दार्चुला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मुलुकको परिवर्तन, लोकतन्त्र, शान्ति र संविधानलाई बचाउनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरेको बताएका छन् ।
बुधबार दार्चुलाको गोकुलेश्वरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विगतमा सात राजनीतिक दलको तर्फबाट कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि नै देशको राजनीतिक परिवर्तनको प्रक्रिया सुरु भएको स्मरण गरे ।
अहिले मुलुकमा व्याप्त परिवर्तन विरोधी, संघीय लोकतन्त्र विरोधी, संविधान विरोधी र प्रतिगामीहरुलाई परास्त गर्नका लागि नेपाली कांग्रेस लगायत परिवर्तन पक्षधर पार्टीहरुसँग गठबन्धन गरेको उनले बताए । अध्यक्ष प्रचण्डले नेपाली जनताको साथ र सहयोगसहित गठबन्धनका दलहरु एक ढिक्का भएमा प्रतिगामीहरुलाई परास्त गर्न सकिने दावी गरे ।
अहिले मुलुकमा दुई खाले गठबन्धन भएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘ठूलो संघर्षबाट प्राप्त नेपाली जनताको अधिकारको संरक्षण, संविधानको रक्षा, संघीयता, लोकतन्त्र र नेपाली जनताको पक्षमा हाम्रो गठबन्धन बनेको छ।’
प्रतिगामी शक्तिहरुले पनि गठबन्धन बनाएको भन्दै उनले भने, ‘जो हिजोका दिनदेखि नै संघर्षबाट प्राप्त उपलब्धिहरुको विरोधी थियो । अहिले पनि निकै ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन चाहन्छ, संविधानलाई च्यात्न चाहने, मुलुकमा राजतन्त्र फर्काउन चाहनेहरुको पनि गठबन्धन बनेको छ। त्यसको नेतृत्व केपी ओलीले गरेका छन्।’
मंसीर ४ गते यी दुई गठबन्धनबीच ठूलो रणसंग्राम हुने भन्दै प्रचण्डले त्यसको निर्णय नेपाली जनताको हातमा भएको उल्लेख गरे । परिवर्तनका पक्षधर, संविधानको रक्षा, शान्ति सम्झौता, लोकतन्त्र, गणतन्त्र, संघीयताका पक्षधरहरुको नेतृत्व गर्ने पार्टीका नेताहरु जनताको घरदैलोमा आएको भन्दै प्रचण्डले जनताले मत दिने विश्वास व्यक्त गरे ।
राजनीतिक स्थिरता र समृद्धिका लागि आफूले ठूलो जोखिम उठाएर वाम एकताको पहल गरेको भन्दै अध्यक्ष प्रचण्डले संविधान च्यात्ने मौका छोपेर बसेका ओली नसुध्रिएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







