यु-१९ राष्ट्रिय क्रिकेट स् सुदूरपश्चिम प्रदेश विजयी


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित




कीर्तिपुर । उननाइस वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम गण्डकी प्रदेशलाई एक सय १३ रनले पराजित गर्दै विजयी भएको हो ।

खेलमा सुदूरपश्चिमले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश ३२ दशमलव पाँच ओभरमा एक सय रनमा समेटियो । गण्डकीका लागि गोविन्द विकले २२ तथा अर्जुन कुमालले २० रन बनाएका थिए । कप्तान सुवास भण्डारीले १६ रन जोड्दा करन पगेङ्नीले १५ रन बनाए ।

सुदूरपश्चिमका लागि मिलन बोहोराले छ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९ दशमलव तीन ओभरमा अलआउट हुँदै दुई सय १३ रन बनाएको थियो । सुदूरपश्चिमका लागि आकाश चन्दले ४० तथा कप्तान अनुज सिंहले ३७ रन बनाए । नरेन साउदले २८ तथा मिलन बोहोराले २४ रन बनाउँदा हेमन्त धामी र गजेन्द्र बोहोराले समान १९÷१९ रन बनाए । दीपक बोहोरा ११ रनमा आउट भए ।

गण्डकीका लागि कप्तान सुवास भण्डारीले तीन विकेट लिए भने सुदिप अर्याल, सचिनराज अधिकारी, अर्जुन कुमाल, सिब्रिन श्रेष्ठ, निर्तिश गिरी र शिशिर भुषालले समान १÷१ विकेट लिएका थिए । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख पाउने छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।