सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणमा उपभोक्ता मञ्चको जोड


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०८३ मा प्रकाशित




उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा सहज आपूर्ति व्यवस्थापन, मिसावट र महँगी नियन्त्रणबारे अन्तरक्रियात्मक सचेतना कार्यक्रम गरिएको छ ।

गण्डकी प्रदेश सरकारको सहकार्यमा पोखरामा आयोजित कार्यक्रमका वक्ताले सहज आपूर्ति व्यवस्थापनसहित मिसावट र महँगी नियन्त्रणमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा जोड दिए ।प्रदेशका प्रमुख सचिव भूपाल बरालले उपभोक्ता मञ्चले सही समयमा, सही कार्यक्रम गरेको भन्दै प्रशंसा गरे । उनले सहज आपूर्ति व्यवस्थापन, मिसावट र मूल्य नियन्त्रण सम्बन्धमा सरकार सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले सबैले आ–आफ्नो ड्यूटी पूरा गरेमा यसको न्यूनीकरण हुन सक्ने बताए ।कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, उद्योग तथा पर्यटन मन्त्रालय महाशाखा प्रमुख महराज ढकाल, नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोइराला, राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले कार्यक्रमको विषयसँग सम्बन्धित रहेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, नेपाल उद्योग वाणिज्य संघ गण्डकीका कार्यवाहक अध्यक्ष सूर्यबहादुर भुजेल, पोखरा उद्योग वाणिज्य संघ अध्यक्ष शोभा गौतम, लेखनाथ उद्योग वाणिज्य संघ जानुका अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष विक्रम कर्माचार्य, मञ्चका उपाध्यक्ष अधिवक्ता राजुराज अधिकारी, जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी वीरेन्द्रकुमार पासवानलगायतले बोलेका थिए । कार्यक्रमको निचोड मुख्यमन्त्रीसमक्ष पेस गरिने आयोजकले जनाएको छ ।

आयोजक उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले भने, ‘उपभोक्ता भनेका बजारका खेलाडी हुन्, सरकार निकाय रेफ्री हुन् । खेलाडीले नियमपूर्वक सही खेल खेलेमा रेफ्रीको आवश्यकता नै पर्दैन ।’ यसरी आफ्नो कर्तव्यप्रतिको दायित्व पूरा भएमा कुनै कानुन नचाहिने उनको तर्क छ । कार्यक्रममा उपाध्यक्ष रमेश पौडेलले स्वागत मन्तव्य र सचिव अधिवक्ता गीता आचार्यले संचालन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।