प्रौढ भलिबलको उपाधी पुरुषतर्फ पोखरा भेट्रान्स निलो र महिलातर्फ गुरुङ–मगर समाजलाई


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०८३ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखरामा आयोजित प्रथम खुला प्रौढ पुरुष तथा महिला भलिबलको उपाधी पोखरा भेट्रान्स निलो र गुरुङ–मगर समाजले उचालेका छन् ।

गुरुङ–मगर समाज, लामाचौरले आफ्नो प्रथम बार्षिकोत्सवका अवसरमा स्थानीय पातीघारी खेल मैदानमा आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ पोखरा भेट्रान्स निलो र महिला तर्फ आयोजक गुरुङ–मगर समाजले उचालेका हुन् ।पुरुषतर्फको फाईनल खेलमा पोखरा भेट्रान्स निलोले पोखरा भेट्रान्स रातोलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुम्यो ।पराजित पोखरा भेट्रान्स रातो भने दोस्रोमा सिमित रह्यो । त्यस्तै महिलातर्फको फाइनल खेलमा आयोजक गुरुङ मगर समाजले म्याग्दी दोवा टिमलाई ३–१ को सेटमा पराजित गर्यो। पराजित म्याग्दी दोवा टिम दोस्रो स्थानमा चित्त बुझायो ।पुरुषतर्फ फिप्टी भुपु आर्मीले टिम मकवानपुरलाई हराउँदै तेस्रो बनेको छ । महिलातर्फ रामबजार टिमलाई हराउँदै, पुन मगर समाज तेस्रो बन्न सफल भएको प्रचार संयोजक विराज शर्माले जानकारी दिए ।उपाधि विजेता पुरुषतर्फको पोखरा भेट्रान्स निलोले नगद १ लाख १ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको पोखरा भेट्रान्स रातोले नगद ६१ हजार , शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

महिलातर्फ उपाधि विजेता गुरुङ मगर समाजले नगद ५१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र र उपविजेता म्याग्दी दोवाले नगद ३१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । तेस्रो स्थानमा चित्त बुझाएका फिप्टी भुपु आर्मीले नगद ३१ हजार, शिल्ड, मेडल र प्रमाणपत्र तथा पुन मगर समाजले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रचार संयोजक शर्माले बताए ।

विजयी खेलाडीलाई अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, समाजका अध्यक्ष युग गुरुङ, खेल संयोजक सन्दिप थापा मगर, सचिव लिलबहादुर क्षेत्री, कोषाध्यक्ष सुर्य पुर्जा मगर, राष्ट्रिय रेफ्री राम गुरुङ लगायतले पुरस्कार वितरण गरे । समापन कार्यक्रममा अध्यक्ष युग गुरुङले प्रतिकुल मौषमका बाबजुद पनि कार्यक्रम सफल भएको बताउँदै, प्रतियोगितालाई आगामी बर्ष पनि निरन्तरता दिने बताए ।

४ दिनसम्म संचालन भएको प्रतियोगितामा पुरुषतर्फ २२ र महिलातर्फ ६ टिमले सहभागिता जनाएका थिए । समाजमा गुरुङ, मगर मात्र नभई सबै समुदायको प्रतिनिधित्व रहेको बताईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।