पोखरा र दैलेखका लायन्स क्लबबीच मितेरी सम्बन्ध, करिब २ लाख बराबरको न्यानो कपडा र नगद पुरस्कार वितरण


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०८३ मा प्रकाशित




लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ दैलेखबीच मितेरी सम्बन्ध कायम भएको सुखद उपलक्ष्यमा दैलेखका विद्यार्थीहरूलाई करिब २ लाख रुपैयाँ बराबरको न्यानो कपडा तथा नगद पुरस्कार वितरण गरिएको छ । जिल्लाको डुंगेश्वर गाउँपालिकास्थित डाँडापराजुलमा रहेको पिपल चौतारा माध्यमिक विद्यालयका २४४ जना विद्यार्थीहरूलाई न्यानो पोशाक (स्विटर र टोपी) वितरण गरिएको हो ।

आधारभूत तहदेखि कक्षा १२ सम्म अध्ययनरत छात्रछात्राहरूलाई चिसोबाट जोगाउन न्यानो कपडा प्रदान गरिएको आयोजकले जनाएको छ । सोही अवसरमा विद्यालयका ४ जना उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसमेत प्रदान गरियो ।

पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूमा कक्षा १ की प्रीति विक, कक्षा ६ का छपेन्द्र गुरुङ र कक्षा ९ की मनिषा न्यौपानेलाई जनही २ हजार रुपैयाँ प्रदान गरिएको छ । त्यसैगरी, कक्षा ७ का रोशन न्यौपानेलाई ७ हजार रुपैयाँ राशिको विशिष्ट पुरस्कार प्रदान गरिएको छ ।

करिब २ लाख रुपैयाँ बराबरको यस सहयोग कार्यक्रमलाई सफल पार्न लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष लायन डा. प्रदिप घिमिरेले १ लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको थियो । बाँकी रकम दुवै क्लबले संयुक्त रूपमा व्यवस्थापन गरेका थिए ।

दैलेखका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष लायन दुर्गा प्रसाद जोजिजुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा लायन्स क्लब अफ दैलेखका अध्यक्ष लायन अभिषेक अनुरागले स्वागत मन्तव्य राख्दै अतिथिहरूलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक नन्द बहादुर केसीले सहयोगको औचित्यमाथि प्रकाश पार्दै दुवै लायन्स क्लब र सहयोगदाताप्रति आभार व्यक्त गर्नुभयो । यस्तै, लायन्स क्लब अफ दैलेखका निवर्तमान अध्यक्ष लायन राजु केसीले मितेरी सम्बन्ध र लायन्सका सामाजिक गतिविधिबारे चर्चा गर्दै आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा जिल्ला प्रमुख अनुसन्धान अधिकृत सुन्दरमणि पोख्रेल, डुंगेश्वर गाउँपालिकाकी उपाध्यक्ष कलावती न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत शमशेर राना, वडा नं. ५ का वडाध्यक्ष पर्वलाल शर्मा, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्षलगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन पिपल चौतारा मा.वि. स्थित ‘पुष्प शान्ति गोमादेवी पराजुली छात्रवृत्ति कोष’ का संस्थापक एवं लायन्स क्लब अफ पोखरा अन्नपूर्णका निवर्तमान अध्यक्ष लायन सुकल्याण पराजुलीले गर्नुभएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।