आउँदा ११३ यात्रुलिएर आएको फ्लाई दुबईको जहाज फर्किदा १५२ यात्रु लिएर फर्कियो
सन्देश श्रेष्ठ
पोखरा, असोज ७
फ्लाई दुबईले पोखरा–दुबई उडान शुरु गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले गर्ने भनिएको बहुप्रतिक्षित पोखरा–दुबई उडान बुधबार साँझदेखि शुरु भएको हो । उडानको शुरुवात फ्लाई दुबईको बोईङ ७३७ एफडिबी ११६५ कलसाईनको जहाजले गरेको छ ।
नेपाली समय अनुसार दिउँसो २ बजे उडेको सो जहाज करीब सवा ४ साँझ ६ः१९ बजे पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । १५६ वटा ईकोनोमिक र १० वटा बिजनेस क्लास रहेको यस जहाजले पहिलो उडानमार्फत ११३ जना यात्रु बोकेर आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
बुधबार साँझ पोखरा आएको सो जहाज बुधबार साँझ नै दुबई फर्किएको छ । फर्किदा १५२ जना यात्रु बोकेर दुबई फर्किएको पोखरा अन्र्तराष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार १४९ जना ईकोनोमिक र ३ जना बिजनेस क्लासका यात्रु बोकेर जहाज फर्किएको हो । १५३ यात्रु बोकेर फर्किने भनिए पनि अन्तिम समयमा एक यात्रुले टिकट रद्ध गरेको विमानस्थल स्रोतले जनाएको छ ।
बुधबारदेखि शुरु भएको फ्लाई दुबईको पोखरा–दुबई उडान अब दैनिक हुनेछ । फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले ३ महिनाका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिएको बताए । त्यसपछि यात्रुको चापलाई हेरेर थप ३ महिनाको बुकिङ खुल्ला गरिने उनको भनाई छ । ६ महिनाको परीक्षण उडानपछि मात्रै दीर्घकालीन उडानबारे फ्लाई दुबईले निर्णय गर्ने उनले जानकारी दिए ।
पोखरा–दुबई उडान भएको खुशीयालीमा पोखरेलीले पहिलो उडानमा सहभागी यात्रुहरुलाई स्वागत तथा विदाई गरे । पोखरा महानगरपालिका, नेपाल पर्यटन वोर्ड, पोखरा पर्यटन परिषदसहित पर्यटनसँग सम्बद्ध संघसंस्था तथा आम पोखरेलीले दुबईबाट पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खादा र माला लगाएर स्वागत गरेका थिए ।
दुबईबाट पोखरा आउने टोलीमा संयुक्त अरब ईमिरेट्स (यूएई)का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री, चर्चित कन्दरा व्याण्डका भोकलिष्ट विवेक श्रेष्ठ, संगीतकार सुनिल थापासहित सम्पूर्ण व्याण्डका सदस्यहरु पनि रहेका छन् । उनीहरुलाई खादा र मालासहित नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीको तर्फबाट मेडिटेसनका लागि प्रयोग हुने ध्वनी कचौरा ‘सिंगिङ बाउल’ उपहार स्वरुप प्रदान ग¥यो । स्वागतसहित शान्तिको कामना गर्दै मायाको चिनो स्वरुप सो ध्वनी कचौरा प्रदान गरिएको नाट्टा गण्डकीकी अध्यक्ष संगीता पौडेलले बताईन् ।
त्यस्तै, पोखराबाट दुबई प्रस्थान गरेका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि खादा र माला लगाएर विदाईसहित शुभ यात्राको कामना गरिएको थियो ।
फ्लाई दुबईको जहाज पोखरा आएसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय बजारमा पहुँच राख्ने अपेक्षा गरिएको छ । दुबई २ सय बढी देशका सहरहरुमा हवाई सञ्जाल भएको सहर भएकाले पोखराले अन्तर्राष्ट्रिय बजारमा पहुँच राख्ने अपेक्षा गरिएको पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । उनले भने,‘यो फ्लाईट ऐतिहासिक हो र यो पोखराको पर्यटनका लागि कोशेढुंगा सावित हुने विस्वास लिएका छौं ।’
फ्लाई दुबईको पोखरा–दुबई उडानले सफलता पाएमा कतार एयरवेज, एयर ईण्डियादेखि अन्य ठूला हवाई कम्पनीहरु पनि आकर्षित हुने अध्यक्ष श्रेष्ठको अपेक्षा छ । उनका अनुसार पोखरा–ढाका उडान पनि जनवरीदेखि गर्ने तयारी भइरहेको छ । ‘बाँकी फ्लाई दुबईको पोखरा–दुबई उडानको सफलतामा निर्भर रहन्छ’–उनले भने ।
त्यसैले त पोखरा–दुबई उडान सफल बनाउन पर्यटनसँग सम्बद्ध संघसंस्थाहरु लागि परेको नाट्टा गण्डकीकी अध्यक्ष संगीता पौडेलले बताईन् । हामीले पोखरा–दुबई उडानलाई दीगो बनाउन हरसम्भव प्रयास गरिरहेका छौं,उनले भनिन्,‘हामी यसलाई सफल बनाएरै छाड्ने प्रयासमा छौं ।’
पहिलो उडानबाट आएको टोलीलाई पोखारका होटलमा निःशुल्क बास
फ्लाई दुबईको बुधबार भउको पहिलो उडानबाट पोखरा आएका पर्यटकलाई पोखरेली पर्यटन व्यवसायीले विभिन्न अफरहरु दिएका छन् । पहिलो उडानबाट पोखरा आएका हरेक पर्यटकलाई एक दिनका लागि सामान्य होटलदेखि चारतारे होटलसम्म निःशुल्क बासको अफर दिइएको हो । पोखराका चर्चित तारे होटलहरु रानीवन अर्किड रिसोर्ट, टिका रिसोर्ट, गुडविल होटलदेखि सामान्य होटलहरुमा निःशुल्क बासको व्यवस्था गरिएको पोखरा–दुबई उडानका अभियन्ता तथा पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार पहिलो उडानबाट आउने ईच्छुक पर्यटकहरुलाई प्याराग्लाईडिङ पनि निःशुल्क गराईनेछ ।
त्यस्तै, तारे होटलहरु रानीवन अर्किड, टिका रिसोर्ट र गुडविलमा दुई महिनासम्म प्रत्येक दिन २ वटा कोठा निःशुल्क उपलब्ध गराईनेछ । पोखराका होटलहरुसँगको समन्वयमा होटल संघ पोखराले फ्लाई दुबईबाट पोखरा आउने हरेक दिनको पर्यटकलाई निःशुल्क बासको व्यवस्था गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले जानकारी दिए । ‘ईच्छुक सबैलाई बासको निःशुल्क व्यवस्था गरेका छौं’–उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा…






