फिफा विश्वकप: ब्राजिल नकआउट चरणमा


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७९ मा प्रकाशित




विश्वकपको सफल टोली ब्राजिलले कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ।

समूह ‘जी’ अन्तर्गत दोहास्थित स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा ब्राजिलले स्वीट्जरल्यान्डलाई १–० गोलले हरायो। लगातार दोस्रो जित निकालेको ब्राजिल एक खेलअगावै अन्तिम १६ मा पुगेको हो।

पहिलो खेलमा ब्राजिलले सर्बियालाई २–० गोलले हराएको थियो। ब्राजिलको जितमा क्यासेमिरोले निर्णायक गोल गरे। उनले ८३ औं मिनेटमा रोड्रिगोको पासमा गोल गर्दै ब्राजिलको जीत सुनिश्चित गरे।

स्वीट्जरल्यान्डको गोल फर्काउने प्रयास अन्तिमसम्म सफल हुन सकेन। यस जितसँगै ६ अंक बनाएको ब्राजिल समूहको शीर्षस्थानमा छ।

दोस्रो स्थानमा रहेको स्वीट्जरल्यान्डको ३ तथा क्यामरुन र सर्बियाको १/१ अंक छ। स्वीट्जरल्यान्डले पहिलो खेलमा क्यामरुनलाई १–० गोलले हराएको थियो।

सोमबार नै भएको खेलमा सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए। ब्राजिल विश्वकपको नकआउट चरणमा पुग्ने दोस्रो टोली हो।

यसअघि समूह ‘डी’ बाट साविक विजेता फ्रान्सले अन्तिम १६ मा स्थान बनाइसकेको छ।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।