २० हजार, चौथो हुनेलाई १५ हजार र पाचौं हुनेलाई १० हजार, ५ किलोमिटर महिला दौडतर्फको बिजेतालाई ५० हजार प्रदान गरिने उनले बताए ।

यसैगरी, कक्षा १२ सम्मका विद्यार्थी सहभागी ५ किलोमिटर छात्र र ३ किलोमिटर छात्रातर्फको बिजेतालाई ३० हजार, उपबिजेतालाई २० हजार, तृतीय हुनेलाई १५ हजार, चौथो हुनेलाई १० हजार र पाचौं हुनेलाई ५ हजार प्रदान गरिनेछ भने ३ किलोमिटर ह्वीलचेयर दौडको पुरुष तथा महिलातर्फको बिजेतालाई ३० हजार, उपबिजेतालाई २० हजार, तृतीय हुनेलाई १५ हजार, चौथो हुनेलाई १० हजार र पाचौं हुनेलाई ५ हजार प्रदान गरिने सदस्य सचिव सुवेदीले जानकारी दिए ।

प्रतियोगिताको रुट सुन्दर नगरी पोखराको लेकसाइडस्थित बसुन्धरा पार्कबाट सुरु भई हल्लनचोक–खहरे–सेदी–खपौंदी–पामेहुँदै लौरुकसम्म पुगेर पुनः सोही रुटबाट बसुन्धरा पार्कमै आएर टुंगिने जनाइएको छ ।

आयोजकले दौडसँगै प्रोटिन र पोषण सम्बन्धी जनचेतना जगाईने जनाएको छ । नेपालमा पोषण तथा खाद्य सुरक्षा अझै गम्भीर चुनौतीका रूपमा रहेको र यहि कारण नेपालका ४६ लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको जोखिममा रहेकाले उनीहरुलाई सचेतना जगाउन वर्षेनी कार्यक्रम गर्दै आएको संयोजक भण्डारीले बताए । उनले भने,‘यस संस्करणले अण्डा, कुखुराको मासु, माछा, दूध, सोया, टोफु, पनीर, दाल तथा गेडागुडीजस्ता सहज रूपमा उपलब्ध गुणस्तरीय प्रोटिनका स्रोतबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।