तेस्रो पर्वतीय दौडको तयारी अन्तिम चरणमा


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०८३ मा प्रकाशित




पोखरा, असोज १७

पर्यटनको राजधानी पोखरामा आउँदो शनिबार आयोजना हुने तेस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।पोखरा प्रवद्र्धन केन्द्रको आयोजनामा पोखरा २२ पुम्दीभुम्दीमा यहि असोज २४ गते हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । प्रतियोगिताका लागि असोज २१ गतेसम्ममा नाम दर्ता गराईसक्नुपर्ने जनाइएको छ । जसमा हालसम्म १८ जिल्लाका ८० बढी धावकले नाम दर्ता गराइसकेको कार्यक्रम संयोजक दीननाथ बरालले जानकारी दिए ।

प्रतियोगिताका लागि असोज २१ गते राति १२ बजेसम्म पोखरा क्लिक अनलाइनमार्फत नाम दर्ता गर्न सकिने आयोजकले जनाएका छन् । खेल पर्यटन मार्फत् ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक दीननाथ बरालले बताए । पोखरा आसपासका सम्भावित ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान गरी बजार क्षेत्रमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रसँग जोड्न पर्वतीय दौड प्रभावकारी माध्यम बन्ने उनको भनाइ छ ।

पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्यसहित हुने प्रतियोगिता विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेवको मूर्तीलाई परिक्रमा गर्दै पोखरा–२२ को वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ । आठ किलोमिटर दूरीको दौडमा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान्स गरी छ विधामा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । यस्तै प्रतियोगितामा दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुनेले क्रमशः ३० हजार, १५ हजार, सात हजार र तीनहजार रुपैयाँ प्राप्त गर्ने पत्रकारसम्मेलनमार्फत् जानकारी गराइयो । प्रतियोगितामा छैटौँदेखि दशौँ स्थानसम्म दूरी पूरा गर्ने धावकलाई जनही एकहजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

वडास्तरीय खुला, महिला र यू–१६ विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५ हजार, सात हजार र तीनहजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशी धावकतर्फ विजेताले १५ हजार र उपविजेताले सात हजार रुपैयाँ पाउनेछन् भने भेट्रानतर्फ विजेतालाई १५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने पोखरा प्रवद्र्धन केन्द्र र पोखरा क्लिकद्वारा वितरित विज्ञप्तिमा उल्लेख छ ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष हिमलाल बरालले पर्वतीय दौड पुम्दी–भुम्दीको पहिचान बनेको बताए । यसले त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताए। प्रतियोगिताको अपनत्व वडाले लिएको उनले बताए । वडा अध्यक्ष बरालले पोखरा–२२ मा निर्माण भइरहेका पदमार्गले आगामी दिनमा पोखरा आउने पर्यटकको बसाइ अवधि लम्ब्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्दै यो प्रतियोगिता पोखरा २२ को पुँजी भएको उल्लेख गरे ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्वतीय दौडले पोखराको पर्यटनलाई माथि उकास्न सहयोग गरेको बताए । प्रतियोगिताको अपनत्व पर्यटनसँग सम्बद्ध सबै संघसंस्थाले लिएको बताउँदै आवश्यक्ता अनुसार प्रतियोगिताका लागि सहयोग गर्ने उद्घोष गरे । अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पदक दिलाएका धावकहरू प्रतियोगितामा सहभागी भएको अवस्थामा आवश्यक आतिथ्य सेवा उपलब्ध गराउने उनले घोषणा गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले पर्वतीय दौडले खेल क्षेत्रसँगै स्थानीय अर्थतन्त्र र कृषि क्षेत्रकोसमेत प्रवद्र्धनमा योगदान पु¥याउने बताउँदै प्रतियोगितालाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उँकालाबाङ घरेडी बुद्ध पार्क समितिका अध्यक्ष राज गुरुङ ‘लाल’ले प्रतियोगिताले पुम्दी–भुम्दीको मात्र नभई समग्र पोखराको खेल तथा पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने बताए ।

खेलका माध्यमबाट पोखरा–२२ सहित समग्र पोखराका ग्रामीण क्षेत्रमा रहेको खेल पर्यटनको सम्भावना उजागर गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले बताए ।
। प्रतियोगितामा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य रहेको छ । प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, हस्पिटल पार्टनरमा मेडिप्लस एन्ड ट्रमा सेन्टर, इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड, हस्पिटालिटी पार्टनरमा म्याजेस्टिक लेक फ्रन्ट होटल एन्ड सुइट्स, अफिसियल टेलिभिजनमा पोखरा टेलिभिजन तथा आधिकारिक ड्रिङ्किङ वाटरमा ग्लेज नेचुरल स्प्रिङ वाटर रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।