कन्दराको ‘रिदम अफ चेन्ज’बाट ४८ लाखभन्दा बढी सामाजिक सहयोग संकलन


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८३ मा प्रकाशित




पोखरा । नेपाली सांगीतिक समूह कन्दराको ‘रिदम अफ चेन्ज’ उत्तर अमेरिका यात्राका क्रममा सामाजिक सहयोगका लागि ४८ लाख ३ हजार ५१० रुपैयाँ बराबर रकम संकलन भएको छ। संगीत प्रस्तुतिसँगै नेपाली डायस्पोरालाई समुदाय र सामाजिक जिम्मेवारीसँग जोड्ने उद्देश्यले गरिएका विभिन्न पहलबाट उक्त रकम संकलन भएको कन्दराले जनाएको छ।
अमेरिकाको एटलान्टामा आयोजित कन्दराको कार्यक्रममा मात्रै २१ लाख रुपैयाँ राहतका लागि संकलन भएको थियो। त्यसपछि मेरिल्यान्डमा मार्था छन्त्याल र परिवारले आयोजना गरेको ‘सिङ विथ कन्दरा’ च्यारिटी डिनरबाट ६ हजार अमेरिकी डलर तथा नर्थ क्यारोलिनामा आयोजित कार्यक्रममा ११ हजार ६७० अमेरिकी डलर संकलन भएको कन्दराले जनाएको छ।
दुवै कार्यक्रमबाट संकलित १७ हजार ६७० अमेरिकी डलरलाई एक अमेरिकी डलर बराबर १५३ रुपैयाँका दरले हिसाब गर्दा २७ लाख ३ हजार ५१० रुपैयाँ हुन्छ। एटलान्टाबाट संकलित २१ लाख रुपैयाँसमेत जोड्दा सामाजिक पहलमार्फत ४८ लाख ३ हजार ५१० रुपैयाँ बराबरको सहयोग संकलन भएको हो। कन्दराका अनुसार संकलित रकम सम्बन्धित निकायमा पारदर्शी रूपमा हस्तान्तरण गरिसकिएको कन्दरा ब्यान्डले जनाएको छ।
कन्दराका भोकलिस्ट विवेक श्रेष्ठले संगीत बोकेर उत्तर अमेरिका पुगे पनि त्यहाँबाट नेपाली डायस्पोराका कथा, सम्झना, माया र समुदायको शक्ति लिएर फर्किएको बताए। ‘आपत्कालमा सानो–सानो योगदान जोडिँदा ठूलो राहत बन्न सक्छ भन्ने हाम्रो विश्वास हो,’ कन्दराले भनेको छ।
कन्दराका अनुसार सामाजिक सहयोगका यी पहलमा कलाकारको आफ्नै योगदानसँगै कार्यक्रम आयोजक, परिवार तथा श्रोता–दर्शकको सहभागिता महत्वपूर्ण रहेको छ। संगीतलाई मनोरञ्जनमा मात्र सीमित नराखी समुदायसँग जोड्ने उद्देश्यले यस्ता कार्यक्रम अघि बढाइएको कन्दराले जनाएको छ।
‘रिदम अफ चेन्ज’मार्फत कन्दराले ‘सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट’को अवधारणालाई व्यवहारमा जोड्ने प्रयास गरेको छ। संगीतले मानिसलाई जोड्ने, सम्बन्धले संवाद सिर्जना गर्ने र संवादले आवश्यक परेको अवस्थामा सामाजिक कार्यतर्फ लैजान सक्ने कन्दराको बुझाइ छ।
कन्दराले आगामी दिनमा संगीत, संस्कृति, समुदाय र सामाजिक प्रभावलाई जोड्ने यस्ता पहललाई अझ व्यवस्थित, पारदर्शी र दीर्घकालीन बनाउने सम्भावना अघि सारेको छ।
पोखराबाट सुरु भएको कन्दरा नेपाली सांगीतिक समूह हो। दशकौँदेखि नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको कन्दराका गीतमा घर, माटो, प्रेम, यात्रा, सम्झना, प्रकृति र नेपाली पहिचानका विषय प्रस्तुत हुँदै आएका छन्। ‘रिदम अफ चेन्ज’ कन्दराका लागि सांगीतिक प्रस्तुति र भ्रमणमा मात्र सीमित नभई संगीतबाट सम्बन्ध, सम्बन्धबाट सहभागिता र सहभागिताबाट सामाजिक सहयोग सिर्जना गर्ने यात्राका रूपमा अघि बढेको समूहले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।