बागलुङ नगरपालिकाले बागलुङ बजारका सबै घरमा रङगरोगन गर्न अनुरोध गरेको छ । बजार सौन्दर्यीकरण गर्ने उद्देश्यले नगरपालिकाले अव्यस्थित तार र पोलको व्यवस्थापन समेत गर्न लागेको नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए । उनले यसका लागि नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम तथा निजी इन्टरनेट प्रदायक कम्पनीसँगको सहकार्यमा पुराना तार र जीर्ण अवस्थामा रहेका तथा प्रयोगविहीन विद्युत्का पोल हटाउने अभियान सुरु गरिएको बताए ।
नगरपालिकाले पुराना तार तथा अन्य संरचना हटाउन लागेको भन्दै नगरवासीलाई घरमा रङगरोगन गरी सहयोग गर्न आग्रह समेत गरेको छ । बजारमा सडक अवरोध हुने गरी गाडिएका पोलका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको थियो ।
बजारको सौन्दर्यीकरणमा समेत असर गरेकोले जीर्ण तथा प्रयोगविहीन पोल र अव्यवस्थित तार हटाउन सुरु गरेको बागलुङ नगरपालिका–२ का वडा सदस्य, पोल तथा तार एवं बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताए ।
उनले पहिलो चरणमा बजारका मुख्य सडकमा रहेका एक सय १० वटा पोल हटाइने जानकार दिए । जसअन्तर्गत हालसम्म ३५ पुराना पोल हटाइएको छ । नगरपालिकाले गतवर्ष पनि बजार क्षेत्रका केही अव्यवस्थित पोल हटाए पनि बीचमा काम रोकेको थियो ।
बागलुङमा विद्युत् प्राधिकरणले नाङ्गो तार विस्थापित गरी नयाँ पोलमा कभरसहितको एबिसी तार राखेपछि पुराना पोल काम नलाग्ने अवस्थामा छन् । तर इन्टरनेट तथा केबलका तार नहटाउँदा जीर्ण बनेका पोलका कारण बजार क्षेत्रको सौन्दर्य कुरुप बन्दै गएको थियो ।
बागलुङमा नेपाल टेलिकमले समेत फाइबर नेट सञ्चालन गरेर अव्यवस्थित तारलाई प्रतिस्थापन गरिसके पनि निजी इन्टरनेट कम्पनीका तारले पुराना पोल हटाउन सकिएको थिएन । निजी इन्टरनेट कम्पनीका तारलाई पनि व्यवस्थित गराउन निर्देशन दिएर पुराना पोल हटाएको नगर प्रमु्ख श्रेष्ठको भनाइ छ ।
बजार क्षेत्रमा चार÷पाँच सय अव्यवस्थित पोल रहेकाले बिस्तारै सबै विस्थापन गर्ने योजना रहेको उनले बताए । पोल हटाउनका लागि विद्युत्, टेलिकम र निजी इन्टरनेट कम्पनीले प्राविधिक सहयोग गरेको र अन्य खर्च नगरपालिकाले व्यहोर्ने उनले बताए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







