पोखराको चाउथेमा नेवाः खलः गठन, अध्यक्षमा सुमित्रा मल्ल उदास


     एभरेस्ट आवाज    
     असाेज १८ गते २०८३ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. १४ मा बसोबास गरिरहेका नेवार समुदायको भेलाले नेवाः खलः चाउथे गठन गरेका छन् ।

आफ्नो समुदायको भाषा , कला, संस्कृति र रीतिरिवाजको संरक्षण तथा संवर्धन गर्ने उद्धेश्यले गठन गरिएको संस्थाको अध्यक्षमा सुमित्रा मल्ल उदास चयन भएकी छन् । संस्थाको उपाध्यक्षमा शर्मिला श्रेष्ठ , सचिवमा मिरोज नारायण जोशी , कोषाध्यक्षमा प्रकाश श्रेष्ठ र सह सचिवमा राधामाया कर्माचार्य चयन भए । त्यस्तै सदस्यहरुमा सृजना राजभण्डारी , सुशिला प्रधान , झलक नारायण श्रेष्ठ , शिवकुमार श्रेष्ठ , लुना श्रेष्ठ र लक्ष्मी ताम्राकार छन् ।

नयाँ कार्यसमितिलाई साहित्यकार दीपक समीप, नेपाल भाषा पत्रिकाका प्रधान सम्पादक उदयबहादुर अमात्य र समाजसेवी बुद्दबहादुर ताम्राकार उदासले शुभकामना दिदैं नयाँ पुस्ताहरुलाई आफ्नो भाषा , कला र संस्कृति बुझ्न र बुझाउनको लागि समिति सफल हुने बताए । नव निर्वाचित अध्यक्ष उदासले वडाभित्र बसोबास गरिरहेका सम्पूर्ण नेवार समुदायलाई समेटेर आफ्नो कला संस्कृतिलाई जोगाउने, नेवारी चाड पर्व र जात्राहरुको प्रवर्धनका लागि प्रयास गर्ने बताईन् ।

उपाध्यक्ष शर्मिला श्रेष्ठले आफ्नो जन्मथलो छोडेर यहाँ बसोबास गर्नु हुने नेवारहरुलाई गोलबद्द गर्दै भाषा र संस्कृति सिक्न सिकाउन प्रेरित गर्ने उद्देश्यले संस्था गठन गरिएको जानकारी दिईन् । त्यस वडामा बिभिन्न जिल्लाबाट आएर स्थायी वा अस्थायी रुपमा नेवार समुदायको उल्लेख्य मात्रामा बसोबास गरेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।