पोखरा । कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तराष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि प्रदेश सरकारले हरेक बजेटमा रकम राखेर पनि काम अघि बढाउन नसकेको सम्मेलन केन्द्र आगामी ५ वर्षभित्र निर्माण गर्न आफुले पहल गर्ने थापाले बताए ।
‘गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप दिने काम गर्छु,’ उनले भने, ‘यसबाट पोखराको नयाँ गन्तव्य थपिने छ । सम्मेलन र सभाका लागि आउने पर्यटक बढ्ने छन् ।’
थापाले गण्डकीमा बाह्य लगानी भित्र्याउन र पर्यटनको विकास गर्नका लागि लगानी सम्मेलन गर्ने प्रतिबद्धता जनाए । यस्तै, पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेटने गरी चक्रपथको निर्माणमा जोड दिने उनको भनाइ छ । ‘सहरी क्षेत्रमा ट्राफिक जाम अत्याधिक बढेको छ ।
काँठका मान्छेहरुको दैनिकी सीधै मुख्य बजारसँग ठोकिएको छ,’ उनले भने, ‘चक्रपथ निर्माण गरेर गाउँबाट हुने बसाईंसराईं रोक्न पहल गर्छु । यसबाट सहरको विकेन्द्रीकरण हुन्छ ।’ उनले लेखनाथमा निर्माण गर्ने भनिएको बसपार्कलाई अत्याधुनिक रुपमा तत्काल निर्माण थाल्न सम्बन्धित पक्षसँग समन्वय गर्ने बताए ।
मौजामा हाइ अल्टिच्युड खेल मैदान र स्टेडियम निर्माणका लागि पहल गर्ने थापाको प्रतिबद्धता छ । ‘मौजामा अहिले पनि खेल मैदान निर्माणको क्रम चलिरहेको छ । तर निकै सुस्त काम भैरहेको छ,’ उनी भन्छन्, ‘यसलाई तीब्रता दिइने छ । एक हदसम्मको हाइ अल्टिच्युड खेल मैदान यहाँ बन्छ ।’
थापाले भूमिहिन सुकुम्बासीको समस्या समाधान गर्न जग्गाको लालपुर्जा वितरणका लागि चासो दिएका छन् । निस्सा पाएकालाई लालपुर्जा र निस्सा पाउन बाँकीलाई तत्कालै निस्सा दिन आफुले पहल गर्ने थापाको भनाई छ । कास्कीमा सुकुम्बासी समस्या समाधान आयोगले निरन्तर काम गरिरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







