गण्डकी प्रदेश सांसद रामजीप्रसाद बरालले वर्तमान सरकारको नेतृत्वकर्ता नव सामन्तको नाईके भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ईंगित गर्दै माओवादी केन्द्रका नेतासमेत रहेका उनले भने,‘देश अहिले ध्रुविकरणमा गएको छ, एकातिर एउटा ध्रुव संविधान, लोकतन्त्रण, गणतन्त्र, संघीयता रक्षा गर्न तल्लिन देखिन्छ । अर्कोतिर अर्को ध्रुव यो संविधानलाई धुजा धुजा पार्ने, संविधानका पानाहरु च्यात्ने, त्यतिमात्र होइन म नभई पृथ्वी नै घुम्दैन भन्ने प्रवृत्ति नव सामन्तको नाइके बन्ने ।’ उनले नव सामन्तवादको नाईकेले संवैधानिक अंगलाई कब्जा गर्ने र सेटिङमा राज्य सत्ता सञ्चालन गर्ने प्रयास गरिरहेको आरोप लगाए ।
सांसद बरालले ओली सरकारले चरम फासिबादको अभ्यास गरिरहेको आरोप लगाए । तर लोकतन्त्रको गीत भने गाउन नछोडेको उनको भनाई थियो । ओली सरकार ऋणको भारी बोकाएर जनतालाई ललीपपमा फकाउन उद्यत रहेको भन्दै उनले भने,‘जनतालाई ऋणको भारी थोपर्ने अनि समृद्ध नेपाल, सुखी नेपालीको गीत गाउने । चरम फासिज्मको अभ्यास गर्ने अनि लोकतन्त्रको गीत गाउने ।’ उनले जनताले ऋणको भारी बोकाएर बृद्धभत्ता, अपाङ्गता भत्ता, कर्मचारीलाई तलब बृद्धि गर्न नभनेपनि सस्तो लोकप्रियताका लागि ओली सरकारले बढाएको आरोप लगाए ।
ओली सरकारको अर्थ प्रणाली एकात्मक सोंचबाट अगाडि बढिरहेको बताउँदै उनले भने, विगतदेखि अहिलेसम्म राज्य प्रणाली अनुरुप अर्थप्रणाली बन्न सकेन । कुनैपनि अर्थ प्रणालीले राज्य प्रणालीसँग मेल खाएन भने त्यो प्रणाली दीगो बन्न सक्दैन । जस्तो खालको राज्य प्रणाली हुन्छ त्यस्तै खालको अर्थ प्रणाली हुनुपर्ने भएपनि एमाले नेतृत्वको सरकारले त्यो खालको बजेट र अर्थ प्रणाली अवलम्वन गरेको छैन ।’ उनले यहि अर्थ प्रणालीबाट आडि बढिरहने हो भने समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा नहुने ठोकुवा गरे । उनले भने,‘हामीले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको कुरा गरेका छौं । सुखी नेपाली, समृद्ध नेपालको कुरा गरेका छौं । सामाजिक न्यायको कुरा गरेका छौं । तर के सांच्चै हाम्रो अर्थ नीति त्यो अनुरुप छ त ? छैन । किनभने ओली सरकारले एकात्मक सोंच र अभ्यासबाट हाम्रो अर्थ प्रणाली बनाउने गरेको छ ।’ जनताको अपेक्षा र सरकारले गरेको अभ्यासबीच तालमेल नमिलेको भन्दै उनले अगाडि थपे,‘अपेक्षा र अभ्यासबीच तालमेल मिलाउन सकिएन भने हाम्रा अपेक्षा, सपना र लक्ष्यहरु पूरा हुन सक्दैन । र सपनामा सिमित रहन्छन् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी…







