पोखरा, कात्तिक १८ । कास्कीमा चुनावी रन्को ह्वात्तै बढेको छ । उम्मेदवारहरु घरदैलो गर्न ब्यस्त छन् । कामको चटारोले जनतालाई चुनावी गफ सुन्न फुर्सद छैन । तर घर र काम गरेकै ठाउँमा नेता र उम्मेदवार पुगेपछि सर्वसाधारण जनता व्यस्तताका बाबजुद उनीहरुको कुरा सुन्न बाध्य छन् । करीब पाँच वर्षपछि जनताको घरदैलोमा पुगेका नेता र उम्मेदवारहरुले पुरानै नारा र अजेण्डा उठाएका छन् ।
उनीहरु उहि पुरानो बाटो, पु्ल, पानी, सिंचाईलगायतका विकासका आश्वासन बाँढ्छन् । तर जनताले भने उनीहरुको विकासको खोक्रो आश्वासन भन्दा फरक माग राख्ने गरेका छन् । २०४६ सालदेखि अहिलेसम्म एउटै नारा र अजेण्डा सुनेर जनताका कान पाकेका छन् । तर पार्टी, नेता र उम्मेदवारको रटान उहि विकासका खोक्रा आश्वासनमै केन्द्रीत छ ।
उनीहरु फेरीपनि विकासका पुरानै आश्वासन बाँढेर मत मागिरहेका छन् । उनीहरुका विकासका गुलिया आश्वासनमा अधिकांश भुलिरहेका छन् । तर केहि सचेत वर्ग र जनता भने उनीहरुलाई विकासका खोक्रा आश्वासन भन्दा आफ्नो दैनिकी बदल्ने अजेण्डा ल्याउन सुझाईरहेका छन् । त्यसमा उम्मेदवारहरुले पनि हो मा हो मिलाउने गर्छन् ।
पोखरा–३३ भरतपोखरीकी सोमु विकले कास्की क्षेत्र नम्बर २ (१) का गठबन्धनबाट माओवादी उम्मेदवार बनेका विश्वप्रकाश लामिछानेसँग जनताको जीवनस्तर बदल्ने अजेण्डा बोक्न सुझाव दिईन् । ब्यबस्था बदलेपनि जनताको अवस्था नबदलिसकेको भन्दै उनले भनिन्,‘महंगीले ढाड सेकिसक्यो, यहि कारण बालबच्चा पाल्नै नसक्ने अवस्था सिर्जना भयो ।
लौन महंगी नियन्त्रणमा भूमिका खेल्नूस्, बरु हामीलाई विकास चाहिएन ।’ जवाफमा उम्मेदवार लामिछानेले भने,‘म बिजयी भएमा नीति निर्माण तहमै कुरा उठाउँछु । महंगी नियन्त्रणमा सक्दो पहल गर्छु ।’ पोखरा–३३ कै हाममाया पौडेलले पनि विकास भन्दा स्वास्थ्य समस्या चाँडो सम्बोधन गर्न आग्रह गरिन् ।
उनले भनिन्,‘परिवारको एक जना कोहि विरामी भएमा जिन्दगीभर कमाएको सम्पती सकिने अवस्था छ । नागरिक खर्च नपाएर मर्ने अवस्था नआओस् ।’ जवाफमा लामिछानेले त्यसका लागिपनि भूमिका खेल्ने वचन दिए । पोखरा–३२ ढोंडवेशीका महेन्द्र धमलाले रोजगारी नपाउँदा बेरोजगार बढेको र युवाहरु विदेश पलायन भईरहेको भन्दै त्यसतर्फ उम्मेदवारको ध्यानाकर्षण गराए ।
कास्की–१ (१) मा गठबन्धनबाट माओवादी उम्मेदवार दीपक कोईराला घरदैलोमा पुगेका बेला उनले भने,‘एकातर्फ महंगी बढेर बाँच्नै नसकिने अवस्था छ । अर्कोतर्फ रोजगारी पाईंदैन । यसरी त कसरी बाँच्ने ? ।’ जवाफमा कोईरालाले युवा उद्यमशीलताको विकास गर्ने, साना तथा मझौला उद्योग सञ्चालनमार्फत बेरोजगारी समस्या समाधान गर्ने योजना कार्यान्वयन गर्ने आश्वासन दिए ।
पटक÷पटक जिताएर पठाउँदापनि आफूहरुको माग सम्बोधन नभएकोमा जनताले आक्रोसपनि पोख्ने गरेका छन् । कास्की–२ मा एमालेबाट प्रतिनिधि सभा उम्मेदवार विद्या भट्टराईलाई घरदैलोका क्रममा पुग्दा पोखरा–१७ का एक मतदाताले भनिन्,‘हामीले पटक÷पटक जिताएर पठायौं तर हाम्रो माग कहिल्यै सम्बोधन भएन ।
नत महिला हक, हित र अधिकार नै स्थापित भयो ।’ जवाफमा मुसुक्क मुस्काउँदै भट्टराईले भनिन्,‘नीति निर्माणमै समस्या छ । मैले त संसदमा कुरा उठाएकै छु । तर अब कार्यान्वयन गर्नेगरी आवाज बुलन्द गर्छु ।’ कास्की–१ का प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट कांग्रेस उम्मेदवार किशोरदत्त बराललाईपनि जनताले विकासका झूठा आश्वासन बाँढ्नु भन्दा सक्नेजति मात्र बोल्न सुझाव दिएका छन् ।
जवाफमा उनले भन्ने गरेका छन्,‘म तपाईंहरुकै प्रतिनिधि हुँ । अहिलेपनि र जितेपछि पनि तपाईंहरु जे भन्नुहुन्छ त्यहि गर्छु ।’ कास्कीका अन्य उम्मेदवारहरुलेपनि जनताको कुरा सुन्दै उनीहरुको माग अनुसार नै नीति निर्माण र त्यसका कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाउने गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







