मतदानस्थल केन्द्रित तयारी सुरु


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७९ मा प्रकाशित





मङ्सिर ४ गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारीले निर्वाचन सामग्री बुझ्न र मतदानस्थल पुग्न मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अब मतदानस्थल केन्द्रित तयारी सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालका अनुसार मङ्गलबारसम्ममा मतदान अधिकृतसहित कर्मचारी र निर्वाचन सामग्री मतदानस्थलमा पुगिसक्नेछन् । बागलुङ–२ का सहायक निर्वाचन अधिकृत ऋषिराम रिजालले निर्वाचनका लागि चाहिने सबै सामग्री तयारी अवस्थामा रहेको र सामग्री बुझेर बिहीबार साँझसम्ममा तोकिएको मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी पुगिसक्ने बताए ।

छ वटा स्थानीय तह रहेको सो क्षेत्रमा एक सय १६ मतदान केन्द्र छन् । सङ्घतर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कूल एक सय छ मतदानस्थल र दुई सय ३१ मतदान केन्द्र छन् । जिल्ला कारागारका बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीका लागि गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

सबै मतदान केन्द्रमा गरी एक हजार आठ सय ५७ जना कर्मचारी र नौ सय ३० जना स्वयंसेवक खटिने निर्वाचन कार्यालयले जनाएको छ । चुनाव आउन पाँच दिन बाँकी रहँदा जिल्लाको सुरक्षा योजनादेखि अरु व्यवस्थापकीय तयारीलाई चुस्त पारिएको छ । राजनीतिक दल र उम्मेदवार मतदाता रिझाउने अन्तिम कसरतमा छन् ।

जिल्लामा कूल एक लाख ९२ हजार दुई सय २६ मतदाता छन् । १ नं क्षेत्रमा ९६ हजार छ सय ६५ र २ नं मा ९५ हजार पाँच सय ६१ मतदाता छन् । सङ्घका दुई र प्रदेशका चार सिटका लागि यहाँका ३१ उम्मेदवार चुनावी मैदानमा छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।