सन्देश श्रेष्ठ
पोखरा, भदौ १६
पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी पीडितका लागि ४१ लाखभन्दा बढी रकम सहयोग गरेको छ । पौडेल आबद्ध अटोवेज प्रा.लि. परिवार, प्रतिभा माध्यमिक विद्यालय र गोविन्द–कलावती फाउन्डेसनले कुल ४१ लाख ११ हजार १ सय ११ रुपैयाँ बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रदान गरेको हो ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा अटोवेज प्रा.लि. परिवार र भारतको बुल मसिन्स प्रा.लि.ले २५ लाख रुपैयाँ जम्मा गरेको छ ।
त्यस्तै, पोखराको शैक्षिक सानका रुपमा रहेको पोखरा नादीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले ११ लाख ११ हजार १११ रुपैयाँ जम्मा गरेको छ ।
पौडेल सञ्चालक रहेको गोविन्द–कलावती फाउन्डेसनले पनि ५ लाख रुपैयाँ सहयोग गरेको छ । भोटेकोशीको बाढीका कारण संकटमा फसेका नागरिकको उद्धार तथा राहतमा सघाउ पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको पोखरेली व्यवसायी नारायणप्रसाद पौडेलले बताए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पीडितको दुःखमा साथ दिन सहयोग गरिएको उनको भनाई छ । ‘यो हाम्रो कर्तव्य हो, हामीले त्यहि कर्तव्य पालना गरेका हौं’–उनले भने ।

पौडेलले निजी क्षेत्र, विभिन्न संघ संस्था र आम नागरिक एकजुट भएर प्रभावित परिवारको उद्धार र पुनःस्थापनामा लाग्न आह्वानसमेत गरे । उनले देश दुःखेका बेला एक अर्काको साथ दिनु नै सबैभन्दा ठूलो धर्म भएकोसमेत बताए ।
संस्थाहरुले बाढीबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना समेत प्रकट गरेका छन् । घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विस्थापित भएकाहरुलाई सुरक्षित रुपमा पुनःस्थापित गर्न माग गरिएको छ । उनीहरुले विपत्तीका कारण पुरिएका विद्यालयको पुनःस्थापनामा जोड दिएका छन् । ‘बालबालिकाहरुको शैक्षिक वातावरण पुनः स्थापित गर्न र उनीहरुलाई विद्यालय फर्कने वातावरण बनाउनुपर्छ, त्यसका लागि सम्बन्धित सरोकारवाला निकायहरुसँग सहकार्य गर्न तयार छौं’–सहयोगी संस्थामध्यको एक प्रतिभा माविका प्राचार्य किरण सापकोटाले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी…







