आफूलाई जिम्मेवारी दिन मतदातासमक्ष श्यामको आग्रह


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेश सभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ (ख) बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको बताएका छन्।

उनले आफुलाई जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह समेत गरेका छन्।

उनले जनताको सेवाका लागि राजनीति गरेको बताउँदै आएका छन्। जिम्मेवारीको भारी बोकेर जनताको अनुहारमा चमक ल्याउने उनले उल्लेख गरे। शनिवार घरदैलोमा पुगेका श्यामले आफूले जित्दा किसान, मजदुर, महिला, वृद्धवृद्धा, बालबालिका र सबै तप्काका नागरिकहरूको अनुहारमा खुसी ल्याउने उनको प्रतिबद्धता छ।

उनले गण्डकीमा पनि पृथ्वीसुव्बा नेतृत्वका सरकारले ३ वर्षमा जनताको पक्षमा र संघीयतालाई बलियो बनाउने आधार निर्माण गरेको सुनाए।

आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकोले चुनावको मैदानमा आएको गुरुङको भनाई छ। ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सिर्जना गर्नु मेरो पहिलो प्राथमिकता हो,’ गुरुङले भने।

०७४ सालको निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्षसमेत रहेका गुरुङले पालिका प्रमुख हुँदा सुरु गरेको विकास निर्माणका काम पूरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए।

उनले सुनाए, ‘अवको बाटो भनेकै विकास र समृद्धिको हो। तपाइँहरुको मत खेर जान दिने छैन। अब विकास र समृद्धितर्फ प्रदेशलाई अगाडि बढाउने मेरो उद्देश्य हो।’

निर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनको भनाई छ।

‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वग्रह राख्दिनँ,’ उनले भने, ‘हाम्रो उम्मेदवारी गठबन्धनकोविरुद्ध होइन्। यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो। विकास गर्न हो।’

उनले आफूले गाउँपालिका अध्यक्ष हुँदा कास्कीमा नमुना गाउँपालिकाको रुपमा मादीलाई पुर्‍याएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए।

उनले भने, ‘एमालेलाई भोट दिएर स्थायी सरकार बनाउन तपार्ईंहरुले समानुपातिक र प्रत्यक्षमा भोट दिनुस्।’

उनले जनतालाई भ्रममा पार्ने झुटा आश्वासन नदिने बताएका छन्। शनिवार मादी ५ को घरदैलो कार्यक्रममा गरे।

बहुमतको सरकारले मात्र नेपालमा काम गर्न सक्ने श्यामले बताए। उनले आफूलाई देखाएको माया र विश्वासको सम्मान गर्ने बताए।

‘जनताले गरेको यो माया र भरोसा कहिले पनि टुट्न दिने छैन,’ गुरुङले भने, ‘शिक्षादेखि भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्नेगरी काम गर्नेछु।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।