चुनावमा सदर मत बढाउन मतदाता शिक्षा : निर्वाचन आयोग


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने निर्वाचनमा बदर मत प्रतिशत घटाउन मतदाता शिक्षा कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउने भएको छ।

आयोगले स्वास्थ्य स्वयंसेविका परिचालन गरी निर्वाचनका लागि तयार गरिएको पम्प्लेट, पोष्टरलगायत सामग्री मतदाताको घर–दैलोमै पुर्‍याएर मतदाता शिक्षा प्रदान गर्ने तयारी गरेको छ।

निर्वाचनका लागि तयार गरिएका त्यस्ता पम्प्लेट र पोष्टर सबै जिल्लामा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। मतदातालाई लक्षित गरी मतदानमा उनीहरूको अधिक सहभागिताका लागि शिक्षा प्रदान गरिने उद्देश्य रहेको यस कार्यक्रमले मतदान गर्ने सही तरीका र मतदानको महत्वबारे बोध गराउँछ। छापा माध्यम, रेडियो, टेलिभिजन, घरदैलोलगायत आम पहुँचयोग्य संचारमाध्यमबाट पनि सबै मतदाता समेटिने गरी बृहत् रूपमा मतदाता शिक्षा कार्यक्रम संचालन गरिने भएको छ।

आगामी निर्वाचनका लागि यसपटक १८ भाषामा तयार गरिएका सामग्रीलाई केन्द्रीय स्तरबाट प्रचार–प्रसार गरिने भएको छ।

आयोगले यही कार्तिक १८ गतेदेखि मंसीर १ गतेसम्म प्रभावकारी रूपमा मतदाता शिक्षा कार्यक्रम अघि बढाउन लागेको हो।

मतदाताको सहभागिता अधिक वृद्धि गराउन, सदर मतप्रतिशत बढाउन र सूसूचित मतदाता तयार गर्ने उद्देश्यले मतदाता शिक्षा सञ्चालन गर्न लागिएको बताइएको छ।

विगतका निर्वाचनदेखि नै यस कार्यक्रममा स्वास्थ्य स्वयंसेविकाको योगदान महत्वपूर्ण रहँदै आएको थियो। स्वास्थ्य स्वयंसेविकाले प्रत्येक वडाका बस्तीमा पुगेर मतदाता शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ। मतपत्रमा कसरी छाप लगाउने भनी जानकारी दिने र आफूले चाहेको उम्मेदवारलाई दिएको मत बदर नहुने गरी स्वस्तिक छाप लगाई मतपेटिकामा खसाल्ने विषय मुख्य रूपमा मतदाता शिक्षासँग जोडिएको छ। यस कार्यक्रमबाट मतदानमा सहभागी हुन प्रेरणा प्रदान गर्न, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा मितव्ययी बनाउन, सुसूचित मतदाता तयार गर्न, बदर मत न्यूनीकरण गर्न, मतको महत्व बुझाउन र योग्य प्रतिनिधि चयन गर्न सहयोग मिल्ने अपेक्षा गरिएको छ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि १ करोड, ७९ लाख ८८ हजार ५ सय ७० मतदाता सूचीकृत छन्।

प्रतिनिधिसभा सदस्य २७५ र प्रदेशसभा सदस्य ५५० सिटका लागि निर्वाचन हुन लागेको हो। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यमा १६५ र प्रदेशसभा सदस्यमा ३३० तथा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य ११० र प्रदेशसभा सदस्यमा २२० सदस्यका लागि बालिग मताधिकारका आधारमा निर्वाचन हुन लागेको छ। २०७४ सालमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता रहेकोमा ६८ दशमलव ६७ प्रतिशत मतदान भएको थियो। उक्त मतदानमा ९४ दशमलव ८२ मत सदर भएकोमा ५ दशमलव १८ प्रतिशत मत बदर भएको थियो।

पछिल्लो समय आयोगले निरन्तर शिक्षाका रूपमा मतदातालाई सूसुचित तुल्याउन मतदाता शिक्षा कार्यक्रम संचालन गर्दै आएको छ। निर्वाचनका माध्यमद्वारा देशमा लोकतान्त्रिक व्यवस्था सबल हुने, जनताको आवाज मुखरित हुने र नागरिकले राजनीतिक छनोटको अधिकार पाउने हुनाले निर्वाचनलाई लोकतन्त्रको मेरुदण्डको रूपमा लिने गरिन्छ। मुलुकको निर्वाचनसँग जोडिएका सरोकारवालासँगको छलफल, परामर्श, समीक्षा र अन्तरक्रियामा प्राप्त सुझाव र पृष्ठपोषणका आधारमा आयोगले आसन्न निर्वाचन लक्षित विभिन्न नीति तथा रणनीति बनाएर मतदाता शिक्षा कार्यक्रम तयार गरेको हो।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।