चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते तनहुँको शुक्लागण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो ।।
लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ हुदैछ । भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको खेलमैदानमा नेपथ्य गुञ्जनेछ । सोमबार पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमबारे जानकारी गराउदै आयोजकले शुक्लागण्डकीको भूमीमा ऐतिहासिक सांगीतिक क्षण बन्ने दाबी गरेको छ । सो अवसरमा प्रचारप्रसारका लागि ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ कार्यक्रमको टिसर्ट सार्वजनिक गरियो । लायन्स इन्टरनेशनलको ‘पढाउ’ अभियान अन्तर्गत शिक्षा क्षेत्रमा सहयोग पु¥याउने उदेश्यले सांगतिक कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक खुमबहादुर विक ‘राजु’ ले बताए । विकका अनुसार, ‘कन्सर्टमा १० हजार बढी संगीतप्रेमीहरु झुम्नेछन्, नेपथ्य को स्वरमा स्वर मिसाउदैं छमछमी नाच्नेछन् ।’ एक करोड रुपैयाँ बराबरको कारोबार हुने उनले जानकारी दिए । ‘बचत रकम लायन्स क्लब इन्टरनेशनल ३२५ एमको मूल मन्त्र ‘पढाउ’ अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रको विकासमा खर्च गरिनेछ’, उनले भने ।
बचत रकमले विपन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति, शैक्षिक सामग्री र पोसाक वितरण गर्ने लक्ष्य रहेको उल्लेख गरिएको छ । स्थानीय व्यवसाय, पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्ने तथा लायन्स क्लबको सामाजिक सेवामुखी अभियानलाई थप प्रभावकारी बनाउने उदेश्य राखिएको उनले बताए । संगीत केवल मनोरञ्जनको माध्यम मात्र नभई समाजलाई जोड्ने, सकारात्मक सन्देश प्रवाह गर्ने र सामाजिक अभियानलाई उकास्ने एक प्रभावकारी माध्यम भएको उनले सुनाए । त्यही माध्यमले तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ, गोरखा, पाल्पा र आसपासका तमाम संगीतप्रेमी, विद्यार्थी, युवा, व्यवसायी, उद्यमी, पेसाकर्मी तथा सर्वसाधारणलाई एउटै सांगीतिक मञ्चमा जोड्ने संयोजक विकले दाबी गरे ।
पत्रकार सम्मेलनमा बोल्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले कार्यक्रमले संगीतप्रेमीको मन जोड्न भूमिका खेल्ने बताए । युवाहरु नविन सोंचका साथ अगाडि बढिरहेको उनले बताए । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले कार्यक्रम आयोजनापूर्व नै बचत रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उद्घोषले सकरात्मक सन्देश प्रवाह गरेको बताए । म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले संगीत क्षेत्रका अग्रज र उदयमानलाई कार्यक्रमले उत्साह थप्ने बताए । लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष देवेन्द्रबहादुर ढुंगानाले आफूहरुले ऐतिहासिक क्षणको तारतम्य मिलाउने प्रयास मात्रै गरेको बताए । आगामी बर्षहरुमा पनि यस्तै ऐतिहासिक क्षणको साक्षी बस्ने वातावरण मिलाउने प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापा, क्लबका सचिव सुरेश पौडेल, प्रचारप्रसार संयोजक शंकर पन्त लगायतले बोलेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज १२ पोखराको अब्बल बालगृहको पहिचान बनाएको बाल कल्याण संस्थाले सोमबार…







