सन्देश श्रेष्ठ
पोखरा, असोज १४
नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व पुस्तान्तरण नहुने बताएका छन् । नेपाली कांग्रेस ईतर पक्षले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा नेतृत्व हस्तान्तरण नभई पुस्तान्तरण हुने बताएका हुन् । जेनजी आन्दोलनपश्चात सबै दलहरुमा नेतृत्व पुस्तान्तरणको माग भइरहँदा महतले भने नेतृत्व पुस्तान्तरणलाई ठाडै ईन्कार गरे । राजनीति आवश्यक्ताको सिद्धान्तले चल्ने भन्दै उनले लोकतन्त्रमा जनताले जुन उमेरको आवश्यक ठान्छ, त्यहि उमेरकोलाई नेतृत्व हस्तान्तरण हुने उनको भनाई थियो । कसैले यसलाई बनाईदे भनेर बन्ने होईन, उनले अगाडि भने,‘त्यसकारण नेतृत्व हस्तान्तरण हुन्छ, पुस्तान्तरण हुँदैन । अनि त्यो हस्तान्तरण युवामा पनि हुनसक्छ । प्रौढ नेतृत्वमा पनि हुनसक्छ ।’ जनताले अहिले पनि प्रौढलाई नै नेतृत्व दिन चाहिरहेको दाबी गरे ।
महतले जनताको मतबाट निर्वाचित नेतृत्वलाई मैले भनेअनुसारको उमेरको मान्छे भएन भनेर नेतृत्व मान्दिन भन्न नपाईने बताए । निर्वाचनबाट चुनिने विषयमा कसैले फलानो एजको मात्रै निर्वाचित गरिस् भने ठीक छ होईन भने मान्दिनौं भन्न मिल्छ ?,उनले भने, ‘मोदी कति वर्षका भए ? ट्रम्प ? अनि चीनमा कति वर्षका छन् ? ।’ उनले पार्टीमा कार्यकर्ता आम चुनावमा जनताले ६० वर्ष, ७० वर्ष वा ३५ वर्षको जसलाई चुने पनि मान्नुपर्नेमा जोड दिए ।
नेता महतले गत भदौ २३ र २४ गते जसरी नियोजित रुपमा आन्दोलन र आगजनी भएको थियो त्यसैगरी पार्टीमा पनि विशेष महाधिवेशन भएको आरोप लगाए । जेनजीलाई मुखडा बनाएर राज्य संरचनाहरु संसद, सिंहदरबार, अदालतलगायत जलाइएको उनको आरोप छ । त्यस्तै, पार्टीमा पनि गगनहरुलाई मुखडा बनाएर पार्टी सक्ने काम भएको उनले टिप्पणी गरे । जसरी अरुले कार्वन उत्सर्जन गर्दा आज हाम्रो देशले जलवायु परिवर्तनका कारण अप्ठेरो भोग्नु परिरहेको छ,उनल थपे,त्यसरी नै अरुले गरेको अस्वाभाविक र अप्राकृतिक योजनामा भदौ २३ र २४ को घटना भयो, अनि पार्टी पनि विशेष महाधिवेशनको बहानामा ध्वस्त बनाईयो ।’
महतले सत्यको मुख बन्दहुँदा झूठो स्थापित भइरहेको बताए । हिसाबकितावको राजनीति भइरहेको छ । निष्ठाको, आदर्शको राजनीति स्खलित भइरहेको छ,विपी कोईरालाले भनेको वाक्य उद्धृत गर्दै उनले भने, ‘सत्यको मुख बन्द भएपछि झूठो स्थापित भएको छ देशमा पनि र पार्टीमा पनि ।’ उनले बुझेकाहरुले पनि बोल्न हिच्किचाईरहेको गुनासो गरे । आफूहरु सत्यको पक्षमा उभिएको बताउँदै उनले आग्रहपूर्ण स्वरमा भने,‘अब तपाईंहरु पनि बोल्नूस् । नत्र झूठो स्थापित हुन्छ ।’
महतले सर्वोच्च अदालतले आफूहरुकै पक्षमा फैसला गर्ने विस्वास व्यक्त गरे । यसअघिको फैसला त्रृटीपूर्ण भएकै कारणले सर्वोच्चले हामीलाई निस्सा दियो,उनले भने,‘निस्सा दिएसँगै देशम अझै न्याय मरेको रहेनछ भन्ने आशा पलाएको छ, हामीलाई विस्वास छ कि अब फैसला पनि हाम्रै पक्षमा आउँछ ।’ उनले विहीबारदेखि आफूहरुको महाधिवेशन प्रक्रिया शुरु हुने भएकाले सहभागी हुन आह्वानसमेत गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १४ नेपाली कांग्रेस ईतर पक्षका नेता प्रकाशशरण महतले नेतृत्व…







