पोखरा, कात्तिक ३०
पोखराका प्याराग्लाईडिङ पाईलटहरुले अम्मलको प्रयोग गर्ने गरेको पाईएको छ । पोखरामा प्याराग्लाईडिङ गर्ने केहि सिमित पाईलटहरुले आत्मविश्वास लगाउन उत्तेजना जगाउने अम्मल (लागुऔषध) प्रयोग गर्ने गरेको तथ्य उजागर भएको हो । हालै गरिएको स्वास्थ्य परीक्षणका क्रममा ६ जना प्याराग्लाईडिङ पाईलटहरुले गाँजालगायतका उत्तेजना जगाउने लागूऔषध प्रयोग गरेको पाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको रिपोर्टमा उल्लेख छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको प्याराग्लाइडिङ प्रतियोगिताका क्रममा नेपाली सेनाका खेलाडी निसिम थापा मगरको दुर्घटनामा परेर ज्यान गएपछि प्राधिकरणले प्याराग्लाईडिङ उडानमा रोक लगाएको थियो । सोलगत्तै छानविन समितिले दिएको सिफारिसका आधारमा टेण्डम फ्लाईट गर्न अनुमति दिएको थियो । तर एकल (सोलो) उडान भर्न भने अझै रोक लगाईएको छ । त्यसबेला प्राधिकरणले नेपाल हवाई खेलकुद संस्था (ना)सँग सबै खालका उडान खोल्नुअघि पाईलटहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने शर्त राखेको थियो । सोहि शर्त अनुसार हालै पोखराका २७० जना पाईलटहरुको सामुहिक स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्राधिकरणको शर्त अनुसारै पाईलटहरुको स्वास्थ्य परीक्षण गर्दा केहि प्याराग्लाईडिङ पाईलटहरुले लागुऔषध प्रयोग गर्ने गरेको पुष्टि भएको प्राधिकरण श्रोतले बताएको छ । ती पाईलटहरुलाई प्याराग्लाईडिङको उडान भर्न ६ महिना रोक लगाइएको छ । श्रोतले भन्यो,‘उनीहरुको ६ महिनापछि पुनः स्वास्थ्य परीक्षण गरिनेछ । उक्त स्वास्थ्य परीक्षणमा कुनै समस्या नदेखिए उडान भर्न लगाइएको रोक खुल्ला गरिनेछ । अन्यथा उडानमा लगाइएको रोक जारी रहनेछ ।’
परीक्षणका क्रममा पोखराका केहि प्याराग्लाईडिङ पाईलटहरुले स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि उडान भर्नेगरेको अर्को तथ्यपनि खुलाशा भएको छ । प्राधिकरणका प्रबन्धक मुकेशराज दाहालका अनुसार स्वास्थ्य परीक्षण गराउँदा कसैको मुटुमा समस्या देखिएको छ त कसैको कान र आँखामा समस्या देखिएको छ । मुटुमा समस्या देखिएका पाईलटलाई मुटुरोग विशेषज्ञकोमा गएर स्वास्थ्य जाँच गराउन भनिएको छ । त्यस्तै आँखामा समस्या देखिएका १२ जना पाईलटलाई आँखाको उपचार गर्न र एक महिनापछि पुनः आँखा जाँच गराएर रिपोर्ट पेश गर्न भनिएको छ । आँखामा समस्या देखिएका मध्ये कसैले नजिकको वस्तु नदेख्ने, कसैले टाढाको वस्तु नदेख्ने तथा कसैमा वस्तुको रङ्ग छुट्याउन नसक्ने समस्या देखिएको प्राधिकरण श्रोतले जनाएको छ । वस्तुको रङ्ग छुट्याउन नसक्ने ७ जना पाईलटलाई ६ महिना उडानमा प्रतिबन्ध लगाईएको छ । त्यसपश्चात पुनः आँखा परीक्षण गराएर स्वस्थ देखिएमात्र उडान भर्ने अनुमति दिने प्राधिकरणको तयारी रहेको प्राधिकरणका प्रबन्धक दाहालले जानकारी दिए ।
त्यस्तै, कान नसुन्ने समस्या भएका ६ जना पाईलटलाई पनि उडानमा प्रतिबन्ध लगाईएको छ । उनीहरुलाई पनि ६ महिनापछि फलोअप उपचारपछि रिपोर्ट पेश गर्न भनिएको छ । कान सुन्ने समस्याको उपचार भएपश्चात उनीहरुलाई उडानमा लगाएको प्रतिबन्ध फुकुवा गरिने दाहालले बताए ।
कुल २७० पाईलट मध्ये २४० जना पाईलटमा भने कुनै समस्या नदेखिएको जनाइएको छ । उनीहरुले भने नियमित उडान भर्न पाउने भएका छन् । सामान्य समस्या भएका पाईलटलाई एक महिना उडानमा प्रतिबन्ध लगाइएको छ । तर उनीहरुले एक महिनापछि पुनः स्वास्थ्य परीक्षण गराएर रिपोर्ट राम्रो आएमा मात्र उडान भर्न पाउने प्राधिकरणले जनाएको छ ।
पहिलो चरणमा स्वास्थ्य परीक्षण नगराउने पाईलटहरुलाई १५ दिनको समयसीमा तोकेर स्वास्थ्य परीक्षण गराउन अपिल गरिएको छ । तर तोकिएको समयसीमा १५ दिन भित्रपनि स्वास्थ्य परीक्षण नगराए उडानमा प्रतिबन्ध लगाउने तयारी प्राधिकरणले गरेको छ । प्राधिकरणले अबदेखि नियमित रुपमा छड्के परीक्षण गर्ने जनाएको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष सुनिलबहादुर भट्टराइले स्वास्थ्य परीक्षणका क्रममा केहि पाइलटको स्वास्थ्यमा समस्या देखिएको बताए । उनले स्वास्थ्य समस्या देखिएका पाईलटको पुनः स्वास्थ्य जाँच गर्दा स्वास्थ्यमा सुधार देखिए उडानमा लगाएको प्रतिबन्ध फुकुवा हुने बताए ।
अध्यक्ष भट्टराईका अनुसार अहिलेसम्म हवाई खेलकुद संस्था ना को सिफारिसमा ३७५ जना पाइलटले प्याराग्लाइडिङ उडानका लागि लाइसेन्स लिएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २ साउन सामाजिक सेवा, स्वस्थ जीवनशैली र वातावरण संरक्षणको सन्देश प्रवाह…





