पोखरा, २ भदौ । कास्कीको रुपा गाउँपालिका–२ माझकोटमा दोस्रो खेम गुरुङ स्मृति कप हुने भएको छ। शान्तिदीप युवा क्लब र खेम स्मृति समितिको संयुक्त आयोजनामा भदौ २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
‘खेलौँ एकता, बढाऔँ भ्रातृत्व’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा साविक वडास्तरीय पुरुष भलिबलसँगै महिलातर्फ रस्साकसी र पुरुषतर्फ छेलो फाल्ने प्रतियोगिता समेत हुनेछ। भलिबल प्रतियोगिता स्थानीय शिवालय माध्यमिक विद्यालयको खेलमैदानमा हुनेछ।
भलिबलको विजेताले ४५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले २५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। सेमिफाइनलमा पुग्ने दुई टोलीलाई ८/८ हजार रुपैयाँ प्रदान गरिने कार्यक्रम संयोजक जीवन थापाले जानकारी दिए।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकरलाई समेत पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष जीवन गुरुङले बताए।
महिलातर्फको रस्साकसी प्रतियोगिताको विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँसहित प्रमाणपत्र पाउनेछन्। पुरुषतर्फको छेलो फाल्ने प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार र दोस्रो हुनेलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।
तीजको अवसरमा आयोजना हुने प्रतियोगितामा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिसमेत रहने आयोजकले जनाएको छ।
‘खेलका माध्यमबाट आपसी भाइचारा बढाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौँ,’ अध्यक्ष गुरुङले भने।
समुद्री सतहबाट करिब १ हजार २ सय मिटर उचाइमा रहेको श्री भैरवकाली कोट मन्दिरको प्रचारप्रसारमा समेत प्रतियोगिताले सहयोग पु¥याउने क्लबका सदस्य नवराज गुरुङले बताए। मन्दिरको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनलाई समेत लक्षित गरी हरेक वर्ष भलिबल प्रतियोगिता आयोजना गर्दै आएको उनले जानकारी दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २ भदौ । कास्कीको रुपा गाउँपालिका–२ माझकोटमा दोस्रो खेम गुरुङ स्मृति…





