किङ्ग्स कप भलिबल बुधबारदेखि पोखरामा


     एभरेस्ट आवाज    
     मंसिर ७ गते २०८३ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, मंसिर ७

पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ शुरु हुँदैछ । युनाइटेड किङ्ग्स क्लब पोखराको आयोजनामा मंसिर ९ गते बुधबारदेखि १५ गतेसम्म प्रतियोगिता हुन लागेको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रतियोगिता पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने आयोजक क्लवका अध्यक्ष युनाइटेड किङ्स क्लब पोखराका अध्यक्ष अशोक गुरुङले जानकारी दिए ।

राष्ट्रिय खेलकुद प्रतियोगिता र भारतमा नोभेम्बर १५ देखि २२ तारिखसम्म अर्थात कात्तिक २२ गतेदेखि मंसिर ६ गतेसम्म हुने काभा पुरुष भलिबल लिगका कारण पहिलो पटक सरेको प्रतियोगिता बुधबारदेखि हुने अध्यक्ष गुरुङले बताए । उनले भने,‘पहिले अन्यौलमा थियौं त्यसैले पहिलो पटक प्रतियोगिता सर्यो तर अब बुधबारदेखि सञ्चालन गरेर तोकिएकै मितिमा सक्छौं ।’

पहिलो पटक हुन लागेको सो प्रतियोगितामा ६ टिम सहभागी हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाली सेना र सशस्त्र प्रहरी बलको एपीएफ क्लव, गण्डकी प्रदेश भलिबल संघ, कोशी प्रदेश भलिबल संघ र आयोजक किङग्स पोखरा सहभागी हुँदैछन् ।

भलिबल खेलको विकास, विस्तारसँगै खेलाडीलाई एक्सपोजर दिएर प्रतिष्पर्धाको भावना बिकास गर्दै पोखरालाई राष्ट्रिय खेलकुदको गन्तव्यको रुपमा स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक गुरुङले बताए । उनले भने,‘राष्ट्रियस्तरका उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा गराउँदा स्थानीय तथा युवा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने र राष्ट्रियस्तरका खेलाडीसँग अनुभव साट्ने अवसर प्राप्त गर्नेछन् भन्ने हाम्रो विस्वास हो ।

प्रतियोगिताको उपाधि बिजेताले नगद ४ लाखसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, उपबिजेताले नगद २ लाख ५० हजार, तृतीय हुने टोलीले नगद १ लाख तथा सान्त्वना स्थान प्राप्त गर्ने एक टोलीले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सचिव थापाले जानकारी दिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजारसहित ट्रफी प्रदान गरिने उनले जानकारी दिए ।

प्रतियोगिताको सिजनल टिकट २ हजार ५ सय तोकिएको छ भने दैनिक टिकट मूल्य सार्वजनिक गरिएको छ । सचिव थापाले टिकटबारे चाँडै सार्वजनिक गरिने बताए ।

प्रतियोगिता सञ्चालनका लागि करीब ६१ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट ७१ लाख रुपैयाँ आम्दानी गरेर १० लाख बचत गर्ने लक्ष्य लिइएको सचिव अशोक थापाले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।