पर्यटन व्यवसायीको अगुवाईमा पोखरामा निःशुल्क एम्बुलेन्स संचालनमा


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७८ मा प्रकाशित




तस्बीर: एजेन्सी

पोखराका पर्यटन व्यवसायी गणेश भट्टराई र टिकाराम सापकोटाको सक्रियतामा कोरोना संक्रमितलाई सेवा दिने उद्देश्यले एउटा एम्बुलेन्स आइतबार देखि निःशुल्क संचालनमा आएको छ ।

पोखरा पर्यटन परिषदका पूर्व अध्यक्षहरु भट्टराई र सापकोटाको पहलमा बालहितकारी परियोजना नेपालको संचालनमा नरहेको एम्बुलेन्सलाई मर्मत गरी कोभिड बिरामीको सेवामा लाग्ने गरी संचालनमा आएको हो।

पर्यटन व्यवसायी गणेश भट्टराईले पहिलो चरणमा १ लाख ५६ हजार, टिकाराम सापकोटाले ७५ हजार, रामचन्द्र भट्टराईले ५१ हजार, रेवानका उपाध्यक्ष नरेश भट्टराईले ५१ हजार, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले ५१ हजार रुपैयाँ एम्बुलेन्स संचालनका लागि सहयोग गरेका छन्। विभिन्न संस्था र व्यक्तिबाट सहयोग उपलब्ध गराउने र थप्ने क्रम जारी नै रहेको छ।

कोरोना कहर सामान्य नभएसम्म कोभिड बिरामीलाई सेवा दिने गरि ६ महिनाका लागि सञ्चालनमा ल्याउन फ्युल, सवारीचालकको तलब, एम्बुलेन्सलगायतको मर्मतका लागि आवश्यक ७ लाख रुपैयाँ विभिन्न सहयोगीले उपलब्ध गराएका छन्। लामो समय संचालनमा नआएकोले टाटा सुमो एम्बुलेन्स मर्मत गर्न २ लाख रुपैयाँ लागेको थियो।

व्यवसायीले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भोगेका समस्यालाई गर्न मिल्नेसम्मको सहयोग गर्ने तयारी रहेको प्रतिबद्धता जनाए। अक्सिजनका रित्ता सिलिण्डरलाई भर्नका लागि प्लान्टसम्म ल्याउन र लैजान पनि अप्ठेरो परेको थाहा पाएकोले त्यसमा पनि सघाउने योजना रहेको व्यवसायीहरुको प्रतिबद्धता थियो।

कोरोना कहरको यो बेला पोखरा महानगरपालिका र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रशासनसँगको छलफलमा एम्बुलेन्स नपुग भएको जानकारीमा आएपछि अक्सिजन सहितको एम्बुलेन्स सेवा संचालनमा ल्याएको पर्यटन व्यवसायीहरुले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।