सन्देश श्रेष्ठ
पोखरा, भदौ १६
भोटेकोशी बाढीमा परेर मृत्यु भएका ७६ शवको पोखरामा व्यवस्थापन गरिएको छ । भोटेकोशीमा भदौ १० गते बुधबार आएको बाढीका कारण मृत्यु भई पोखरा ल्याइएका १०२ शवमध्य पहिचान नभएका ७६ शव मंगलबार पोखरा–१६ जौवारीस्थित सिँचाइको स्वामित्वमा रहेको गाँडतरामा जमिन मुनि व्यवस्थापन गरिएको हो । शव व्यवस्थापन गरिएको यो ठाउँ याम्दी पारी सेती किनारमा रहेको जंगल क्षेत्र हो ।
बाढी प्रभावित जिल्लाहरुबाट पोखरा ल्याइएका शवहरुको पोष्टमार्टम सकिए पनि पहिचान नभएकाले खाल्डो खनेर व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । शवहरू कुहिएर दुर्गन्ध फैलिन थालेको र यहि कारण महामारी फैलन सक्ने जोखिम बढेपछि पहिचान हुन नसकेका शवहरूको सुरक्षित व्यवस्थापन गरिएको उनको भनाई छ ।
पोखरामा जंगलको बिच भागमा शव व्यवस्थापन गर्न प्रशासनले आईसीआरसीको मापदण्ड पालना गरेको दाबी गरेको छ । जहाँ खाल्डाहरु खनेर शव व्यवस्थापन गरिएका छन् । शव व्यवस्थापन गरिएको ठाउँलाई तारजालीले घेरेर ताल्चा लगाएर राखिएको छ । शव पहिचान नभएसम्म अधिकारप्राप्त व्यक्तिबाहेक अन्य कसैलाई पनि त्यहाँ जान निशेष गरिएको छ । डीएनए पश्चात शव पहिचान भएमा शव झिक्न सहजताका लागि हरेक शवमा स्ट्याण्ड राखिएको छ भने सो स्ट्याण्डमा युनिक आइडेन्टिफिकेसन ट्याग ‘कोर्ड’ राखिएको छ ।
पोखरा ल्याइएकामध्य १९ वटा शव भने पहिचान भएपश्चात आफन्तलाई बुझाइएको सहायक प्रजिअ बरालले जानकारी दिए । बाँकी ७ वटा शव भने पहिचानका लागि अस्पतालकै शवगृहमा राखिएका छन् । मंगलबार व्यवस्थापन गर्न लगिएको २ वटा शव आफन्तको दाबी पछि फिर्ता ल्याएर शवगृहमा राखिएको छ । व्यवस्थापन गर्नका लागि व्यवस्थापन स्थलमै लगिएको शवलाई आफन्त दाबी गर्दै पुगेपछि फिर्ता ल्याएर अस्पतालको शवगृहमा राखिएको हो । अर्को एउटा शवलाई तीन परिवारले दाबी गरेका छन् । उनीहरुको डिएनए रिपोर्ट नआएसम्मका लागि अस्पतालको शवगृहमा शव राखिएको सहायक प्रजिअ बरालले बताए ।
सहायक प्रजिअ बरालले पहिचान नभएका शव अन्र्तराष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)को मापदण्ड पूरा गरेर व्यवस्थापन गरिएको दाबी गरे । जुन शव आफन्तले पहिचान गरेको दिन लिएर जानसक्ने उनको भनाई छ । शवलाई राम्रोसँग पखालेर डिएनएको स्याम्पल लिइएको र व्यवस्थापन गरिएको ठाउँमा व्यक्तिको पहिचान खुल्ने कोर्ड प्रयोग गरिएकाले शव पहिचान हुने वित्तिकै दिन सकिने उनले बताए । उनका अनुसार अहिले व्यवस्थापन गरिएका शव १० वर्षसम्म निकाल्न सकिनेछ । त्यसपछि भने आईसीआरसीले नै डिकम्पोज हुन्छ भनेको उनले प्रष्ट्याए ।
कस्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले मापदण्ड पूरा गरेर शव व्यवस्थापन गरिएको बताए । यसरी पहिचान नखुलेर व्यवस्थापन गरिएका शवको डिएनए नमुना निकालिएको छ भने सो नमुना फरेन्सिक रिपोर्टका लागि अस्पतालसँग समन्वय गरेर फरेन्सिक विज्ञान प्रयोगशाला पठाईनेछ । आफन्तले शव पहिचानका लागि अब डिएनए रिपोर्ट कुर्नुपर्नेछ । जसका लागि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरेर नमुना रगत दिन आग्रह गरिएको छ ।
भोटेकोशी बाढीमा परेर मृत्यु भएकामध्ये पोखरामा नवलपुरबाट ४०, धादिङबाट २७, तनहुँबाट २४ र गोरखाबाट ११ वटा शव ल्याइएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी…







