एशियाली महारथी जापान र दक्षिण कोरिया कतारमा जारी विश्वकप फुटबलबाट बाहिरिएको छ।
सोमबार राति भएको नकआउट चरणका खेलमा जापानका लागि क्रोएसिया र कोरियाका लागि ब्राजिल बाधक बन्यो।
समूह चरणका खेलहरुमा सनसनी मच्चाएको जापानले क्रोएसियासँग टाइब्रेकरमा ३–१ ले र ब्राजिलसँग कोरियाले ४–१ हार व्यहोर्यो।
अल जानोव स्टेडियममा सोमबार राति भएको नकआउट चरणको खेलमा क्रोएसियाले जापानलाई टाइब्रेकरमा ३–१ ले हरायो।
निर्धारित समय र अतिरिक्त समयमा दुबैतर्फबाट १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
टाइब्रेकरमा क्रोएसियाले ३ गोल गर्न सफल बन्यो भने जापानको १ गोल मात्र संभव भयो।
क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे। मार्को लिभाजाको प्रहारलाई जापानका गोलरक्षकले बचाए।
क्रोएसियकाको जीतमा गोलरक्षक डोमिनिक लिभाकोभिच नायक बने। लिभाकोभिचले जापानको ३ वटा टाइब्रेकर सूट रोके।
जापानका ताकुमा ओसानोको मात्र गोल संभव बन्यो। बाँकी ताकुमी मिनामिनो, माया योसिदा र कोरु मितामितोको टाइब्रेकर सूटलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले छेके।
यसअघि, निर्धारित समयमा भने जापानले सुरुवाती अग्रता लिएको थियो। ४३ औं मिनेटमा डाइजेन माएदाको गोलबाट जापानले अग्रता लिएको थियो। माया योसिदाको क्रसपासमा माएदाले पोष्ट नजिकबाट सहजै गोल गरेका थिए।
पहिलो हाफमा पछि परेको क्रोएसियाले ५५ औं मिनेटमा खेललाई बराबरीमा ल्यायो। इभान पेरिसिकले क्रोएसियालाई बराबरीमा ल्याए। डेजन लोभरेनको क्रस बलमा पेरिसिकले गोल गर्दै टोलीलाई बराबरीमा ल्याउन सफल भए।
यस जितसँगै क्रोएसियाका लागि क्वार्टरफाइनल पुगेको छ। क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिलसँग खेल्नेछ। विश्वकपको सर्वाधिक सफल टोली ब्राजिलले पनि नक आउट चरणको खेलमा सोमबार राति दक्षिण कोरियालाई हराउँदै क्वार्टरफाइनल चरणमा पुगेको छ।
स्टेडियम ९७४ मा सोमबार राति भएको खेलमा कोरियालाई ४–१ गोलले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
कोरियामाथि खेलको सुरुवातदेखि नै सनसनी प्रदर्शन गरेको ब्राजिलले ४ वटै गोल पहिलो हाफअगावै गरेको हो।
ब्राजिलका लागि कप्तान नेयमार, भिनिसियस जुनियर, रिचार्लिसन र लुकास पाक्वेटाले गोल गरे। दाक्षिण कोरियाका लागि १ मात्र शान्त्वना गोल पार्क सेउङ होले गरे।
खेल सुरु भएको ७ औं मिनेटमै ब्राजिलले भिनिसियसको गोलमा अग्रता लिएको थियो। डीबक्सभित्रको घम्साघम्सीमा प्राप्त बललाई भिनिसियसले पोष्ट नजिकबाट गोल गरे।
त्यसको ७ मिनेट बित्न नपाउँदै कप्तान नेयमारले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई दोब्बर अग्रता दिलाए। कोरियाका रक्षकले रिचार्लिसनलाई डीबक्सभित्र लडाएपछि ब्राजिलले पेनाल्टी पाएको थियो।
ब्राजिलका लागि तेस्रो गोल रिचार्लीसनले २९ औं मिनेटमा गोल गरे। थियागो सिल्भाको पासमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई मजबुद अग्रता दिलाए।
त्यसपछि ३६ औं मिनेटमा पाक्वेटाले भिनिसियस जुनिअरको पासमा गोल गर्दै ब्राजिललाई सहज जित दिलाए।
कोरियाले ७६ औं मिनेटमा सान्त्वना गोल फर्कायो। स्युङ हो पाइकको पहिलो प्रहार ब्राजिलका गोलरक्षकले फर्काएको बलमा पार्क सेउङ होको लामो शसक्त प्रहारले सोझै जाली चुम्यो।
समूह चरणका खेलमा सनसनी मच्चाएको कोरियालाई क्वार्टरफाइनल पुग्नबाट ब्राजिल बाधक बन्यो। ब्राजिलसँगको हारबाट कोरिया यस संस्करणको नकआउट चरणबाटै बाहिरिएको छ।
ब्राजिलले अब क्वार्टरफाइनलमा क्रोएसियासँग सेमिफाइनलका लागि खेल्नेछ।
नेयमारको ८२ औं गोल
राष्ट्रिय टोलीका लागि नेयमारको यो ८२ औं गोल हो। नेयमार अब ब्राजिलका सर्वाधिक गोलकर्ता महान खेलाडी पेलेको कीर्तिमानबाट १ गोलले मात्र पछाडि छन्। हाल अस्वस्थ पेले अस्पतालको सघन उपचार कक्षमा उपचार गराई रहेका छन्। ब्राजिलले यस विश्वकपलाई ८२ वर्षीय पेलेको सम्मानको रुपमा समेत लिएको छ।
आज नकआउट चरणका अन्तिम २ खेल
विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका अन्तिम २ खेलहरु आज हुँदैछन्।
आज हुने पहिलो खेलमा मोरोक्कोले स्पेनसँग प्रतिस्पर्धा गर्दैछ। २ टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ।
आज नै हुने अर्को खेलमा उपाधि दाबेदार टोली पोर्चुगलले स्वीजरल्यान्डसँग खेल्नेछ।
२ टोलीबीचको खेल नेपाली समयअुनसार राति १२ः४५ मा सुरु हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







