चुनावमा धाँधली भएको नेकपा ए स का नेता खनालको आरोप, पुन मतदानको माग


     एभरेस्ट आवाज    
     मंसिर १० गते २०७९ मा प्रकाशित




फाइल तस्विर

इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । इलाम क्षेत्र नं १ बाट वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार खनालले चुनावमा धाँधली भएकाले पुनः मतदान हुनुपर्ने बताए ।

आज पत्रकारसँग कुरा गर्दै उनले भने, “सरासर धाँधली भएको छ । दुई हजार चार सय २४ मत खसेको मुचुल्का छ । यिनै बाकसमा गन्दा दुई हजार छ सय ९० मतपत्र फेला परेको छ । दुई सय ६६ मतपत्र बढी भेटियो ।”
उनले निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता नपाउने जनाएका छन् । पूर्व प्रम खनालले भने, “कसले छिरायो त्यहाँभित्र मुचुल्का कागज सही हो कि होइन ? निर्वाचन ऐनअन्तर्गत त्यो कागजले मान्यता पाउँदैन ।”

हालसम्मको गणनाअनुसार इलाम–१ मा नेकपा (एमाले)का महेश बस्नेतले दुई हजार चार सय ५५ मतान्तरले अग्रता लिइरहेका छन् ।

खनालले १६ हजार ८७ मत प्रप्त गर्दा बस्नेतले १८ हजार पाँच सय ४२ मत पाएका छन् । क्षेत्र नं १ मा ५९ हजार नौ सय छ मध्ये १७ हजार दुई सय ५९ मत गणना हुन बाँकी छ । तर खनालले पुनः मतदानको माग गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।