जन्मदिनको अवसरमा पौडेलद्वारा सहयोग हस्तान्त्रण


     एभरेस्ट आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित




पोखरा । जन्मदिनको अवसर पारेर पोखराका भिष्मराज पौडेल र उनकी छोरीले नमस्ते सामुदायिक प्रतिष्ठानसंगको समन्वयमा स्वास्थ्य सामाग्री तथा खाद्यन्न सहयोग गरेका छन् ।

पौडेलले ४६ औं जन्मदिनको अवसरमा आफ्ना परिवार तथा साथीहरुसंगको सहकार्यमा संकलित रकम प्रतिष्ठानमार्फत कास्कीका विभिन्न क्षेत्रमा सहयोग गरेका हुन् । साथै सो अभियानमा उनकी छोरी आर्शिया पौडेलबाट पनि विषेश सहयोग भएको उनले बताए ।

नमस्ते सामुदायिक प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका पौडेलले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) संक्रमित तथा सोको व्यवस्थापनका लागि खटिनेहरुका लागि सहयोग गरेको बताए । उनले भने, ‘जन्मदिनको उपलक्ष्यमा विश्वभर फैलिएको कोरोना महामारीको चपेटामा परेका कोरोना संक्रमित र त्यसको व्यवस्थापनका लागि दिनरात खटिनेहरुका लागि केही गरौं भन्ने हिसावले स्वास्थ्य सामाग्री, खाद्यन्न तथा नगद सहयोग गरेको हुँ ।’

आफ्ना परिवारका साथमा सहयोगी भिष्मराज पौडेल

उनले कोरोना माहामारीको समयमा विभिन्न संघसंस्थाहरुले सञ्चालन गरेका एम्बुलेन्स चालक २० जनालाई पिपिई सेट, मास्क, सेनिटाईजर, पन्जा, साबुन, फेश शिल्ड र नगद समेत गरि प्रति ब्यक्ति करिव ५ हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत सञ्चालित पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड वार्डका संक्रमितलाई अत्यावश्यक सामाग्री, अन्य सहयोगीहरुको समन्वयमा कास्कीको मादी गाउँपालिकाको वडा नं. ९, १० र १२ का बासिन्दालाई स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गरेका छन् भने कोरोना संक्रमित विपन्न वर्गका परिवारलाई खाद्यन्न, नगद र ग्यास समेत सहयोग गरेका छन् ।

सामाजिक क्षेत्रमा क्रियाशिल प्रतिष्ठानले असाहाय बालबालिका, बालगृह, छात्रबृत्ति तथा एकल महिलाहरुको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

पौडेलले आफ्नो विवाहको उपलक्ष्यमा सन् २००७ मा पनि देश तथा विदेशमा रहेका साथी भाई, शुभचिन्तक तथा दातृ निकायहरुको पहलमा संकलित २५ हजार अमेरिकन डलर प्रतिष्ठानलाई हस्तान्त्रण गरेका थिए । सोही रकमबाट प्रतिष्ठानले कास्कीको माछापुच्छ्रे गाउँपालिका –ं३ मा करिब ५० रोपनी जग्गा खरिद गरेको छ ।

हाल प्रतिष्ठानले सो जग्गामा महिला सशक्तिकरण भवनको निमार्ण गरि विगत ८ बर्षमा २ सय बढि एकल महिलाहरुको लागी कृषि तथा सिलाई सम्बन्धी निःशुल्क तालिम, एक सय जना बढीलाई पुर्नताजगी तालिम र तालिम उत्तिर्ण भएका महिलाहरुका लागी ब्यवसायको लागि विऊँ पूजि सहयोग गरेको उनले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।