पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा ३०० भन्दाबढी घरपरिवार प्रभावित भएका छन् ।
गत असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोका कारण ३१६ घरमा क्षति पुगेको गाउँपालिकाले जनाएको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप काफ्लेले १२६ घर पूर्ण र ५० घरमा आंशिक क्षति पुगेको जानकारी दिए । “थप १४० घर जोखिममा रहेका विवरण सङ्कलन भएको छ”, उनले भने, “बाढीपहिरोले निजी आवाससँगै कोदो, धानलगायत खाद्यबाली र सुन्तलाखेती भएको खेतीयोग्य जमिन, सडक, खानेपानी, सिँचाइ, बस्ती संरक्षणका लागि निर्माण भएका पूर्वाधारमा अकल्पनीय क्षति भएको छ ।”
सबैभन्दा बढी कालीगण्डकीको जलजला गाउँपालिका–८ फर्सेमा ७५ घर बगाएको र २७ घर जोखिममा छन् । बाढी प्रभावित मध्य अन्यत्र घर नभएका र आफैँ व्यवस्थापन गर्न नसकेकालाई अस्थायी शिविर बनाएर राखिएको छ । फर्सेसँगै वडा नं ७ का ताङवाङ र खानीगाउँ पनि प्रभावित भएका छन् । वडा नं ४ को लामाखेतमा पनि कालीगण्डकीको बाढी पसेर क्षति पुगेको छ । पहिरोका कारण ताङवाङ र खानीगाउँका ३५ परिवार विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । “पहिरोले बस्ती घेरिएको छ । पाखो चिराचिरा परेको छ भने घरका पर्खालसमेत सुरक्षित छैनन्”, उनले भने, “त्यसैले खानीगाउँ र ताङवाङका बासिन्दा सुरक्षित ठाउँमा आएर अस्थायी टहरा बनाएर बसेका छन् ।”
प्रभावित क्षेत्रमा आधारभूत राहत सामग्रीको व्यवस्था र अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापनाको कार्ययोजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । “तत्कालका लागि जस्तापाता, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएर अस्थायी टहरा बनाई बसोबासको व्यवस्था मिलाउने योजना छ”, उनले भने, “दीर्घकालीन रूपमा सरकारको नीतिअनुसार निजी आवास र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्नेछौँ ।”
उनका अनुसार निजी आवाससँगै क्षतिग्रस्त सडक, खानेपानी, सिँचाइ र विद्यालय भवन पुनर्निर्माण तथा जोखिममा रहेका बस्तीको संरक्षण गर्नुपर्नेछ । बाढीपहिरो नियन्त्रणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन सङ्घीय तथा प्रदेश सरकार र दातृ निकायसँग समन्वय भइरहेको उनले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको पूजाआराधना एवं…







