दुर्घटना नगराउने १५ चालकलाई एवन ग्रेटर नेपाल यातायात प्रालिको सम्मान


     एभरेस्ट आवाज    
     असाेज १० गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, असोज १०

एवन ग्रेटर नेपाल यातायात प्रालिले दुर्घटना नगराउने चालकहरुलाई सम्मान गरेको छ । पोखरालाई कार्यक्षेत्र बनाएका पोखराका ट्याक्सी व्यवसायीहरुको संस्था एवन ग्रेटर नेपालले एक वर्षभरी सवारी चलाउँदा दुर्घटना नगराउने १ सय ९५ जना चालकहरु मध्य गोला प्रथाबाट छानिएका १५ जना चालकलाई सम्मान गरेको हो । उनीहरुलाई दोषल्ला र सम्मान पत्रले सम्मान गरिएको हो । उनीहरुलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’, बरिष्ठ उपाध्यक्ष ऐनकुमार साई, अर्का बरिष्ठ उपाध्यक्ष केदार पौडेल, एवन ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेललगायतले सम्मान गरेका थिए ।

दुर्घटना न्यूनिकरणका लागि प्रोत्साहन गर्न दुर्घटना नगराउने चालकहरुलाई सम्मान गरिएको एवन ग्रेटर नेपाल यातायात प्रालिका अध्यक्ष अर्जुन पौडेलले जानकारी दिए । दुर्घटना रोक्ने जिम्मा हामीहरुको पनि हो,उनले भने,‘चालकलाई सम्मान गर्दा अन्य चालकलाई पनि प्रेरणा मिलोस् भनेर सम्मान गरेका हौं ।’

साधारण सभाको अवसरमा व्यवसायीका कक्षा १२ उत्तीर्ण छोराछोरी, असल चालक तथा लामो समयदेखि सवारी सञ्चालन गर्दै आएका चालकलाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो ।

साधारण सभालाई सम्बोधन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला ‘सरोज’ले यातायात कार्यालयमा परमिट बेचिने गरेको दाबी गरे । गण्डकी यातायात कार्यालयमै परमिट बेचिने गरेको छ,उनले भने,‘यहि कारण काठमाडौंमा ट्याक्सीको नम्बर १८ लाखसम्म पुगेको छ, यहिं पोखरामा पनि १० लाखभन्दा बढी पुग्यो, यो स्वाभाविक होईन ।’

अध्यक्ष सिटौलाले यातायात व्यवसायी पनि सुध्रिन जरुरी रहेको बताए । एकअर्कालाई मात्र दोष दिएर यातायात क्षेत्रका समस्या समाधान हुँदैन,उनले भने,‘महासंघले पहल गरेर सट्टाभर्नाको व्यवस्था ल्यायौं, तर त्यसलाई २० वर्षको विषयसँग जोडेर ‘खसीको टाउको देखाएर बाख्राको मासु बेच्ने’ प्रवृत्ति यातायात व्यवसायीभित्रै छ ।’

महासंघका वरिष्ठ उपाध्यक्ष ऐनकुमार शाहीले व्यवसायी संस्थाबीच एकीकरण तत्काल सम्भव नभएको बताए । सबैलाई नेतृत्व र पदको चाहना भएकाले संस्था एकीकरणमा समस्या देखिएको उनले बताए ।

अर्का वरिष्ठ उपाध्यक्ष केदारप्रसाद पौडेलले यातायात क्षेत्रमा नीतिगत अस्पष्टताका कारण समस्या आएको बताए । ‘समस्या समाधानका लागि नीतिगत सुधार गर्नका लागि सरकारलाई निरन्तर झकझकाइ रहेका छौं, अब त्यसको परिणामको पर्खाइमा हामी छौं’–उनले भने ।

कार्यक्रममा पोखरामा ट्याक्सी व्यवसायीका संस्थाहरुबीच एकीकरणको आवश्यक्ता रहेकोमा जोड दिएका थिए । कार्यक्रममा बोल्दै महासंघका उप–महासचिव भानुभक्त बराल, महासंघका ट्याक्सी वर्गीय संयोजक प्रकाशमणि तिवारी, विधान मस्यौदा सदस्य सचिव योगेन्द्रबहादुर केसी, गण्डकी संयोजक महेशबहादुर थापा ‘गणेश’, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन गण्डकी प्रदेश अध्यक्ष बलराम सापकोटा, नेपाल यातायात मजदुर संघ गण्डकीका किरणबाबु पन्तलगायतले व्यवसायीहरुबीच एकता आवश्यक रहेको भन्दै एकीकरणका लागि महासंघलाई भूमिका खेल्न आग्रह गरे । उनीहरुले सवारी साधनको चाप आवश्यकताभन्दा बढी रहेकाले नियन्त्रण र नियमनका लागि पनि पहल गर्न सुझाव दिए ।

संस्थाका सचिव गोकर्ण केसीले एवन ग्रेटर नेपाल यातायात प्रालिले पेशागत सुरक्षालाई प्राथमिकता दिँदै यात्रुलाई सरल, सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई प्राथमिकताका साथ पालना गर्ने प्रतिबद्धता जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।