आँधीखोलाको अस्तित्व सङ्कटमा,संरक्षणका लागि सरोकारवालाको आवाज


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७९ मा प्रकाशित




वालिङ । स्याङ्जाको सभ्यताको रुपमा रहेको आँधीखोलाको अस्तित्व सङ्कटमा परेको छ । श्रवणकुमारका बुबाआमाको आँसुबाट उत्पत्ति भएको मानिएको आँधीखोलाको संरक्षणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

यसअघि विभिन्न सङ्घसंस्थाले आँधीखोलाको संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुन सकेका थिएनन् । पछिल्लो समय उत्खनन् कार्यले खोलाको सतह घट्दै गएको छ ।

सहायक खोलाहरुको मुहान सुक्दै जाँदा आँधीखोलाको अस्तित्व सङ्कटमा पर्ने खतरा बढेको हो । बजारका ढलहरु सोझै खोलामा मिसाउँदा प्रदूषण बढ्दै गएको छ । समयमै यसको संरक्षणमा ध्यान जानुपर्नेमा आवाज उठ्न थालेको छ ।

समयमै ध्यान नदिने हो भने आँधीखोलाको सभ्यता सङ्कटमा पर्नसक्ने भएकाले सरोकारवाला पक्षसहित नागरिकलाई सचेत बनाउँदै चासो दिने बनाउनका लागि नेपाल नदी संरक्षण संस्था, नेपालले वालिङ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

संस्थाका केन्द्रीय अध्यक्ष मेघ आलेले मानव सभ्यतासँग जोडिएको, ऐतिहासिक र पौराणिक महत्व बोकेको आँधीखोला पछिल्लो समयमा दोहनको सिकार बन्दै गएकाले यसको रोकथाम र संरक्षणमा ध्यान दिनका लागि ‘आँधीखोला संरक्षण महाअभियान’ सञ्चालन थालिएको बताए ।

आँधीखोलाको किनारमा रहेका बजारका ढलहरु सिधै मिसाउँदा खोलामा प्रदूषण बढ्दै गएकाले बेलैमा यसको नियन्त्रण र ढलको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनले बताए ।

खोलाबाट जथाभावीरुपमा ढुङ्गा, गिट्टी र बालुवाको दोहन रोक्नुपर्ने अवस्था छ । खोलाको मुहान तथा स्रोतको संरक्षण गर्नुपर्छ । खोला आसपास फोहोरमैला नफाल्न, बजारबाट निस्कने ढललाई प्रशोधन गरेरमात्रै मिसाउन, माझी जातीको पेसाको संरक्षण गर्दै जीविकोपार्जनमा सहयोग गर्नुपर्नेलगायत ११ बुँदे ज्ञापनपत्र वालिङ नगरपालिकालाई बुझाइएको छ ।

आँधीखोला वालिङको मात्रै नभएर स्याङ्जाकै गहना र सभ्यतासँग जोडिएकाले यसको संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने वालिङ नगर प्रमुख कृष्ण खाणले बताए । आँधीखोलाको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थको दोहन हुन नदिन प्रयास गरिने बताए ।

आँधीखोलामा माछा हराउँदै गएकाले माझी जाती आफ्नो पुख्र्यौली पेसाबाट पलायन हुँदै गएको छ । आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिका हुँदै आँधीखोला बग्छ । उत्पत्ति भएको अन्धाअन्धी दहदेखि आँधीमुहान ९मिर्र्मी० पुग्दासम्म जिल्लाका मुख्य मुख्य बजार यही खोलाको किनारमा अवस्थित छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।