पोखरा १७ मा सडक नालीको भेलले बगाउँदा घाइते आमा–छोरीको मृत्यु


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०८३ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका–१७, हर्कमेयर चोकमा सडक नालीको पानीको भेलले बगाउँदा आमा–छोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार भदौ १२ गते शुक्रबार साँझ करिब ४ बजे पोखरा–१७ हर्कमेयर चोकमा स्कुटरमा सवार पोखरा–३० ढुङ्गेपाटनकी २६ वर्षीया सुष्मा दाहाल स्कुटर साइड लगाएर हिँड्ने क्रममा सडक नालीबाट आएको पानीको भलले बगाएकी थिइन्। उनीसँगै उनकी २ वर्षीया छोरी रानीका दाहाल पनि बगेकी थिइन्।

सूचना प्राप्त भएपछि प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीको सहयोगमा दुवै जनालाई पोखरा–१७ बिरौटास्थित नहर कुलोबाट उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको थियो।

उपचारका क्रममा सुष्मा दाहालको हिजो राति ९:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी २ वर्षीया छोरी रानीका दाहालको भने १३ अघि बिहान १:२१ बजे उपचारकै क्रममा मृत्यु भएको हो। दुवैको शव गण्डकी मेडिकल कलेजमै राखिएको छ।

घटनामा सुष्माका श्रीमान् ३० वर्षीय कमल दाहाल पनि उपचार तथा आवश्यक समन्वयमा संलग्न रहेको प्रहरीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।