नेपाल सम्वतको स्वागतार्थ पोखरामा निकालियो बृहद भिन्तुना र्याली


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक २४

नेपालीको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४७ को स्वागतार्थ पोखरामा बृहद भिन्तुना ¥याली निकालिएको छ । नेवा खलः कास्कीसहित नेवाः मिसा पुच कास्की, नेवाः ल्याम्ह पुच कास्की, नेवा पत्रकार पुच कास्की र झिगु भाय झिगु संस्कृतिको संयुक्त आयोजनामा मंगलबार पोखरामा न्हुँ दया भिन्तुना ¥याली निकालिएको हो । ¥याली अघि पोखरा–३ नारायणस्थान मन्दिर नजिकै रहेको बिरेन्द्र स्मृति पार्क भित्र रहेको राष्ट्रिय विभूती शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरिएको थियो ।

नेपालीको महान पर्व तिहार (दीपावली) अन्तर्गतको नेवारी समुदायमा प्रचलित म्हः पुजाको दिनदेखी नेपाल सम्वत (नयाँ बर्ष) प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष पोखरामा भिन्तुना ¥याली निकालिदै आएको छ । यसैको निरन्तरता स्वरुप यस वर्षपनि ¥याली निकालिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । ¥यालीमा झाँकीसहित विभिन्न जाति जनजातिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

¥यालीमा सहभागीहरुले न्हुँ दया भिन्तुना लेखिएको ब्यानर, प्लेकार्ड तथा नेपाल सम्वतका प्रवर्तक संखधर साख्वाको तस्बिरसहितको प्लेकार्ड बोकेका थिए । कार्यक्रममा नेवार समुदायका पुरुषले दौरा सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए । त्यस्तै, ¥यालीमा कुमारीलाई डोलीमा राखेर बोकिएको थियो भने तायाःमचा, लाखेलगायत पनि नाचिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाचसहित मुरली बजाउँदै सहभागी भएका थिए ।

आफ्नो मौलिक पहिचान झल्काउँदै संस्कृति संरक्षण गर्ने उद्देश्यले नेपाल सम्वतको अवसरमा नेवारी संस्कृति प्रदर्शन गरिएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए । ¥यालीमा नेवारबाहेक जलारी, गुरुङ, मगर, थकाली, तामाङ, ह्योल्मो, क्षेत्री, ब्राह्मणलगायतका जातीय संघसंस्थाहरुको संस्थागत सहभागीता थियो ।

पोखराको नयाबजारस्थित प्रदेश संग्रहालयबाट शुरु भएको ¥याली महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, भीमसेनटोलहुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत भएको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले नेपाल सम्वत नेपालीको मौलिक र साझा सम्वत भएको बताईन् । हाम्रो भाषा संस्कृति संसारकै उत्कृष्ट छ, उनले भनिन्,‘नेपाल सम्वत मौलिक सांस्कृतिक पहिचान, ऐतिहासिक गौरव र स्वाभिमान बोकेको मौलिक सम्वत हो, त्यसैले यसको संरक्षण र प्रवद्र्धनमा सबै लागौं ।’ उनले नेवार सम्वत राष्ट्रिय सम्वत भएकाले यसको प्रयोग व्यवहारमा देखिनुपर्नेमा जोड दिईन् ।

नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेपाल सम्वत मौलिक र साझा सम्वत भएकाले यसलाई दैनिक कामकाजमा प्रयोग गरिनुपर्ने बताए । तर राज्यले आफैले घोषणा गरेअनुसार व्यवहारमा कार्यान्वयन नआएकोप्रति आश्चर्य व्यक्त गरे । उनले भने,‘यो तुरुन्त कार्यान्वयन गरियोस् ।’

यसैबीच, ¥यालीमा प्रस्तुत झाँकीमध्ये रूपा देउराली नेवाः खल कास्की प्रथम भएको छ । प्रथम स्थान हासिल गरेको रुपा देउराली नेवाः खलले नगद २५ हजारसहित प्रमाण पत्र प्राप्त गरेको छ। त्यस्तै, नदीपुर नेवाः खल द्वितीय, कुँडहर नेवाः कचा खल तृतीय र फेदी नेवाः खल रूपा गाउँपालिकाले सान्त्वन स्थान प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायक संयोजकमा मानकाजी माकाजु तथा सदस्यमा भैरवलाल श्रेष्ठ र बलबहादुर श्रेष्ठ रहेका थिए ।

कार्यक्रममा पशुपती क्षेत्र विकास कोषको सदस्य सचिव भएकोमा नेवाः खल कास्कीका पूर्व बरिष्ठ उपाध्यक्ष तीर्थ श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले राष्ट्रको नाममा रहेको नेपाल सम्वत विश्वकै एकमात्र मौलिक सम्वत रहेको बताउँदै यसको व्यवहारिक कार्यान्वयनमा जोड दिए । नेपाल विविधतापूर्ण देश हो,उनले भने,‘यो विविधतालाई सम्मान र व्यवस्थित मात्र गर्न सके पनि देशलाई समृद्ध बनाउन सकिन्छ ।’

नेपाल सम्वतको प्रचलन राष्ट्रिय विभुती शंखधर साख्वाले चलाएका हुन् । साख्वाले तत्कालिन नेपाल भनेर चिनिने काठमाडौं, ललितपुर र भक्तपुरका जनताको ऋण तिरेर नेपाल सम्वत चलाएका हुन् । सरकारले नेपाल सम्वतका प्रवर्तक साख्वालाई विक्रम सम्बत २०५५ सालमा राष्ट्रिय विभूति घोषणा गरेको थियो । नेपाल सम्वत् नेपालमै प्रादूर्भाव भएको मौलिक सम्वत हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।