४० वर्षको संघर्षले खारिएका भीम कार्की


     एभरेस्ट आवाज    
     मंसिर १ गते २०७९ मा प्रकाशित




वि.स.२०२६ साल वैशाख २ गते स्याङ्जाको टक्सारमा जन्मिएर हाल पोखरा महानगरपालिकाका–३३ भरतपोखरीका स्थायी बासिन्दा रहेका भीमबहादुर कार्की आन्दोलनको राप र तापले खारिएका नेता हुन्।

आसन्न मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा कास्कीको क्षेत्र नम्वर २ (१) बाट गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार कार्की २०३७ साल अर्थात ११ वर्षको कलिलो उमेरमा नै निर्दलीय पञ्चायती व्यवस्थाको क्रुर दमनकाविरुद्ध अनेरास्ववियु पाँचौको सदस्यता लिएर विद्यार्थी आन्दोलनमार्फत न्याय र समानताको पक्षमा आवाज बुलन्द पार्दै संघर्षको मैदानमा होमिएका व्यक्ति हुन्। कार्की १४ वर्षे कलिलो उमेर अर्थात वि .स.२०४० सालमा पहिलो पटक गिरफ्तार परेका थिए।

जनताको मुक्तिको खातिर सतिसाल झै उभिएको त्यो बालापन न त कुनै गिरफ्तारी धरपकडले अत्तालियो न त कुनै क्रुर निर्मम यातनाले नै विचलित भयो। पञ्चायत विरोधीहरूलाई क्रुर यातना दिने तत्कालीन शासकको प्रताडनाले कार्कीको हुर्कदो मस्तिष्कमा उब्जेको आन्दोलनको ज्वारभाटा रोकिएन।

२०४२ सालको आन्दोलन, २०४५ सालको नाकाबन्दीविरोधी आन्दोलन, २०४६ र २०६२–६३ को आन्दोलनमा पटक पटक गिरफ्तारी र जेल जीवन बिताउँदा आगो खाएर अगार ओकल्न सक्ने, यातना र संघर्ष सजिलै पचाउन सक्ने, क्षमताले एक परिपक्व र आदर्श नेताको रूपमा चिनिन्छन् भीम कार्की।

विद्यार्थी आन्दोलनको मूल प्रवाह अनेरास्ववियुका विद्यालय र क्याम्पसका विभिन्न कमिटीमा रहेर नेपालको विद्यार्थी आन्दोलनका सशक्त अगुवाको रूपमा अघि बढेका भीम कार्की वि.स.२०४७ मा पार्टीको स्याङ्जा जिल्ला कमिटी सदस्य र कार्यालय सचिबको जिम्मेवारी कुशलतापूर्बक निर्वाह गरे।

जीवनमा जनताको मुक्तीगामी आन्दोलनको कुशल सिपाही र कुशल संगठन क्षमताका धनी भिम कार्कीको वैचारिक र सांगठनिक कार्यक्षमताकै कारण पार्टीले उनलाई तत्कालीन गण्डकी अञ्चलका विभिन्न जिल्लामा संगठन निर्माणमा खटायो।

पार्टीको आग्रहलाई शिरमा राखेर एक इमान्दार सिपाही भएर २०४८ सालमा गोर्खा जिल्लामा पुगी पार्टीको कामलाई व्यवस्थित बनाउन तल्लिन भए उनी।

पार्टीको आदेश शिरोपर गर्ने एक कर्मठ इमान्दार संगठक कार्की फेरि वि.स. २०५२ देखि २०६२ सम्म १९ वर्ष मनाङको सचिवको जिम्मेवारीसहित जनता जगाउन तल्लिन भए।

कतै हिउँका डल्ला, कतै जाडो, कतै पहाड, के अनुकुल, के प्रतिकूल सबै परिस्थितिको सामना गर्दै निरन्तर नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउने कार्की २०५२ सालमा राष्ट्रिय प्रतिनिधि परिषदको सदस्यमा निर्वाचित भए। त्यसपछि, निरन्तर २०७० सालसम्म राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएका उनी २०५८ सालमा गण्डकी अञ्चलको कार्यालय सचिव हुँदै २०६६ देखि २०७४ सम्म पार्टीको केन्द्रीय स्कुल विभागको सदस्य भए।

पार्टीका वैचारिक प्रशिक्षणहरूमा कुशल प्रशिक्षक उनको परिचय त हो नै कुशल बौद्धिक नेतृत्व उनको अर्को परिचय हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।