खड्ग र सन्तोषीले जिते नेपालगञ्ज म्याराथनको उपाधि


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित




नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले आठौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका छन्।

नेपालगञ्जमा भएको म्याराथनमा खड्काले निर्धारित दूरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।

म्याराथनमा दोस्रो र तेस्रो आर्मीकै क्रमश: नरेन्द्रसिंह रावत र मोहनदेव जोशी भए। रावतले निर्धारित दूरी २ घण्टा २२ मिनेट २९ सेकेन्डमा तथा जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेन्डमा पूरा गरे।

यसअघि, सातौँ संस्करणको धारा नेपालगञ्ज म्याराथनको उपाधि एपीएफ क्लबका किरणसिंह विष्टले जितेका थिए।

उपाधि विजेता खड्काले १ लाख ५० हजार रुपैयाँ पुरस्कार जिते। दोस्रो भएका रावतले ६० हजार र तेस्रो भएका जोशीले ३० हजार रुपैयाँ पुरस्कार जिते।

यस्तै आठौँ संस्करणकै महिला हाफ म्याराथनको उपाधि बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले जितिन्। उनी सातौँ संस्करणकी समेत च्याम्पियन हुन्। उनले निर्धारित दूरी १ घण्टा १६ मिनेट ४१ सकेन्डमा पूरा गर्दै ६० हजार पुरस्कार जितिन्।

म्याराथनमा दोस्रो भएकी अञ्जली चौहानले निर्धारित दूरी १ घण्टा २५ मिनेट १५ सकेन्डमा पूरा गर्दै ३० हजार पुरस्कार जितिन् भने तेस्रो भएकी अञ्जु खड्काले १ घण्टा ३६ मिनेट ४४ सेकेन्डमा पूरा गर्दै १५ हजार पुरस्कार जितिन्।

हरेक वर्ष मंसीर ५ गते आयोजना गरिँदै आएको म्याराथन यस वर्ष प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण २ साता पर धकेलिएको हो।

प्रतियोगिता क्रियटिभ ह्याण्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा भएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।