लामिछानेलाई पाँच दिन हिरासतमा राख्न अनुमति


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित





काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय क्रिकेट टोलीका निलम्वित कप्तान सन्दीप लामिछानेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको छ । उक्त अदालतले यही असोज २७ गतेदेखि लागू हुने गरी यही असोज ३१ गतेसम्म म्याद थप गर्नका लागि अनुमति दिएको हो ।

लामिछानेलाई हिरासतमा राखी अनुसन्धान अघि बढाउन यो दोस्रोपटक म्याद थप गरिएको हो । यसअघि यही असोज २० गतेदेखि आजसम्मका लागि म्याद दिइएको थियो । प्रहरीले लामिछानेलाई म्याद थपका लागि अदालतमा माग गरेकामा न्यायाधीश सूर्यबहादुर थापाले अभियुक्तको अनुसन्धान छिट्टै सकेर सरकारी वकिललाई बुझाउन र मुद्दा चाँडै दायर गर्न निर्देशन दिएका अधिवक्ता सुवास पाठकले जानकारी दिए ।

यसअघि पहिलो पटक म्याद दिँदा अदालतमा लामिछानेले जाहेरवाली १९ वर्षको भएकीले नाबालिका नभएको समेत न्यायाधीशसमक्ष जिकिर गरेका थिए । नाबालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा जाहेरी परेपछि लामिछानेलाई हिरासतमा राखिएको छ । प्रहरीले यही असोज २० गते उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।