ढुङ्गाले छाएका घरले चिटिक्क मिलेको सानो गाउँ । यस गाउँमा अधिकांश मगर समुदाय । आफ्नो खेतीपाती र अर्मपर्ममा व्यस्त यहाँका महिलालाई २०७५ साल अघि घरबास होमस्टेको परिभाषा पत्तै थिएन ।
गाउँमा उत्पादित जैविक खानाका परिकारका स्वाद, मगर समुदायको कला संस्कृति र त्यहाँको स्थानीयको स्नेह, माया र आतिथ्यता गाउँमै सीमित थियो तर मगर समुदाय रहेको बागलुङको जैमिनी नगरपालिका–३ कालापातलमा जब मारुनी सामुदायिक घरबास स्थापना भयो त्यसपछि यहाँका महिलाको सोचमा समेत परिवर्तन आयो ।
गाउँकै परिवेशमा आफूले खाने गरेको खाना पाहुनालाई खुवाएर र आफ्नो संस्कृति देखाएर आम्दानी गर्न सकिन्छ भन्ने पाठ घरबास स्थापनापछि मात्रै महसुस गरेको घरबास सञ्चालिकाहरु बताउँछन् । जैमिनी–३ कालापातालमा २०७५ सालमा स्थापना भएको मारुनी घरबास अहिले बामे सर्दैछ ।
सञ्चालनको सुरुआती चरणमा रहेको मारुनी घरबासलाई कोरोनाले थला पा¥यो । थापाका अनुसार घरबासको सामुदायिक भवन निर्माणमा रु ४० लाख खर्च भइसकेको छ । नाचगान र सांस्कृतिक कार्यक्रम तथा सामूहिक भोजका लागि सामुदायिक घर अनिवार्य आवश्यक रहेको घरबास सञ्चालिका बताउँछन् ।
अहिले पाँच घर दर्ता गरेर सञ्चालनमा आएको घरबास पाहुनाको आवश्यकताअनुसार १२ घरसम्म विस्तार गर्न सकिने र एकै रातमा २५ जनासम्म पाहुना राख्न सकिने अध्यक्ष थापाको भनाइ छ । पछिल्लो समय बागलुङमा घरबास फष्टाउन थालेका छन् ।
कालापातलको मारुनी घरबास भर्खर प्रचारप्रसारमा आउन थालेकाले पाहुनाको सङ्ख्यामा वृद्धि अपेक्षामा कालापातलका स्थानीय रहेको रतन छन्त्यालले बताउनुभयो । उहाँले घरबास यो समुदायका लागि नविनतम भएपछि पछिल्लो समय पहुनाका लागि सेवा सुविधा थप्नमा स्थानीय घरबास सञ्चालक लागि परेका छन् ।
घरबासमा स्थानीय खानाका परिकार र कलासंस्कृतिका कारण घरबासमा आउने जो कोही पाहुना लोभिने स्थानीय भैरव छन्त्यालले जानकारी दिए । घरबासमा स्थानीयले संरक्षण गरिराखेको संस्कृति मारुनी नाच र सालैजोले घरबासमा आउने पाहुनालाई आकर्षित गर्ने गरेको छ ।
मारुनी सामुदायिक घरबासमा कोदोको सेल रोटी, जौको आटो, सिस्नोको परिकार, साग, गुन्द्रुक, मकै, भटमास र स्थानीय खसीबोका तथा कुखुराको मासुको परिकारको स्वाद लिन सकिने घरबास सञ्चालनक बताउँछन् ।
गण्डकी प्रदेश सरकारले घरबास प्रवद्र्धनका लागि दिएको रु १० लाख, नगरपालिकाको रु एक लाख ५० हजार, पूर्वाधार विकास कार्यालय र निर्वतमान गण्डकी प्रदेशसभा सदस्य सावित्रा रानाको संसद् विकास कोषको गरी रु ४० लाखको लागतमा पक्की दुईतले सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
भवन निर्माणलाई सार्थकता दिन अझै रु १० लाख बजेटको आवश्यकता पर्ने घरबास सञ्चालक समितिका अध्यक्ष थापाको भनाइ छ । घरबासको प्रचारप्रसार, घरबास सञ्चालकलाई तालिमको व्यवस्था र घरबासलाई पाहुनामैत्री बनाउन सकेमा स्थानीय महिलाको आयआर्जन वृद्धिसँगै घरबास पर्यटन फष्टाउनेमा स्थानीय घरबास सञ्चालक आशावादीमा छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







