उम्मेदवार रामजी बराल : सहिदका सच्चा अनुयायी


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७९ मा प्रकाशित




पोखरा, कात्तिक २०

जनयुद्धमा कयौं सहिद भए । कयौं वेपत्ता भए । जसका कारण छोराछोरी गुमाउने बेसहारा बने । अभिभावक गुमाउने टुहुरा बने । जनयुद्धको बलमा देशमा ब्यबस्था बदलिएर गणतन्त्र आयो । संविधान बन्यो । देश संघीय प्रणालीमा गयो । धर्मनिरपेक्षता र समावेशीता त्यहि जनयुद्धको देन हो ।

जनयुद्धमा ज्यान गुमाउनेलाई राज्यले बिर्सियो । वेपत्ता हुनेको खोजी भएन । जसका कारण सहिद र वेपत्ता परिवार अहिलेपनि आहत छन् । तर कास्की क्षेत्र नम्बर ३ का गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार रामजीप्रसाद बराल यस्ता योद्धा हुन् जो सहिदको सपना पूरा गर्न लागिपरेका छन् । अर्थात उनी सहिदका सच्चा अनुयायी हुन् । उनी सहिदले देखेको सपना पूरा गर्न तिनै सहिदले कोरेको बाटो अविचलित भएर हिंड्ने प्रतिज्ञा गर्छन् ।

सहित मध्येपनि उनको आदर्श पात्र हो कास्कीका सहिद हरिप्रसाद गुरुङ । माओवादी जनयुद्धका शहीदहरु राजविक्रम भुर्तेल, सीता भुर्तेल, बिजय ढकाल, बेपत्ता पारिएका पूर्ण तिमिल्सिनालगायत घाइते र शहीद परिवारलाई नजिकबाट बुझेका रामजी उनीहरुको सपना पूरा गर्न दत्तचित्त भएर लागिरहेका छन् । सहिद र वेपत्ताहरुले देखेका सपना पूरा गर्नुपर्छ भन्ने चेत लिएर समाजवादको यात्रामा अघि बढेको पार्टी नेकपा माओवादी केन्द्रका सिपाही उनी आफ्नो व्यक्तिगत ईच्छा र आकांक्षा नभएको बताउँछन् । भन्छन्,‘मेरो आफ्नो व्यक्तिगत आकांक्षा केही छैन, तिनै सहिद र वेपत्ता भएकाहरुले देखेका सपना पूरा गर्न पाए पुग्छ ।’

यसअघि कास्की ३ को (१)बाट प्रदेश सभा सदस्यमा निर्वाचित उनी यसपटक कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् । आफूले विगतमा गरेको कामको मूल्याङ्कन गर्नेमा ढुक्क रहेका उनी फेरी एकपटक जनताको सेवक बन्न पाए विकास र समृद्धिका लागि निर्णायक भूमिका खेल्ने बताउँछन् । भन्छन्,‘एक बारको जीवनमा फलानो मान्छेपनि थियो है भन्ने काम गर्ने धोको छ र यो धोको पूरा गराउन कास्की क्षेत्र नम्बर ३ का जनताले साथ दिनुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ ।’

युद्धबाट राजनीति शुरु गरेका उनी आफ्नो पार्टी नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामार्फत अहिले संसदीय अभ्यासमा छ । तर उनी क्रान्ति अझै नसकिएको बताउँछन् । उनी अगाडि भन्छन्,‘एक चरणको क्रान्ति सम्पन्न भएको छ, तर संविधानमै लेखिएको समाजवादको यात्रा अझै बाँकी छ । अहिलेपनि हामी युद्धमै छौँ ।’ उनले अहिलेको युद्ध अलि फरक प्रकृतिको रहेको भन्दै थपे,‘अहिले हिजोको उपलब्धीको रक्षा गर्दै प्रतिगमनलाई परास्त गर्नु छ र यो युद्ध जसरीपनि जित्नुपर्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।