विन्ध्यवासिनीका पुर्व विद्यार्थीले देवेन्द्र–भगवान छात्रवृत्ति कोषलाई वृद्धि गर्ने


     एभरेस्ट आवाज    
     कार्तिक १ गते २०८३ मा प्रकाशित




पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविबाट वि.सं. २०३८ सालको प्रवेशिका परीक्षामा संलग्न विद्यार्थीहरु संगठित भएका छन् ।

बडादशैंको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थीहरुको उपस्थितीमा समन्वय समितिको प्रथम अधिवेशनले पुन रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ । समितिको उप संयोजकमा कर्णबहादुर गुरुङ , सचिबमा एकबहादुर थापा, सह सचिबमा दयाशंकर अधिकारी र कोषाध्यक्षमा महेश्वर प्रसाद गौतम चयन भए । त्यस्तै सदस्यहरूमा ई.झपटबहादुर थापा, दुर्गालाल श्रेष्ठ,हरिप्रसाद गौतम, मिरी गूरुङ मालती ,केशब प्रसाद आचार्य र चम्पकराज अधिकारी छन् ।सो समितिले विद्यालयका दिवंगत प्रधानाध्यापकको स्मृतिमा छात्रवृति कोष स्थापना गर्ने घोषणा गर्दै रकम संकलनको अभियान नै चलाएको छ ।

तत्कालिन प्रअ द्वय देवेन्द्रराज रेग्मी र भगवानसिंह आलेको स्मृतिमा स्थापित १ लाख ५१ हजारको देवेन्द्र–भगवान छात्रवृत्ति कोषलाई बढाउने तयारी गरेको संयोजक बानियाँले जानकारी दिए । उनका अनुसार उक्त राशीलाई बृद्वी गरी २ लाख ११,१११ रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य लिइएको छ। चालु बर्षमै लक्ष्य पुरा गर्न समिति क्रियाशील भएको उनले बताए । सो अक्षय कोषको ब्याजबाट कक्षा ६ मा अध्ययन गर्ने गरीब तथा जेहेन्दार बिद्यार्थी एकजनालाई कक्षा १२ सम्म सोहि विद्यालयमा पढिन्जेल निरन्तर रूपमा बार्षिक ६ हजार रुपैयाँको छात्रवृत्ति प्रदान गरिने सचिब एकबहादुर थापाले जानकारी दिए ।

सो विद्यालयमा देवेन्द्रराज रेग्मीले २०१८ देखि २०३९ सालसम्म र भगवानसिंह आलेले २०४० सालदेखि २०४५ सम्म प्रधानाध्यापकका रुपमा शैक्षिक नेतृत्व प्रदान गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।