शिशिर उजाड
पोखरा
अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा, पोखरा-१६, मा श्रवण कुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्रले सेवा शुभारम्भ गरेको छ ।
श्रवण कुमार जेष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन समितिले केन्द्रको उद्घाटन भएको १६ महिनापछि बाटुलेचौरस्थित कोलगैरामा सुविधा सम्पन्न भवनबाट जेष्ठ नागरिकका लागि शनिबारदेखि सेवा सुरु गरेको हो । केन्द्रले सोमबारदेखि निरन्तर सेवा दिने जनाएको छ । सेवाको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष एवं उद्योगपति गणेशबहादुर श्रेष्ठले शुभारम्भ गरे । उनले जेष्ठ नागरिक समाजको दर्पण भएको बताउँदै, उनीहरुबाट समाज विकास र सुशासनको अवधारणलाई ग्रहण गर्न सकिने बताए ।उनले ज्येष्ठ नागरिक परिवारका संरक्षक र समाजका पथप्रदर्शक भएकाले लामो जीवन भोगाइका अनुभवले खारिएका ज्ञान, सीपलाई सम्मान गर्नुपर्नेमा जोड दिए । अध्यक्ष श्रेष्ठले भने-‘ज्येष्ठ नागरिकका लागि यो सेवा केन्द्र भेटघाट गर्ने र सुख दुःख साटासाट गर्ने महत्वपुर्ण थलो बन्नेछ।’
पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले सूचना र प्रविधिको विकासले समाजमा परम्परागत ज्ञान, सीप, धारणा र कला ओझेलमा पर्दै गएको बताउँदै, पारिवारिक वातावरणमा मात्र समय व्यतीत गर्न कठिनाइ भएकाले ज्येष्ठ नागरिकका लागि दिनभर भलाकुसारी तथा विविध कार्य गर्न सेवा केन्द्रको महत्त्व हुने बताए । उनले वडाको तर्फबाट आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको पनि स्पष्ट पारे । केन्द्रका अध्यक्ष दानबहादुर बानियाँले संस्थाको संक्षिप्त परिचय गराउँदै, केन्द्रमा रहने जेष्ठ नागरिकलाई दिनभर भेटघाट, मनोरञ्जन, स्वास्थ्य परामर्श तथा सामाजिक गतिविधिमा सहभागी गराइने बताए । निकट भविश्यमै जेष्ठ नागरिकको आउजाउका लागि यातायातको सुविधा र स्वयंसेवक उपलब्ध गराईने बताउँदै उनले सबैको सहयोगबाट मात्रै सेवा केन्द्र सफल हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा प्रमुख अतिथि श्रेष्ठले लक्ष्मी ग्रुप मार्फत ५१ हजार बराबरको संगीतका सामाग्री र दैनिक ५ लिटर दुध उपलब्ध गराउने घोषणा गरे । त्यस्तै व्यवसायी अञ्जु गुरुङले नगद १ लाख, समाजसेवी मेहरमान र तारा थापाले ५० हजार, हाईजिङ मार्टले १५ हजार बराबरको खाद्यान्न सामाग्री, बडहरबोट आमा समुहले १० हजार १११, महिला जनजागरण आमा समुहले ५ हजार १११ सहयोग उपलब्ध गराएको केन्द्रका सदस्य शिवराज देवकोटाले जानकारी दिए । कार्यक्रममा व्यवसायी काशीराम शर्मा, युआर एलका प्रवन्धक ठाकुर पन्त, मातृशिशु मितेरी प्रादेशिक अस्पतालका मेसु डा.रेखा शर्मा, घार्मीखोला आमा समुहका अध्यक्ष तारा भट्टराई, अम्बिका टोल विकास संस्थाका अध्यक्ष तुलबहादुर बस्नेतलगायतले शान्त र हरियाली वातावरण भएकाले यो क्षेत्र जेष्ठ नागरिकका लागि उपयुक्त रहेको बताए । केन्द्रका अध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत चित्रबहादुर थापा, धन्यवाद शिवराज देवकोटा र संचालन सचिव दिनेश श्रेष्ठले गरेका थिए । त्यस अवसरमा केन्द्रका १ सयबढी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।
केन्द्रले साधारण र आजीवन गरी दुई प्रकारको सदस्यता जारी गरेको र साधारण सदस्यका लागि वार्षिक शुल्क र आजीवन सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको सचिव श्रेष्ठले जानकारी दिए । करिब ४ करोड रुपैयाँको गुरुयोजना अनुसार हालसम्म करिब ३ करोड रुपैयाँको निर्माण काम सकिएको छ ।२०७७ सालमा पोखरा महानगरपालिकाबाट प्राप्त ११ लाख रुपैयाँ बजेटबाट केन्द्रको निर्माण सुरु भएको थियो । गण्डकी प्रदेशका तत्कालीन मन्त्री विन्दुकुमार थापाले २०८२ जेठ २४ गते यसको उद्घाटन गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताएका छन्…







