सन्देश श्रेष्ठ
पोखरा, भदौ ५
पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ । संघ सरकार र संघीय शहरी विकास तथा भवन निर्माण विभागले छुट्टाछुट्टै बजेट विनियोजन गरिदिएपछि पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु गरिएको हो । फ्लडलाईटका लागि हाल ८ करोड बजेट रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । उनका अनुसार संघ सरकारले फ्लडलाईटका लागि ५ करोड विनियोजन गरिदिएको छ भने संघीय सहरी विकास कार्यालयले ३ करोड बजेट विनियोजन गरेको छ ।
फ्लडलाईटका लागि करीब १६ करोड खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष गुरुङले बताए । अपुग रकम संघ सरकार र संघीय सहरी विकास कार्यालयले थपिदिने उनको आशा छ । अहिले शुरु गर्न बजेट छ,उनले भने,‘गर्दै जाँदा संघ सरकार र सहरी विकास दुबैले बजेट थप्ने कुरा छ ।’ पोखरा रंगशालाको समग्र स्तरोन्नतीका लागि आर्थिक वर्ष २०८३÷८४ मा १९ करोड रहे पनि ८ करोड रुपैयाँ फ्लडलाईटका लागि खर्च गरिने उनले स्पष्ट पारे । बाँकी रकम क्रिकेट रंगशालास्थित भवन स्तरोन्नती गरिनेछ भने बहुउद्धेश्यीय कभर्ड हलको पनि स्तरोन्नती गरिने उनले बताए । बहुउद्धेश्यीय भवन बनाउने भनेर बजेट परेको छ,उनले भने,‘पोखरा रंगशालामा पहिले नै बहुउद्धेश्यी भवन बनिसकेको र अर्को बहुउद्धेश्यीय भवन बनाउने ठाउँ पनि नरहेकाले भइरहेकै भवनको स्तरोन्नतीमा खर्च गर्ने तयारीमा हामी छौं ।’
फ्लडलाईटको लागि दशैंलगत्तै टेण्डर गर्नेगरी काम अघि बढेको अध्यक्ष गुरुङले जानकारी दिए । नेपाल नागरिक उड्डयन प्राधिकरण (सिभिल एभिएसन अथोरिटी अफ नेपाल क्यान)ले फ्लडलाईटका लागि अनुमति दिए यथाशिघ्र डिपीआर तयार गरेर टेण्डर निकालिने उनको भनाई छ । बजेट भएरमात्रै हुँदैन रहेछ,उनले भने,‘प्राविधिक कुराहरु मिलाउन धेरै छ, हामी त्यसका लागि लागिरहेका छौं ।’
फ्लडलाईटका लागि आवश्यक उचाईबारे निक्र्यौल गर्न क्यानका ई.कृष्ण पौडेलले स्थलगत अवलोकन गरेका छन् । उनले विहीबार रंगशालाको अवलोकन गर्दै फ्लडलाईटका लागि आवश्यक उचाईबारे जिज्ञासा राखेका थिए । स्थलगत अवलोकनपश्चात प्राविधिक विश्लेषण गरेर कतिसम्मको उचाईमा फ्लडलाईट राख्न सकिन्छ भनेर निर्णय गरिने ई.पौडेलले बताए । उनले भने,‘रंगशालाका लागि फ्लडलाईट राख्न कति उचाई आवश्यक छ ? त्यसले एयरपोर्टलाई असर गर्छ कि गर्दैन ? भनेर प्राविधिक विश्लेषणपछि हामी निर्णयमा पुग्छौं ।’
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गुरुङले फ्लडलाईटका लागि कम्तिमा पनि १८ देखि २० मिटर उचाई आवश्यक हुने बताए । एयरपोर्टले १५ मिटरसम्म दिने बताइसकेको छ,उनले भने,‘बाँकी कुरा स्थलगत अवलोकनपश्चात हुने प्राविधिक विश्लेषणपछि थाहा हुने बताउनु भएको छ ।’ उनले फ्लडलाईट थोरै उचाईमा राखेर पनि खेलखेलाउन सकिने प्रविधि आइसकेकाले पोखरा रंगशालामा फ्लडलाईट राखेरै छाडिने बताए । फ्लडलाईट यस पटक राखेरै छाडिन्छ,उनले भने,‘यसपटक बजेट अभाव वा अन्य कुनै पनि कारणले रोकिनेवाला छैन र रोकिन दिदैनौं हामी ।’
संघीय शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर प्रवेशराज लामिछानेले फ्लडलाईट जडानका लागि आफूहरु अध्ययनमा रहेको बताए । विस्तृत अध्ययन गरेर कम लगानीमा उत्कृष्ट काम गर्ने प्रयासमा छौं हामी,उनले भने,‘त्यसका लागि एयरपोर्टको मापदण्डले कस्तो असर गर्छ ? भन्ने मात्रै हो । हामी एयरपोर्टको निर्णयको पर्खाईमा छौं ।’ उनले फ्लडलाईटका लागि सरदर ३५ मिटरको उचाई आवश्यक पर्ने भएकाले त्योभन्दा कम उचाईका लागि मात्रै एयरपोर्टले अनुमति दिएमा प्राविधिक कठिनाई हुनसक्ने उनको भनाई छ । तर त्यसको पनि विभिन्न विकल्पमा जान सकिने तर खर्चिलो हुनसक्ने उनले बताए । उनले बहुवर्षिय योजना भएकाले फ्लडलाईटका लागि आगामी वर्ष पनि बजेट थपिने बताए ।
जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिबी नेपालीले प्राविधिक विषय टुंगिने वित्तिकै फ्लडलाईट जडानको काम द्रुत गतिमा अघि बढ्ने बताए । धेरै ताकेता गरेपछि क्यानको ईञ्जिनियर आएर स्थलगत अवलोकन गर्नु भएको छ,उनले भने,‘अब प्राविधिक विश्लेषणपश्चात प्राविधिक पक्षको गाँठो फुकाईदिएलगत्तै डिपीआर निर्माण गरेर टेण्डर प्रक्रियामा गइहाल्छौं ।’
पोखरा रंगशालामा फ्लडलाईट जडान भए राती खेल हेर्ने पोखरेलीको वर्षौंदेखिको सपना पूरा हुनेछ । वर्षौं अघिदेखि पोखरेलीले पोखरा रंगशालास्थित फुडबल मैदानमा फ्लडलाईट जडानका लागि आग्रह गर्दै आएका छन् । तर बजेट अभावमा थाती रहँदै आएको सो सपना अब पूरा हुने भएपछि पोखरेली खुशी भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ५ पोखरा रंगशालामा फ्लडलाईट हाल्ने तयारी शुरु भएको छ…





