सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले यही असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । पसलबाट बजार मूल्यभन्दा सहुलियत दरमा चिनी, नुन, तेल, चामललगायत खाद्य सामग्री बिक्री भइरहेको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिए । उनका अनुसार सुपथ मूल्य पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ । “ सरकारको नीतिअनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर पसल सञ्चालनमा ल्याएका हौँ । यो पसल दुई महिनासम्म सञ्चालन हुनेछ । बजार मूल्यभन्दा सस्तोमा सामग्री उपलब्ध गराएका छौँ”, उनले भने ।
सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी रु एक सयमा उपलब्ध गराइएको छ । एक जना उपभोक्ताले अधिकतम छ केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ । बजारमा चिनी प्रतिकेजी रु १४० मा बिक्री भइरहेको अवस्थामा सुपथ मूल्य पसलबाट खरिद गर्दा उपभोक्ताले प्रतिकेजी रु ४० सहुलियत पाउने साल्ट ट्रेडिङले जनाएको छ । पोखरा–१७ बिरौटाकी सचिना रानाभाटले अन्य पसलको तुलनामा साल्ट ट्रेडिङमा सस्तोमा खाद्य सामग्री खरिद गर्न पाएको बताए । विशेषगरी चिनीमा उल्लेख्य सहुलियत पाएको उनको भनाइ छ । “यस्तो महँगीको बेला सस्तोमा सामान किन्न पाउँदा धेरै खुसी लागेको छ । अरुभन्दा चिनी यहाँ धेरै नै सस्तो रहेछ”, उनले भने ।
गण्डकी प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनका पोखरा र बागलुङमा कार्यालय छन् । दुवै कार्यालयबाट उपभोक्ताले सुपथ मूल्यमा दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्ने जनाइएको छ । साल्ट ट्रेडिङले हरेक वर्ष चाडपर्वका समयमा सुपथ मुल्यका पसल सञ्चालन गरेर सहुलियतमा नागरिकलाई खाद्य सामग्री बिक्री गर्दै आएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लम्जुङ–पोखरा सम्पर्क समितिको ३३ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ…






