पोखरामा आजदेखि ‘आरयू फेस्ट–२०२६’ सुरु


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०८३ मा प्रकाशित




फोहरलाई मोहरमा बदल्ने उद्देश्यसहित पोखरामा सञ्चालित ‘रिसाइकिलिङ र अपसाइकिलिङमार्फत हरित रोजगारी सिर्जना परियोजना’अन्तर्गत दोस्रो संस्करणको ‘आरयू फेस्ट–२०२६’ आजदेखि पोखरामा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने उक्त मेलाको उद्घाटन गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् ।‘फोहरलाई नयाँ दृष्टिकोणबाट हेरौँ, यसको मूल्य पहिचान गरौँ र पोखराको भविष्यलाई चक्रीय बनाऔँ’ भन्ने सन्देशका साथ आयोजना गरिएको ‘आरयू फेस्ट–२०२६’ मार्फत फोहरलाई व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नभई पुनःप्रयोग र प्रशोधनमार्फत आर्थिक तथा वातावरणीय मूल्य सिर्जना गर्न सकिने स्रोतका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको छ । महानगरपालिका, कोरिया अन्तरराष्ट्रिय सहयोग नियोग र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा उक्त मेला आयोजना गरिएको नगरप्रमुख धनराज आचार्यले बताए ।

रिसाइकल तथा अपसाइकल उद्यमलाई बजारसम्म पहुँच र बिक्रीका अवसर उपलब्ध गराउने उद्देश्यले ‘आरयू फेस्ट’को आयोजना गरिएको उनको भनाइ छ । सो अवसरमा ‘आरयू’ उद्यमका उत्पादन तथा नवीन अभ्यासको प्रदर्शनी, दिगो फोहर व्यवस्थापनका उपाय, चक्रीय अर्थतन्त्र र प्लास्टिक प्रदूषण न्यूनीकरणका विषयमा जनचेतना अभिवृद्धि गरिने उहाँले बताउनुभयो । त्यसबाट फोहरलाई रिसाइकिलिङ र अपसाइकिलिङ गर्ने उद्यमी, पर्यटन क्षेत्र, निजी कम्पनी तथा आमनागरिकबीच सम्बन्ध र सहकार्य विस्तार हुने महानगरको विश्वास छ । मेलामा ४० वटा ‘स्टल’ रहेका छन् ।

मेलामा परियोजनाको सहयोगमा प्रवद्र्धित ‘आरयू’ उद्यमका उत्पादनको प्रदर्शनी तथा बिक्रीकक्ष, ‘आरयू खजना’ दौड, अन्तक्र्रियात्मक खेल, कला प्रस्तुति, प्रयोगात्मक कार्यशालालगायत सिर्जनात्मक गतिविधि सञ्चालन गरिने भएको छ । प्रयोग भइसकेका कपडा तथा अन्य सामग्रीको पुनः प्रयोगमार्फत तयार पारिएका पोसाक, कलाकृति आदि प्रदर्शनीमा राखिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।