पोखरा : हिजो र आज – प्रा.डा. धनपति न्यौपाने (अनुभव/अनुभूति)


     एभरेस्ट आवाज    
     मंसिर २ गते २०८३ मा प्रकाशित




पोखरा संसारकै नामी ठाउँमध्ये एक हो। त्यसैले म ताप्लेजुङदेखि काठमाडौँ हुँदै घुम्दै आउँदाखेरि, सन् १९९० तिर पोखरा पहिलोचोटि भनौँ, अलि लङ टर्म हेर्दै आएको। लुम्ले हुदै माथितिर बागलुङसम्म पोखरा घुम्दै गइयो। तर विशेषगरी पोखरा सबैभन्दा राम्रो ठाउँ, सबैलाई राम्रो र प्यारो लाग्ने ठाउँ किन भने मलाई चाँहि यहाँको अर्गानिक नेचुरल वातावरण थियो।

त्यतिखेर सामाजिक सद्भाव, सामाजिक मनोरञ्जन सबै अर्गानिक थियो। सबै सबै एउटै। यो मेरो, यो उसको, यो तेरो मेरो भन्ने थिएन। एक घरले अर्को घरका मान्छेहरूलाई प्रायः घरैभित्रका मान्छेसम्म चिनजान हुन्थ्यो।

सम्झन्छु, त्यतिखेर रुखबिरुवाहरू अग्ला–अग्ला थिए। चराचुरुङ्गी प्रशस्तै थिए। ढुङ्गाको गारोले बनेका साना घरहरू, बाटोमा गाईभैँसीहरू बसिरहेका, सुतिरहेका, चौतारोमा मान्छेहरू आराम गरेर बसिरहेका, चराहरू कराइरहेका, सङ्लो लेक, एकतले–दुईतले माटोका घरहरू, परालका छाना। अनि पोखराभित्रबाट हिमालतिर फर्केर हेर्दाखेरि देखिने हिमालको दृश्य अर्कै अलौकिक हुन्थ्यो।

यहाँको बसोबासमा थोरै मान्छे थिए। नेपाल सरकारको तथ्याङ्कले त्यतिखेरको जनसङ्ख्या अनुमानित नब्बे हजार जति रहेको बताउँछ। नब्बे हजार जनसङ्ख्या भएको सहरमा साना घरहरू र बाटाहरू अधिकतम ग्राभेल, ढुङ्गाका पत्थरहरू रहेका, खोल्सा भएका हुन्थे।

त्यतिखेर गाडीहरू पनि थिएनन् भन्दा हुन्छ। संख्यामा पातला। मोटरसाइकल पनि फाट्टफुट्ट देखिन्थे। प्रायः गरेर साइकलमा मान्छेहरू हिँड्थे।
अनि मान्छेहरू विभिन्न उमेरका देखिन्थे, त्यतिखेर मैले हेर्दाखेरि। किन भन्नुहुन्छ भने, कालो कपाल, सेतो कपाल, फुलेको कपाल खालको हुन्थ्यो। भनेपछि को बूढो हुँदैछ, को जवान छ भन्ने छर्लङ्ग छुट्टिन्थ्यो।

मान्छेहरू डोकाहरूमा भारीहरू बोकेर आउँथे । फलफूल, तरकारीहरू फ्रेस खान पाइन्थ्यो। पिँढीहरूमा बस्न पाइन्थ्यो त्यतिखेर। अहिलेको जस्तो थिएन। पोखरा आएपछि अन्त नजाऊँ, यहीँ बसौँ, बसौँ, अब फर्केर नजाऊँ जस्तो लाग्थ्यो हरेकलाई।

मलाई मात्रै होइन, पोखरा घुम्न आउने मान्छेहरूको पनि त्यही अनुभूति हुन्थ्यो। त्यो इम्प्रेसनले पोखरा बढ्दै–बढ्दै विकास हुँदै गयो।

बदलिदो पोखरा :

त्यसपछिका समयमा पोखरा आउँदाखेरि, यो छयालीस सालपछाडिको कुरा होला, अचानक मान्छे–मान्छे र समाजको बनोटमा ड्रास्टिकली चेन्ज आयो। मान्छेहरू विभक्त भए। कानून, संविधान, विभिन्न ट पार्टीहरू, विबिध जनजातिहरू र विभिन्न खालका मान्छेहरूका कारण समाजमा फाटो आयो । एकता मासिदै गयो। एकता मात्रै मासिएन, प्रकृति पनि मास्न थालियो। प्रदूषण बढ्न थाल्यो।

पहिलेका ढुङ्गा, माटो र ढुङ्गाले बनाएका चौताराहरू बिग्रेर सिमेन्टका चौतारा बने। अग्ला र खैरो शिमलका रूखहरू अहिले एउटै पनि छैनन्। त्यतिखेर नामै शिमलको जङ्गल भएकोले शिमलचौर भनिन्थ्यो। बयरघारी, चराहरूको बासस्थान, घाँस फुलेको, खेती नदी, छर्लङ्ग देखिने खेतीका ढिलहरूमा तपाईंले काँसै काँस फुलेको देख्नुहुन्थ्यो। तलदेखि माथिसम्म सियोजस्तै देखिने हिमाल त्यतिखेर टल्किन्थ्यो।

माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि, कति खालका हिमालहरू! हिमाल हेर्नकै लागि हिमालतिर जानै पर्दैनथ्यो। पोखराको टाउकोबाट पनि हिमाल देखिन्थ्यो।

हिमाल त हिमालै भयो। अनि खानेकुराको आत्मीयता अर्को राम्रो थियो। पिउन, बास बस्नलाई स्वागत गर्थे। एक छाक खाएर जानुहोस् भन्थे। भुटेको मकै खान पाइन्थ्यो, मकै खान पाइन्थ्यो त्यतिखेर, हैन?

यस्तो आत्मीयता, त्यस्तो राम्रोपन क्रमशः भत्किँदै गयो। त्यसपछिको बाहुन–क्षेत्री, गुरुङ, मगर, नेवार आदि समुदायको सामाजिक बनोटलाई छ्याट्टबिछट्ट पारेर भत्काइएछ।

आजको पोखरा :

आजको चाहिँ पोखरा भन्नाले यो सन् २००५ पछाडिको समयलाई भनौँ ।अघि मैले सन् नब्बेतिरको कुरा गरेँ।
सन् २००५ पछाडि इन्टरनेटको व्यापक आविष्कार, प्रचारप्रसार र नेपालमा पनि त्यसको प्रयोग गर्ने प्रयोगकर्ताहरू बढ्दै गए। जब इन्टरनेटको प्रयोग बढ्दै गयो, राजनीतिक पार्टीहरूका विभिन्न खालका छ्याप्छ्याप्ती जन्मिँदै गए। सामाजिक बनोट विखण्डन हुँदै गयो।

समाजको बनोट नै आकाश–पाताल भयो। यहाँ एउटा घरबाट अर्को घरको सम्बन्ध बिग्रियो। एकथरीबाट अर्कोथरीको सम्बन्ध बिग्रियो। जाति भन्दिनँ। एउटै घरभित्र पनि सम्बन्ध बिग्रियो। त्यो बिग्रिएको सम्बन्धले गर्दा मेरो बिचारमा पोखरा अब पोखराजस्तो रहेन।पोखरामा सरकारले दुई–दुईवटा विमानस्थल बनाइदियो। मुग्लिङदेखि पोखरा झर्ने अन्तर्राष्ट्रिय स्तरको बाटो बनाइदियो। पोखराबाट माथि चीनको बोर्डरसम्म आनन्दले २४ घण्टा हिँड्ने बाटो बनाइदियो। तर पोखरा पोखरा रहेन।
किनभने यहाँ कसैले कसैलाई नगन्ने वातावरण बनेछ। सबै कुरा पैसामा तुलना हुन्छ। तपाईंलाई देख्दा, तपाईंलाई साथी बनाउँदा, तपाईंलाई आतिथ्य गर्दा पैसा आउँछ भने उसले तपाईंलाई मान्छ। त्यसपछाडि मान्दैन।

प्रदूषण त्यत्तिकै बढेछ। जति होटलहरूको सङ्ख्या बढ्यो, तिनीहरूबाट निस्कने बाइप्रडक्ट, फोहोरमैला र ढलहरू जम्मै फेवा तालमा गएर मिसिन्छन्। यो सत्य हो, सबैले गएर हेरे हुन्छ।
पहिले फेवा तालको पानी खाइन्थ्यो, भगवानलाई चढाइन्थ्यो। बराही मन्दिर त्यहीँ छ। अहिले फेवा तालको माथि पामेदेखि लिएर सबैतिरको फोहोर बगेर जाने त्यहीँ छ।
त्यहाँका जलचरहरू सबै हराए। अनि ठूला–ठूला उज्याला बत्तीहरू बालेर, ध्वनि प्रदूषण गरेर त्यहाँ बस्ने बकुल्लाहरू, चराहरू, गिद्धहरू, भँगेराहरू, यी सबै चराहरूको चाहिँ करिब–करिब निर्मूल भइसकेको अवस्था छ। तपाईं चरा पाउनुहुन्न त्यहाँ।

विकृति त्यत्तिकै छ, अस्तव्यस्त छ। त्यहाँ पार्किङ गर्ने ठाउँ नपर्ने, यत्रतत्र पार्किङ हुने अवस्था छ।बाटोको स्तर र बाटोको सङ्ख्या अर्थात् क्वान्टिटी बढे पनि क्वालिटीमा नेपाल राज्यकै सबैभन्दा बाटोको दुरावस्था होला पोखरामा।

बसपार्क अहिलेसम्म बनिएको छैन। अनि पोखराका पहिलाका चौताराहरू, फलैँचाहरू केही पनि छैनन्।

मान्छेको जुन सभ्यता अगाडि बढ्नुपर्ने हो, एउटा कल्चर हो, सिटी बन्नुपर्ने हो, एउटा टुरिजम सिटी बन्नुपर्ने हो। त्यसका न्यूनतम एक प्रतिशत आधारका आवश्यकताहरू पनि यहाँ केही देखिँदैनन्।
त्यसैले अहिले मान्छे पोखरा घुम्न गए पनि पोखरामा एक रात पनि नबसीकन सिधै पहाडी मार्ग हुँदै जोमसोम, मुक्तिनाथ, कागबेनी, बागलुङतिर वा डाडाँपाखा तिर जान्छन्। किनभने मान्छेलाई आकर्षित गर्नुपर्ने जुन कुरा हो, आतिथ्य हुनुपर्ने जुन कुरा हो, सद्भाव हुनुपर्ने जुन कुरा हो, ‘वसुधैव कुटुम्बकम्’ भन्ने हाम्रो जुन संस्कार थियो, त्यो संस्कार अहिले पोखरामा तपाईंले कम पनि पाउनुहुन्छ।
तर हिमाल अहिले पनि विश्वप्रसिद्ध छ। टल्किने हिमाल, सुन्दर हिमाल पोखराको माथितिरै छ। हरियाली त्यहीँ छ। सगरमाथापछाडि अधिकतम मान्छेहरू, पर्यटकहरू घुम्न जाने ठाउँ पनि त्यही हो। नेपालको रमणीय ठाउँ पनि त्यही बाटो र त्यही पदमार्गमा पर्छ।

अहिले पोखराभन्दा पनि पोखराबाट उत्तर लागेपछि मुक्तिनाथसम्मको जुन बाटो छ, नेपालकै सायद सबैभन्दा उत्कृष्ट हिँड्नुपर्ने, घुम्नुपर्ने ठाउँ र डेस्टिनेसन चाहिँ त्यताबाट सरेको छ।
अहिले पोखरा नामको पोखरा छ भन्दा पनि फरक नपर्ला । सौन्दर्यको पोखरा, अर्गानिक पोखरा अहिले पाइँदैन।

यसलाई मिलेर बनाउने हो भने अझै पनि ढिला भएको छैन। सामाजिक सद्भाव हुनुपर्‍यो, एकता हुनुपर्‍यो र व्यवस्थापनमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्‍यो।
आजको पोखरामा पोखरावासीहरू मात्रै नभएर देशका विभिन्न भागबाट आएर बसोबास गर्नेहरू, विज्ञहरू, बुद्धिजीवीहरू, व्यापारीहरू, पर्यटकहरू र अधिकांश मानिसहरूको रोजाइमा परेर पोखरा आएका मानिसहरू पनि प्रशस्तै पाइन्छन्। व्यापारिक केन्द्रहरू पनि बढिरहेका छन्। दुईवटा एयरपोर्टहरू छन्, तालतलैयाहरू छन्, हिमाल छ, सबै कुरा छ।
अब पोखरालाई चलायमान बनाउन, यहाँका मान्छेलाई खुसी बनाउन र उनीहरूको नैतिक स्तर माथि पुर्‍याउन सबैभन्दा पहिलो आवश्यकता भिजन भएको, कर्मठ, इमानदार र लगनशील नेतृत्वको हुन्छ, जहाँ पनि। यहाँ पनि अहिलेसम्म पोखरालाई माया गर्ने, यसलाई अगाडि बढाउने र दीर्घकालीन सोच भएको त्यस्तो खालको नेतृत्वमा जाने नेता मैले आएको करिब बीस पच्चिस वर्षमा देखेको छैन।

‘पोखरा बनाऔँ’ भनेर कतै मिटिङ भएको मैले सुनेको छैन। फेवाताल सभा गरौँ भन्छन्। तीसवटा एनजीओ, आईएनजीओ के–के छन्, कति होलान्। ती तीसवटा एनजीओले पनि सभा गर्दा कहिल्यै सभा नहुने, अचम्मै छ त्यसको।

सपनाको पोखरा

यहाँबाट साँच्चै विकास गर्ने हो भने अहिले बनाएको इन्टरनेसनल एयरपोर्टबाट लेकसाइडको बराही चोकसम्म हामी पोडवे सञ्चालन गर्न सक्छौँ। जसले गर्दा पोडवेमा पर्यटकहरू माथि हेर्दै, हिमाल हेर्दै, हिमालको फोटो खिच्दै र हरियाली हेर्दै आउन सक्छन्। यसको लागत पनि धेरै पर्दैन।
एउटा कुरा त्यो हो, अहिलेको आधुनिक पोखरा बनाउनलाई।
अर्को कुरा, एयरपोर्ट टु सिटी सेन्टरमा कम्तीमा तीन–चारवटा ईभी डबल डेकर बसहरू चलाउनुपर्छ। बाटोको सुविधा छ, ती बसहरू सञ्चालन गर्नुपर्छ। म त फेरि हलचल, हलचल देखेर बेगनाससम्म पनि त्यस्तै डबल डेकर बसहरू चलाइदिनुपर्छ भन्छु। त्यसले गर्दा दिनरात मान्छेहरू आवतजावत गर्न पाऊन्, कृषि उत्पादनहरू यहाँ ल्याउन र बिक्रीवितरण गर्न सहज होस्।

फेवातालको संरक्षण र उपयोग

फेवातालमा व्यवस्थित तरिकाले ठूला–ठूला ईभी बोटहरू राखिदिनुपर्छ, जसमा पचासदेखि सय जनासम्म मान्छेहरू आवतजावत गर्न सकून्।
आधा फेवाताललाई मात्रै पर्यटनका लागि प्रयोगमा ल्याउनुपर्छ। आधा चाहिँ प्राकृतिक सिमसार क्षेत्रका रूपमा छोडिदिनुपर्छ, जहाँ चराहरू र जलीय प्राणीहरूको बासस्थान हुनुपर्छ। आधा–आधा क्षेत्र छुट्याएर एउटा मान्छेको मनोरञ्जन र क्रीडाका लागि तथा अर्को प्राकृतिक संरक्षणका लागि उपयोग गर्न सकिन्छ।

पार्किङ र सडक व्यवस्थापन

गाडी र मोटरसाइकलको सङ्ख्या अत्यधिक बढिरहेको छ। बागलुङ, पर्वत, कुश्मा र काठमाडौँबाट समेत मानिसहरू यहीँ आएर बस्नुपर्ने भएपछि पार्किङको असाध्यै ठूलो समस्या छ।

त्यसैले ठाउँ–ठाउँमा पार्किङको व्यवस्था गर्नुपर्छ। बाटो ठूलो भएका ठाउँमा कुन साइडमा कसरी पार्किङ गर्न सकिन्छ भन्ने नयाँ व्यवस्था नहुन्जेल अस्थायी व्यवस्था गरौँ।

चोकहरूको अवस्था पनि एकदम असुविधाजनक छ। गाडी घुम्ने ठाउँ, पार्किङ र लेनहरूको व्यवस्था छैन। तिनीहरूलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्छ।

होटल, रेस्टुरेन्ट र पर्यटन सेवाको गुणस्तर

होटल र रेस्टुरेन्टहरूको ग्रेडिङ गरिदिनुपर्छ। तिनीहरूको मूल्यमा पारदर्शिता ल्याइदिनुपर्छ।
ट्याक्सीहरू मिटरमा चलाउनुपर्छ। पोखरामा कुनै पनि ट्याक्सी मिटरमा चल्दैनन्। यसले गर्दा पर्यटकहरूले डराउनुपर्ने अवस्था छ।
रातिको सुरक्षाको व्यवस्था के छ? त्यो सुरक्षा प्रणाली यहाँ देखिँदैन, अव्यवस्थित छ।

खानेपानी र खाद्य स्वच्छता

खानेपानीका लागि विभिन्न खालका मिनरल वाटर बेचिए पनि त्यो वास्तवमै मिनरल वाटर हो कि होइन भन्ने कुरा खाद्य गुणस्तर नियन्त्रण कार्यालयले प्रमाणीकरण गर्नुपर्छ। तर त्यसले प्रभावकारी रूपमा काम गरेको पाइँदैन।
मासु खुला रूपमा बेचिरहेका छन्। फलफूल र तरकारीहरू पनि विषादीयुक्त छन्। यिनलाई पनि नियन्त्रण गर्नुपर्छ।

प्राकृतिक क्षेत्र, कृषि र रोजगारी सिर्जना

एउटातिर भौतिक पूर्वाधारको विकास गर्नुपर्छ। अर्कोतिर प्राकृतिक क्षेत्रको उपयोगमा पनि ध्यान दिनुपर्छ।
यहाँ कोमागाने पार्क होस्, सिँचाइको क्षेत्र होस्, नेपाल टेलिभिजनको एरिया होस् वा परतिर कृषिको रिसर्च रहेको मालवी पाटेर क्षेत्र होस्, ती क्षेत्रहरूलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने सोच्नुपर्छ।
ती क्षेत्रहरूलाई रमणीय ठाउँ, मनोरञ्जन, उत्पादन र रोजगारी सिर्जना गर्ने केन्द्रका रूपमा विकास गर्नुपर्छ।

ढुङ्गा, कला र सांस्कृतिक सम्पदाको विकास

ढुङ्गाहरूको खानी छ। वरिपरि ठूला–ठूला ढुङ्गाका खानीहरू छन्। छपनी ढुङ्गाहरू छन्। तिनीहरूलाई चलायमान बनाउनुपर्छ, बिक्रीवितरण गर्नुपर्छ।
अहिले पोखराको ढुङ्गा राज्यभरि, काँकडभिट्टादेखि लिएर धनगढीसम्म पुग्छ।
यी ढुङ्गाहरूलाई व्यवस्थित तरिकाले राम्रो आकारमा काटेर कलात्मक ढुङ्गाहरू निकाल्न सकिन्छ। त्यसबाट कलात्मक घरहरू बनाउन सकिन्छ।
पोखरामा कलासम्बन्धी क्षेत्र जीरो लेभलमै छ। तपाईंले कुनै मोनुमेन्ट पनि देख्नुहुन्न, पेन्टिङ र म्युजियमहरू पनि देख्नुहुन्न।
त्यसैले संस्कृति झल्काउने खालका केन्द्रहरू र प्रदर्शनी केन्द्रहरू पनि बनाइदिनुपर्छ। पार्कहरू विकास गर्नुपर्छ। मानिसहरूलाई मनोरञ्जन र शारीरिक गतिविधिका लागि आवश्यक भौतिक सुविधाहरू उपलब्ध गराउनुपर्छ।

सार्वजनिक शौचालय र आधारभूत सुविधा

सार्वजनिक शौचालयहरूको अवस्था अत्यन्तै अस्वस्थकर र विकराल छ। एकातिर खुला दिसापिसाब गर्न पाउनुहुन्न, अर्कोतिर दिसापिसाब गर्ने ठाउँ बनाइदिएको छैन। यसलाई पनि व्यवस्थित गर्नुपर्छ।

विज्ञ समूह र दीर्घकालीन योजना

पोखरालाई समग्र विकास गर्ने हो भने विज्ञहरूको टोली राखेर योजना बनाउनुपर्छ। एउटा मात्रै खालको विज्ञ भएर हुँदैन। विभिन्न सम्भावना र क्षेत्रका विज्ञहरू आवश्यक हुन्छन्। स्वास्थ्यका लागि हेल्थ, योगा, न्युट्रिसन र ध्यानका विज्ञ चाहिन्छन्। यहाँको जैविक विविधतालाई कसरी प्रयोग गर्ने, प्रकृतिको साइटसिइङलाई कसरी उपयोगमा ल्याउने, सराङकोटदेखि बागनाससम्म कसरी कनेक्टिभिटी गर्ने, छिमेकी ठाउँहरूलाई कसरी जोड्ने भन्ने विषयमा अध्ययन गर्नुपर्छ।
यहाँबाट पाल्पा हुँदै बुटवल जाँदा सबैभन्दा छोटो मार्ग बनाउन के–कस्ता पूर्वाधार तयार गर्न सकिन्छ भन्ने विषयमा पनि सोच्नुपर्छ।

यी सबै विषयलाई समेटेर दीर्घकालीन योजना, अल्पकालीन योजना र अहिले विद्यमान समस्याहरू समाधान गर्ने योजनासहित विज्ञहरूको सहभागितामा काम गर्नुपर्छ।

विज्ञहरू यहाँ प्रशस्तै छन्, तर विज्ञहरूको कुनै मान्यता छैन। लेखक र राइटरहरू प्रशस्तै छन्, तर यहाँ साहित्यको मतलब छैन। बाहिरबाट आउने बिजनेसमेनहरू थुप्रै छन्, तिनीहरूलाई सहयोगी वातावरण छैन।
त्यसैले मानिसहरू फ्रस्टेसनमा छन्। पोखरावासीहरूबीच पनि आपसी मिल्ती, सद्भाव र सामाजिक बनोट खल्बलिएको जस्तो देख्छु।
यसलाई सबै मिलेर व्यवस्थित गर्न सक्ने, सबैलाई समेट्न सक्ने र भिजनसहित नेतृत्व दिन सक्ने नेतृत्व आवश्यक छ।

पोखरा र मेरो अध्ययन

मेरो आफ्नो भन्नुपर्दाखेरि चाहिँ ताप्लेजुङ हुँदै धरान आइयो। धरानमा फुड टेक्नोलोजी पढियो। त्यसपछि त्यहाँबाट रुस गएँ पढ्नलाई।
रुसमा करिब सात–आठ वर्ष इन्डस्ट्रियल इन्जिनियरिङ कोर्स गरेँ। कोर्स सकेर नेपाल फर्केँ। दुग्ध विकास संस्थानमा टेक्नोलोजी इन्जिनियर भएर काम गरेँ।
काम गर्दाखेरि नेपालका धेरै जिल्लाहरूमा घुम्ने अवसर पाएँ। किसानहरूसँग भेटघाट गरियो। हावापानी र रहनसहनका विषयमा अध्ययन गरियो। यी सबै कुरा बुझ्ने अवसर पाएँ। फेरि पछि गएर जापानमा पीएचडी गर्ने मौका पाएँ। पीएचडी सकेपछि नेपाल फर्केर फेरि काम गर्न सुरु गरेँ। मैले एग्रिकल्चरमा पीएचडी सकेँ।
त्यसपछि नेपाल फर्केर काम गर्दाखेरि फेरि नेपालका ठाउँ–ठाउँमा घुम्ने मौका पाएँ। जापानमा धेरै कुरा सिकेको थिएँ। यहाँ आएर तुलना गर्ने, हेर्ने र बुझ्ने अवसर पाएँ।
त्यसपछि पोस्टडक्टरल रिसर्च गर्न फेरि जापानले बोलाएर गएँ। पोस्टडक्टरल रिसर्च Environmental Science मा थियो।
त्यही सन्दर्भमा हामीले नेपालका विभिन्न खालका जडीबुटीहरू, हावापानीहरू, यहाँका माथिल्लो भेगका याकजस्ता जनावरहरू, हाई अल्टिच्युडदेखि लो अल्टिच्युडसम्म पाइने वनस्पति तथा जनावरहरूका विषयमा अध्ययन गर्‍यौँ । त्यसैगरी एग्रिकल्चरका प्याडी फिल्डहरू, धानका प्रकारहरू, अन्नका प्रकारहरू सबैको अध्ययन गर्दै जाँदा पटक–पटक नेपाल आएर हेर्ने अवसर मिल्यो।

नेपालको पाख्रीबासदेखि लिएर सुर्खेतसम्मको अध्ययन गर्दा पोखरा रिजनको हावा स्वास्थ्यका लागि सबैभन्दा उत्कृष्ट र सर्वोत्तम लाग्यो।

मानिसको स्वास्थ्यका लागि कति Solar Radiation चाहिन्छ? हावा कस्तो हुनुपर्छ? हावाभित्र कस्तो Humidity चाहिन्छ? शरीरलाई चाहिने पञ्चतत्त्व, जीवनका लागि आवश्यक तत्त्वहरू, हाम्रो शरीरलाई मात्रै होइन, बोटबिरुवाका लागि पनि आवश्यक पर्ने निरन्तर र एकनासको Solar Radiation चाहिन्छ। स्वास्थ्यका दृष्टिले त्यो सबैभन्दा राम्रो पोखरा एरियामा, माथि लुम्लेको क्षेत्रदेखि लिएर पोखरासम्म पाइन्छ।
पोखरा क्षेत्र मात्र नभई मुक्तिनाथदेखि पाल्पासम्म, गोरखादेखि पश्चिमसम्मको भूभागमा हामीले अध्ययन गरेका थियौँ। मैले पीएचडी गरेको विश्वविद्यालय र जापानबाट हाम्रो अनुसन्धान टोली नेपाल आउने गर्थ्यो।
टोलीले यहाँको सोलार रेडिएसन कस्तो छ, यूभी लाइटदेखि अन्य विकिरणको मात्रा कति छ, दैनिक कति घण्टा घाम लाग्छ, तापक्रम कति छ, हावाको गति (Wind Velocity) कति छ र आर्द्रता (Humidity) कति छ भन्ने अध्ययन गर्थ्यो। साथै, बिरुवा र मानिसको वृद्धि तथा स्वास्थ्यका लागि आवश्यक पञ्चतत्त्वसँग सम्बन्धित मापदण्डहरूमा कति भिन्नता छ र ती मापदण्डहरू उपयुक्त वा अनुकूल अवस्थामा छन् कि छैनन् भन्ने विषयमा पनि अनुसन्धान हुन्थ्यो।

यी सबै विषयको अध्ययन गर्दा पोखराको अवस्था अन्य क्षेत्रको तुलनामा निकै अनुकूल देखियो। विभिन्न अनुसन्धान टोलीहरूले अध्ययन गर्दा म नेपालको तर्फबाट यहाँको अवस्थालाई हेर्ने गर्थेँ। नेपालको अन्य ठाउँको तुलनामा पोखराको हावापानी, सोलार रेडिएसन र आर्द्रता मानिस तथा वनस्पतिका लागि आवश्यक प्राकृतिक तत्त्वहरूको दृष्टिले उपयुक्त स्तरको नजिक पाइने क्षेत्र हो। पानी, हावा, जमिन, सोलार रेडिएसनलगायतका सबै पक्षलाई हेर्दा पोखरा निकै अनुकूल क्षेत्र हो।
त्यसमाथि यहाँ ढुङ्गाको पनि प्रशस्त उपलब्धता छ। जापानमा ग्रेनाइटजस्ता ढुङ्गाको ठूलो अभाव छ र ती निकै महँगा छन्। तर यहाँ ढुङ्गैढुङ्गाका घर बनाउन सकिन्छ। त्यस्ता घरहरू प्राकृतिक र वातावरणमैत्री हुन्छन्।

मेरो अनुसन्धान टोलीका प्रमुख प्राध्यापकले पनि काठमाडौंभन्दा पोखरा बसोबासका लागि उपयुक्त छ भन्नुभयो। त्यसपछि मैले पोखरातिर घडेरी किनेर बस्ने योजना बनाएँ। मलाई सहरको बीचमा बस्नु थिएन। त्यसैले हेम्जा रोजेँ। त्यहाँबाट ३६० डिग्रीमा हिमाल देखिन्छन्, हरियाली छ, चराचुरुङ्गी प्रशस्त छन् र वर्षभरि हुस्सु लागिरहँदैन। हेम्जा साँच्चिकै अद्भुत ठाउँ हो।

त्यही ठाउँमा घर बनाएर बस्न थालेँ। ढुङ्गा मन पर्ने भएकाले पनि मैले ढुङ्गाको सानो छाप्रो बनाएर त्यहाँ बस्ने योजना गरेँ। पार्क र रेस्टुरेन्टहरूको डिजाइनमा काम गरेको अनुभव थियो। विश्वका विभिन्न ठाउँमा कस्ता ढुङ्गा पाइन्छन् भन्ने ज्ञान पनि थियो। त्यसैले ढुङ्गाको घर बनाएर बस्न थालेँ। यहाँ बसेको पनि अठार–बीस वर्ष भइसकेको छ।
हेम्जामा बस्न थालेपछि पोखराका आसपासका क्षेत्रहरू पनि घुम्ने अवसर पाएँ। पञ्चासे, माथि भुर्जुङखोला, नागडाँडा, सराङकोटलगायतका ठाउँमा पुगेँ। पोखराको परिधिभित्रका विभिन्न स्थान घुमेर यहाँको प्राकृतिक अवस्था बुझ्ने मौका पाएँ।

मनोक्रान्ति आश्रम स्थल

समयक्रममा तेस्रोपटक मलाई सुनौलो अवसर मिल्यो। मनोक्रान्तिका योगी डा. विकासानन्द गुरुले पोखरातिर कसरी सर्न सकिन्छ ? भनेर मलाई सहयोग गर्न भन्नुभयो। उहाँलाई पोखरा ल्याएर बसोबास गराउन हामीले साथीहरूको टोली बनाएर बिहानदेखि बेलुकासम्म विभिन्न ठाउँ घुमायौँ। ठाउँहरू हेर्‍यौँ, वातावरण बुझ्यौँ। गुरुजस्तो व्यक्तिलाई चित्त बुझाउनु मजस्तो फुच्चेले कसरी सक्थेँ होला र? तैपनि निरन्तर प्रयास गरिरह्यौँ।

अन्ततः पाँच–छ महिना लागेपछि पोखराको पामे हुँदै माथि डाँडामा, पञ्चासेको छेउतिर पर्ने पोखरा २३ को बराङ भन्ने ठाउँमा पुग्यौँ। एक दिन दिउँसोतिर भोकले हैरान भएका थियौँ। खानेकुरा नपाएर लप्सीका गेडा खाँदै ठाउँ खोजिरहेका थियौँ। त्यही बेला गुरुले भन्नुभयो, “यो ठाउँ अद्भुत छ, यहाँ ऊर्जा धेरै छ।” उहाँले त्यहाँ खुसी व्यक्त गर्नुभयो र अब म यहीँ आउँछु, सरेर बस्छु भन्नुभयो। त्यसपछि उहाँ पनि यहीँ बस्न थाल्नुभयो।

त्यस घटनाले मैले पोखरा रोजेको निर्णय सही रहेछ भन्ने कुरा थप प्रमाणित गर्‍यो। म पहिले यहाँ आएको थिएँ, गुरु पछि आएर बस्नुभयो। अहिले पनि मानिसको बसोबास र स्वास्थ्यका दृष्टिले पोखराजस्तो राम्रो ठाउँ अरू छैन भन्ने लाग्छ।

अझ हेम्जा क्षेत्रमा मानिसको आयु पनि पोखराका अन्य ठाउँको तुलनामा लामो हुन सक्छ भन्ने मेरो अनुमान छ। पहिले यहाँको खानपान पनि अर्गानिक थियो। हावापानी उत्कृष्ट थियो र कुनै किसिमको अवरोध वा प्रदूषण थिएन। त्यसैले बसोबासका लागि प्रकृति वा ठाउँलाई दोष दिन मिल्दैन।

अपिल :

पोखरालाई बिगारेको के ले हो त? हाम्रो सामाजिक स्वभाव र वातावरण खलबलिएर हो। यसलाई फेरि सही बाटोमा ल्याउनुपर्छ। राम्रो दृष्टिकोण र स्पष्ट भिजन भएको नेतृत्व चयन गर्न सक्यौँ भने साँच्चिकै स्वर्ग यहीँ छ।

टोनी हेगनले पनि संसारमा स्वर्ग छ भने त्यो पोखरा नै हो भनेर भनेका थिए भन्ने सुनेको छु। मेरो मित्र स्वामी प्रेम बिस्तार (मुक्तिनाथ चालिसे), सार्क कवि बाबाजी (दुर्गाबहादुर शाह) र अरू साथीहरूले पनि यस्ता कुराहरू भन्नुहुन्छ। संसारका मानिसहरूले पहिलेदेखि नै मन पराएको, अद्भुत शक्ति भएको ठाउँ हो पोखरा।
त्यसैले अब आउने स्थानीय तहको चुनावमा सबैले प्रयास गरौं, राम्रो नेतृत्व छानौं। मेरो/हाम्रो नेतृत्व होइन, पोखराको राम्रो नेतृत्व सबै मिलेर छानौं।
धन्यवाद।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।